PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ए डिभिजन लिग : संकटाको सातौँ जित, शीर्ष स्थानको मनाङसँग अंक बराबरी



पहिलोपोस्ट

ए डिभिजन लिग : संकटाको सातौँ जित, शीर्ष स्थानको मनाङसँग अंक बराबरी
photo : anfa

काठमाडौँ : संकटा क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७५ मा उत्कृष्ट प्रदर्शनलाई कायम राख्दै हिमालयन शेर्पालाई २-० ले पराजित गरेको छ।

यस सिजन अन्डर डगको छवी बनाएको संकटाको यो सातौँ जित हो। जितपछि संकटा थ्री स्टारलाई पछि पार्दै दोस्रो स्थानमा उक्लेको छ। मनाङ मर्स्याङ्दी समान अंक भएपनि गोलअन्तरमा पछि छ। अहिलेसम्म त्रिभुवन आर्मीसँग मात्र हारेको संकटाले नेपाल पुलिस र च्यासल युथ क्लबलाई पराजित गरिसकेको छ।

संकटाले अब मनाङ मर्स्याङ्दी र थ्री स्टारसँग मात्र खेल्न बाँकी छ।

एन्फा कम्प्लेक्समा सातदोवाटोमा बिहीवार भएको खेलमा संकटाले पहिलो खेलमै दुई गोल गरेको हो। खेलको ११औँ मिनेटमा विदेशी खेलाडी सेड्रिक अबाले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए। त्यसको दुई मिनेटपछि नै अमित तामाङको पासमा दिपेश आले मगरले गोल गर्दै संकटाको अग्रता दोब्बर पारे।

त्यसपछि खेलमा गोल हुन नसक्दा संकटाले २-० को जित हात पारेको हो।

सातौँ जितपछि संकटाले शीर्ष स्थानको मनाङसँगै २१ अंक जोडेको छ। एक खेल कम खेलेको मनाङ राम्रो गोलअन्तरमा शीर्ष स्थानमा छ। सिजनको तेस्रो हारपछि ८ खेलबाट ११ अंक रहेको शेर्पा छैटौँ स्थानमा यथावत छ।

यसैगरी जावलाखेल युथ क्लबले सिजनको दोस्रो जित हात पारेको छ। जावलाखेलले एपीएफलाई हलचोकस्थित घरेलु मैदानमा १-० ले पराजित गरेको हो।

जावलाखेलका लागि खेलको ४९औँ मिनेटमा अफिज लावलले गोल गरेका थिए।

सिजनको दोस्रो जितपछि ८ खेलबाट ७ अंक जोडेको अंकतालिकामा दशौँ स्थानमा उक्लेको छ। समान खेलबाट १० अंक रहेको एपीएफ आठौँ स्थानमा यथावत छ।

लिग अन्तर्गत भोली यस सिजनका दुई अपराजित टिम मनाङ र आर्मीबीच दिउँसो साढे २ बजे खेल हुनेछ। यस्तै भोली बिहान ११ बजे नेपाल पुलिसले फ्रेण्ड्ससँग खेल्नेछ। दुबै खेलमा एन्फा कम्प्लेक्समा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell