PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अयोध्याबाट बरात लिएर जनकपुर आउँदै आदित्यनाथ : सुरक्षा व्यवस्था कडा, ड्रोन क्यामराबाट निगरानी



राधेश्याम पटेल

अयोध्याबाट बरात लिएर जनकपुर आउँदै आदित्यनाथ : सुरक्षा व्यवस्था कडा, ड्रोन क्यामराबाट निगरानी
फोटो: thewire.in

वीरगंज: भारत, उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी विवाह पञ्चमीका दिन बुधवार अयोध्याबाट बरात लिएर जनकपुर आउन लागेका छन्। भगवान रामको नगर अयोध्याबाट माता जानकीको नगरी जनकपुरधाममा उनी विवाह पञ्चमीको दिन बरात लिएर आउने पहिलो मुख्यमन्त्री बन्दैछन्। भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रुपमा उनी पहिलेको चलनलाई बदल्दै बरातसँग आउन लागेका हुन्।

अयोध्याबाट यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउने कार्यक्रम थियो, उनी आउन नमिलेपछि उनले योगीलाई पठाउन लागिएको बुझिएको छ। पहिले अयोध्याबाट साधु–संत, महन्थहरु विवाह पञ्चमीको दिन बरात लिएर जनकपुरधाम आई डोलीमा माता जानकीको बिदाइ गरी फर्किने गरेका थिए।

नेपाल–भारतको समृद्धिको लागि यसपाली पुरानो प्रचनलाई बदलिदै आदित्यनाथ स्वयं आउन लागेको बताइएको छ। उत्तरप्रदेशको राजधानी लखनउ पुगेका नेपाली सञ्चारकर्मीसंग उनी संक्षिप्त कुराकानी गर्दै आफु बरात लिएर आउन लाग्दा निकै खुशी रहेको प्रतिक्रिया दिएका छन्। लखनउ पुगेका पत्रकार राजु श्रेष्ठका अनुसार योगीले नेपाली टोलीलाई बहारीको माइतबाट आएकामा मेवा, मिस्ठानलगायत प्रसादबाट भव्य स्वागत गरेका थिए। योगीले भने,‘माता जनकीको देशबाट आएकोले विशेष स्वागत गर्ने हाम्रो कर्तव्य हो, माता जनकीको दर्शन गर्नु भनेको मेरो ठुलो भाग्य छ, म भाग्यमानी हुनेछु।’

यस्तो छ कार्यक्रम

 लखनउबाट बिहान १० बजे विशेष विमानमार्फत बिहान पौने ११ बजे जनकपुर विमानस्थलमा अवतरण गरी अपरान्ह ४ बजे सम्मे योगी जनकपुरमा रहने छन्। उनी अवतरण भएपछि सिधा जनकी मन्दिर जाने छन्। त्यसपछि उनी माता जानकीको दर्शन गरी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग १२ बजे मुख्यमन्त्रीको कार्यालयमा दिवाभोज गर्ने छन्। 

त्यसपछि उनी दिउँसो १ बजे देखि बाह्रविघाको रंगभूमि मैदानमा स्वयंवरको लागि सहभागी हुने छ। उनले दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम पनि छ। उनको स्वागतको लागि प्रदेश नं २ को सरकार र मुख्यमन्त्री राउतले एक सातादेखि तयारी थालेका थिए। उनले उत्तरप्र देशका मुख्यमन्त्री आदित्यनाथको भव्य स्वागत गर्ने तयारी गरेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। जनकपुरधाममा आज कथा मटकोर गरी जनकी मातालाई डोलामा बसाएर गंगासागर पुर्‍याइ विविध विधिहरु प्रारम्भ गरिएको छ।

सुरक्षामा ४ हजार सुरक्षाकर्मी, ड्रोन क्यामराबाट निगरानी

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको बुधवार हुने आगमनलाई लिएर जनकपुरधामको सुरक्षा प्रबन्ध कडा पारिएको छ। प्रदेश २ का प्रहरी प्रमुख हरिबहादुर पालका अनुसार सुरक्षाको सबै तयारी पुरा भइसकेको बताएका छन्।

उनका अनुसार ट्राफिक प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान गरी करिब ४ हजार सुरक्षाकर्मी पारिचालन गरिएको छ। यसअघिको विवाह पञ्चमीको दिन नेपाल भारतको ३÷४ लाख श्रद्धालु भक्तजन आउने गरेकोमा यसपाली मुख्यमन्त्री योगी आइरहेकोले करिब एक लाख श्रद्धालु बढने अनुमान छ। प्रदेश प्रहरीले जनकपुर आसपासको जिल्ला राजमार्ग क्षेत्रमासमेत सुरक्षा निगरानी बढाई जनकपुरको सबै बाटो र प्रवेश नाकामा सुरक्षाकर्मी खटाइसकेको बताएको छ।

‘हामीले बाहिरबाट जनशक्ति ल्याएर खटाइसकेको छौ, एक साता अघिदेखि सिभिलमा प्रहरी खटाएका थियौ,’प्रदेश प्रहरी प्रमुख डिआईजी मल्लले भने,‘भोलिको कार्यक्रममा ड्रोन क्यामेराबाट निगरानी गर्ने तयारी छ, त्यसगरै तीन वटा कुकुर पनि मगाएका छौ, आर्मीको पनि साथ छ।’उनले नेपाली सेनाले आकाशबाट गस्ती गर्ने र एउटा बम डिस्पोजल टोली पनि जनकपुरमा तैनाथ गरिसकेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell