PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ए डिभिजन लिग : मनाङ भर्सेस आर्मी, दुई अपराजित टोलीबीच भिडन्त



पहिलोपोस्ट

ए डिभिजन लिग : मनाङ भर्सेस आर्मी, दुई अपराजित टोलीबीच भिडन्त

काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग २०७५ मा सातौँ चरणमा अपराजित रहने दुई टोली हुन् मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी।

लिगअघि दुबै क्लबलाई उपाधिको मुख्य दाबेदारको रुपमा हेरिएको थियो। मनाङले सोही अनुसार नै लगातार सात खेल जित्दै शतप्रतिशत नतिजा निकालेको छ। उता विभागीय टोली आर्मीले भने लिगको उद्घाटन खेलमै एनआरटीसँग अंक बाँडेपछि सुरुमै दुई अंक गुमायो। छैटौँ चरणको खेलमा पनि फ्रेण्ड्ससँग बराबरीमा रोकिएपछि आर्मी मनाङ भन्दा ४ अंकले पछि परिसकेको छ।

अपराजित यात्रा कायम राखेपनि आर्मी ७ खेलबाट १७ अंकका साथ अंकतालिकामा चौथो स्थानमा छ। एक खेल बढी खेलेको संकटाले मनाङ समान २१ अंक जोडेको छ र दोस्रो स्थानमा छ। यस्तै ७ खेलबाट १८ अंकसहित थ्री स्टार तेस्रो स्थानमा छ।

सातौँ चरणसम्म अपराजित यीनै दुई टोली मनाङ र आर्मीबीच आज खेल हुँदैछ। नेपाली क्लब फुटबलकै सबैभन्दा चर्चित खेल मानिने मनाङ र थ्री स्टारबीचको खेल तेस्रो चरणमै भइसकेको हुँदा मनाङ र आर्मीबीचको खेललाई अब प्रतिक्षित खेलको रुपमा हेरिएको छ। यही खेलबाट मनाङ आर्मीको लिगमा पोजिसन कहाँ रहने भन्ने केही निर्धारण हुनेछ।

मनाङले आर्मीलाई हराउन सके मनाङले शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता बनाउनेछ र आर्मीको उपाधि यात्रामा धक्का लाग्नेछ। मनाङ विजयी भए आर्मी ७ अंकले पछि पर्नेछ। यदी आर्मीले मनाङलाई पराजित गर्न सकेको आर्मीले अंक दूरी १ मा झार्नेछ र उपाधि होडमा अगाडी बढ्नेछ।

अहिलेसम्को नतिजा हेर्ने हो भने मनाङ, थ्री स्टार र आर्मी बाहेक संकटा क्लब पनि अप्रत्यासित रुपमा उपाधि होडमा छ। आठौँ चरणसम्म आइपुग्दा आर्मीसँग मात्र हारेको संकटाले पुलिस, च्यासल र हिमालयन शेर्पा जस्ता क्लबलाई पराजित गरिसकेको छ भने मनाङ र थ्री स्टारसँग खेल्न बाँकी छ। ठूला क्लबको लागि संकटा पनि कठिन प्रतिद्वन्दी हुन सक्छ।

आर्मी बाहेक मनाङले पुलिस, महिलायन शेर्पासँग खेल्न बाँकी छ भने आर्मीले थ्री स्टारसँग खेल्न बाँकी छ।

आजै नेपाल पुलिस क्लबले फ्रेण्ड्स क्लबसँग खेल्दैछ। ७ खेलबाट ११ अंक जोडेको पुलिस अंकतालिकामा पाँचौ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell