PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

इपीएल : भैरहवाको लगातार दोस्रो जित, चितवनको लगातार तेस्रो हार



पहिलोपोस्ट

इपीएल : भैरहवाको लगातार दोस्रो जित, चितवनको लगातार तेस्रो हार

काठमाडौँ : भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ। मंगलवार भएको खेलमा भैरहवाले चितवन टाइगर्सलाई १२ रनले पराजित गर्‍यो।

यस प्रतियोगितामा चितवनको यो लगातार तेस्रो हार हो। चितवन यसअघि ललितपुर प्याट्रिओट्स र काठमाडौँ किंग्स ११ सँग पराजित भएको थियो।

उता पहिलो खेलमा पोखरा विरुद्ध इपीएलकै उच्च स्कोर पछ्याउँदै जित हात पारेको भैहरवाले लगातार दुई खेल जित्दै विराटनगर वारियर्स र ललितपुर प्याट्रिओट्स समान ४ अंक जोडेको छ।

चितवन र पोखरा राइनोजले भने लगातार तीन खेल हारिसकेको छ।

भैरहवाले दिएको १४४ रनको लक्ष्य पछ्याएको चितवनले पूरै २० ओभर खेलेर ९ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो।

चितवनका लागि ओपनर पउल स्ट्रलिङले सर्वाधिक ३६ रन बनाए भने जोन सिम्पसनले २६ तथा दिलिप नाथले १२ रन जोडे। शाहब आलमले नटआउट १६ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

बलिङमा भैरहवाका कप्तान शरद भेषावकर र रवी इन्दर सिंहले २-२ विकेट लिए। ४ ओभर बलिङ गरेका शरदले २४ रन खर्चे भने सिंहले ३ ओभरमा २३ रन खर्चिए। यस्तै किफायती बलिङ गरेका रायन टेन डेसचाटे र अभिनाश बोहराले समान १ विकेट लिए। डेसचाटेले १२ र बोहराले १३ रन खर्चे।

टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले १९.३ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनाएको थियो। भैरहवाका लागि राएन टेन डेसकाटेले सर्वाधिक ३५, प्रदिप ऐरीले २६ र रवी इन्दर सिंहले २५ रन बनाए। यस्तै आरिफ शेखले १२ तथा पुनित मेहराले १२ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

भैरहवालाई अलआउट गर्न चितवनका सागर ढकाले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए। अन्तिम ओभरको दोस्रो र तेस्रो बलमा विकेट लिएका जर्ज स्कटले ३.३ ओभरमा १३ रन खर्चेर २ विकेट लिए।

जितपछि भैरहवाका कप्तान शरद भेषावकरले टार्गेट सोचेको भन्दा कम भएपनि खेलको बिचतिर विकेट लिन सफल भएकोले मोमेन्टम चेन्ज भएको बताए। 'हामीले १६० जती बनाउनुपर्ने तर अन्तिमतिर चाँडै विकेट जानाले हामीलाई गाह्रो भएको थियो। तर बिचमा हामीले विकेट लिएपछि खेलको मोमेम्टम चेन्ज भयो।' शरदले ब्याटिङ अर्डर लामो भएको र सबैले फ्रि खेल्दा लास्टमा फिनिसिङ गर्न चुकेको स्वीकारे।

उता लगातार तेस्रो हारपछि निराश देखिएका चितवनका कप्तान पृथु बास्कोटाले मिडर अर्डरमा राम्रो ब्याटिङ गर्न नसक्दा हार बेहोर्नुपरेको प्रतिक्रिया दिए। '१४४ चेसेबल टार्गेट नै थियो तर हाम्रो ब्याड परफरमेन्स भयो। 'पुर ब्याटिङ'। मिडल अर्ंडरमा कसैले रेस्पोन्सबिलिटी लिएन। सिंगल, डबल लिएर खेल्दा पनि गेम हाम्रो पक्षमा आउन सक्थ्यो। तर त्यस्तो भए।'

पृथुले तीन खेल हारेपनि अझै पोजिटिभ नै रहेको र क्वालिफायरमा स्थान बनाउन बाँकी रहेको दुई खेल जित्नैपर्ने बताए।
 

अब भैरहवाले भोली विराटनगर वारियर्ससँग तेस्रो खेल खेल्दैछ। चितवनले पनि आफ्नो चौथो खेलमा शुक्रवार विराटनगरसँगै खेल्नेछ। भोली काठमाडौँ किंग्स ११ र ललितपुर प्याट्रिओट्सबीच पनि खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell