PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरमा, पहिलो पटक विमानबाट जनकपुर आयो जन्ती



विधुर ढकाल

उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुरमा, पहिलो पटक विमानबाट जनकपुर आयो जन्ती

काठमाडौँ : भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बुधवार बिहान बरात लिएर जनकपुर आइपुगेका छन्। विवाहपञ्चमीको अवसरमा जन्ती लिएर मुख्यमन्त्री आदित्यनाथ विमानमा जनकपुर ओर्लिएका हुन्। 

उनलाई जनकपुरस्थित विमानस्थलमा दुई नं. प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरे। उनको स्वागतमा भारतीय राजदूत मञ्जिभसिंह पुरीसमेत विमानस्थलमा पुगेका थिए।

राम जानकीको विवाह उत्सवमा हरेक वर्ष भारतको अयोध्याबाट जनकपुरमा बरात आउने प्रचलन छ। हरेक वर्ष अयोध्याबाट सडकमार्गबाट जन्ती आउने प्रचलन छ। यस पटक हवाइमार्गबाट आएका हुन्। 

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ हवाइमार्गबाट सानो सङ्ख्यामा जन्तीसहित जनकपुर ओलिएका हुन्। अन्य भने स्थलमार्गबाट जनकपुर आएका छन्। 

यसैबीच योगी आदित्यनाथले विमानस्थलबाट जानकी मन्दिर पुगेर पूजा गरेका छन्। उनी विमानस्थलबाट सिधै सुरक्षा घेराकाबीच जानकी मन्दिर पुगेका थिए। 

मन्दिरमा पूजा गरिसकेपछि उनको सम्मानमा प्रदेश २ का मुख्यमन्त्री राउतले मधेश भवनमा दिवा भोज आयोजना गरेका छन्। 

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै जन्तीसहित आउने बताइएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई निम्तोसमेत दिएका थिए। भारतमा निर्वाचन नजिकिँदै गर्दा मोदी आन्तरिक राजनीतिमा व्यस्त रहेका कारण उनले आफ्नो दूतको रूपमा आदित्यनाथलाई पठाएका हुन्। 

भगवान् रामको नगर अयोध्याबाट माता जानकीको नगरी जनकपुरधाममा उनी विवाह पञ्चमीको दिन जन्ती लिएर आउने पहिलो मुख्यमन्त्रीसमेत बनेका छ। भारतीय प्रधानमन्त्री मोदीको विशेष दूतको रूपमा उनी पहिलेको चलनलाई बदल्दै आउन लागेका हुन्।

पहिले अयोध्याबाट सुधा–सन्त, महन्तहरू विवाह पञ्चमीको दिन बरात लिएर जनकपुरधाम आई डोलीमा माता जानकीको बिदाइ गरी फर्किने गरेका थिए। 


मुख्यमन्त्री आदित्यनाथसहित ५०१ सन्तलाई भोजन

यसैबीच बरात लिएर आएका मुख्यमन्त्री आदित्यनाथ सहित ५०१ जना सुधा सन्तलाई भोजनको व्यवस्था गरिएको छ। उनीहरूको लागि लागि ३६ व्यञ्जनको परिकार तयार पारिएको छ। 

बिहान जनकपुर आइपुगेका उनी अपरान्ह ४ बजेसम्म योगी जनकपुरमा रहने छन्। 

त्यसपछि उनी दिउँसो १ बजे देखि बाह्रविघाको रंगभूमि मैदानमा स्वयंवरको लागि सहभागी हुनेछन्। उनले दिउँसो रंगभूमि मैदानमा २ बजे सम्बोधन गर्ने कार्यक्रम तय छ। उनलाई कार्यक्रममा जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ। 

उनको स्वागतको लागि प्रदेश नं २ को सरकार र मुख्यमन्त्री राउतले एक सातादेखि तयारी थालेका थिए। जनकपुरधाममा आज कथा मटकोर गरी जनकी मातालाई डोलामा बसाएर गंगासागर पुर्‍याई विविध विधिहरू प्रारम्भ गरिएको छ।

विवाह पञ्चमी सकेर योगी अपराह्न ४ बजे जनकपुरबाट स्वदेश फर्किने कार्यक्रम छ ।

सुरक्षामा ४ हजार सुरक्षाकर्मी, ड्रोन क्यामराबाट निगरानी

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको बुधवार हुने आगमनलाई लिएर जनकपुरधामको सुरक्षा प्रबन्ध कडा पारिएको छ। प्रदेश २ का प्रहरी प्रमुख हरिबहादुर पालका अनुसार ट्राफिक प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान गरी करिब ४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। 

यसअघिको विवाह पञ्चमीको दिन नेपाल भारतको ३/४ लाख श्रद्धालु भक्तजन आउने गरेकोमा यसपालि मुख्यमन्त्री योगीसमेत जन्तीमा आएकाले करिब एक लाख श्रद्धालु बढ्ने अनुमान छ। प्रदेश प्रहरीले जनकपुर आसपासको जिल्ला राजमार्ग क्षेत्रमासमेत सुरक्षा निगरानी बढाई जनकपुरको सबै बाटो र प्रवेश नाकामा सुरक्षाकर्मी खटाइसकेको बताएको छ।

‘हामीले बाहिरबाट जनशक्ति ल्याएर खटाइसकेको छौं, एक साता अघिदेखि सिभिलमा प्रहरी खटाएका थियौ,’ प्रदेश प्रहरी प्रमुख डिआईजी मल्लले भने, ‘भोलिको कार्यक्रममा ड्रोन क्यामेराबाट निगरानी गर्ने तयारी छ, त्यसगरै तीन वटा कुकुर पनि मगाएका छौ, आर्मीको पनि साथ छ।’ उनले नेपाली सेनाले आकाशबाट गस्ती गर्ने र एउटा बम डिस्पोजल टोली पनि जनकपुरमा तैनाथ गरिसकेको उनले बताए।

जनकपुरबाट राधेश्याम पटेलको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell