काठमाडौँ : गत वर्षको उपविजेता भैरहवा ग्लाडिएटर्सले लगातार तीन खेल जित्दै एभरेष्ट प्रिमियर लिग (इपीएल) मा दुई खेल अगावै प्लेअफको स्थान पक्का गरेको छ।
इपीएल २०१८ को तेस्रो खेलमा भैरहवाले साविक विजेता विराटनगर वारियर्सलाई ४ विकेटले पराजित गर्यो। गत सिजन भैरहवा फाइनलसहित तीन पटक विराटनगरसँग पराजित भएको थियो। र यस पटक त्यो हारको बदला समेत लिन सफल भयो।
लगातार तीन खेल जितेको भैरहवा ६ अंकसहित अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ। भैरहवाले यसअघि पोखरा राइनोज र चितवन टाइगर्सलाई पराजित गरिसकेको छ। फ्रेन्चाइज स्वरुपमा इपीएल सुरु भएपछि पहिलो हार बेहोरेको विराटनगरको भने ३ खेलबाट ४ अंक छ। विराटनगरले अझै दुई खेल्न बाँकी छ र क्वालिफायर पुग्ने सम्भावना बाँकी छ। यस्तै चितवन टाइगर्स र पोखरा राइनोजले लगातार तीन खेल हारिसकेको र बाँकी दुई खेल जितेपछि भैहरवालाई नभेट्ने भएकोले शरद भेषावकरको टोली दुई खेल बाँकी छदै शीर्ष चारमा रहने पक्का भएको हो। राउण्ड रोविन लिगपछि शीर्ष चारमा रहने टोली प्लेअफमा पुग्नेछन्।
युएईका मोहम्मद नाभिदको आगमनपछि उत्कृष्ट बलिङ गर्दै विराटनगरलाई ९१ रनमा अलआउट गरेको भैहरवाले ९२ रनको लक्ष्य अन्तिम ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। सामान्य लक्ष्य भएपनि विराटनगरले उत्कृष्ट बलिङ गरेपछि भैरहवाले जितका लागि अन्तिम ओभरमस्म कुर्नुपर्यो। अन्तिम ओभरमा जितका लागि ६ रन चाहिएको अवस्थामा विराटनगरका कप्तान खड्काले अन्तिम ओभर बलिङ गरेका थिए। त्यसअघि पारसले बलिङ गरेका थिएनन्। अन्तिम ओभरमा नाभिद र रोहित कुमार पौडेलले मिलेर ६ रन जोड्दै भैरहवालाई जित दिलाए। रोहित ७ र नाभिद ३ रनमा नटआउट रहे।
पाँचौ ओभरमा स्कोर २१ हुँदा भैरहवाले ओपनर प्रदि ऐरीलाई १० रनमा गुमाएको थियो। अर्का ओपनर कुशल मल्ल पनि ७ रन बनाएर छैटौँ ओभरमा बउट भएपछि २४-२ को अवस्थामा थियो। पोखरा राइनोज विरुद्ध १२५ रनको शतकिय इनिङ्स खेलेका रवी इन्दर सिंह पनि १२ रन बनाएर आउट भएपछि भैरहवाको तेस्रो विकेट गुम्यो। तर राएन टेन डेसकाटे र कप्तान शरद भेषावरकरले चौथो विकेटका लागि ३३ रनको साझेदारी गर्द जितको आधार तय गरेका थिए। डेसकाटेले भैरहवाका लागि सर्वाधिक २० रन बनाए। शरदले १६ रन योगदान गरे। आरिफ शेख १ रन बनाएर आउट भए।
बलिङमा विराटनगरका रोलेफ भान डेर मर्वेल ४ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर २ विकेट लिए। करण केसी, पउल भान मिकेरेन, बसन्त रेग्मी र रोविन क्षेत्रीले १-१ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा भैरहवाले टस जितेर विराटनगरलाई पहिले ब्याटिङको लागि निम्तो दिएको थियो। कप्तान शरदको उक्त निर्णयकलाई भैरहवाका बलरहरुले प्रमाणित गरे।
लगातार दोस्रो पटक विराटनगरका कप्तान पारस खड्कालाई दोस्रो ओभरको पहिलो बलमा कृष्ण कार्कीले शरदको हातबाट क्याचआउट गराउँदै उत्कृष्ट सुरुवात दिलाए। यस इपीएलमा पहिलो खेल खेलेका नाभिदले दोस्रो ओभरमा अनिल शाह (४) र आसिफ शेख (०) लाई लगातार आउट गरेपछि विराटनगर सुरुमै धर्मराएको थियो। यस्तै विराटनगरका लागि यस सिजन पहिलो खेल खेलेका बाबर हायत (४) लाई कृष्णले छैटौँ ओभरमा आउट गरे। बाबार गत सिजन उत्कृष्ट खेलाडी घोषित भएका थिए।
रोलेफ भान डेर मर्वेले सर्विधक २५ रन बनाएको विराटनगरको इनिङ्समा चार खेलाडीले मात्र दोहोरो अंक छुन सकेन। करण केसीले १८ तथा सुमित महर्जनले १५ रन बनाए भने हरिबहादुर चौहान १३ रनमा नटआउट रहे। बसन्त रेग्मी ५ र पउल भान मिकेरेन २ रन बनाएर आउट भए भने रोविन क्षेत्रीले खाता खोल्न सकेनन्।
छैटौँ विकेटका लागि मर्वे र करण केसीले गरेको २५ रनको साझेदारी नै विराटनगरको ठूलो साझेदारी थियो।
बलिङमा भैरहवाका लागि नाभिदले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए। यस्तै कृष्ण कार्की र अभिनाश बोहराले २-२ विकेट लिए। नाभिदले १८औँ ओभरमा बसन्त रेग्मी र रोविन क्षेत्रीलाई बोल्ड आउट गरेका थिए भने अभिनाशले १९औँ ओभरमा मिकेरेनलाई बोल्डआउट गरे। यस्तै राएन टेन डेसकाटे र कप्तान शरदले १-१ विकेट लिए।