PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

युरोपा लिग : सेभिया समूह विजेता बन्दै नकआउट चरणमा, एसी मिलान बाहिरियो



पहिलोपोस्ट

युरोपा लिग : सेभिया समूह विजेता बन्दै नकआउट चरणमा, एसी मिलान बाहिरियो
दुई गोल गरेका सेभियाका वेन येडर

सर्वाधिक पाँच पटकको च्याम्पियन सेभिया युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा क्रासनोडरलाई ३-० ले पराजित गरेको सेभिया समूह जे को विजेता बन्दै अन्तिम ३२ मा प्रवेश गरेको हो।

सेभियाले २००६ र ०७ तथा २०१४ देखि १६ सम्म लगातार तीन पटक उपाधि जितेको थियो।

घरेलु मैदानमा सभायलाई जिताउन विसम वेन येडरले दुई तथा एभर बनेगाले एक गोल गरे। जितपछि ६ खेलबाट सेभियाले १२ अंक जोड्दै गोल अन्तरमा क्रासनोडरलाई नै पछि पार्‍यो। पराजयका बावजुत पनि समान १२ अंक जोडेको क्रासनोडर समूह उपविजेता बन्दै अन्तिम ३२ मा पुग्यो। यसै समूहको अर्को खेलमा स्टानडर्ड लिग अखिसास्पोरसँग गोलरहित बराबरीमा रोकिएपछि क्रासनोडर भाग्यमानी बनेको हो। १० अंक जोडेको स्टानडर्ड लिग तेस्रो भयो।

उता इटालियन जायन्ट एसी मिलान भने अन्तिम खेलमा ओलम्पियाकोससँग ३-१ ले पराजित भएपछि समूह चरणबाटै बाहिरियो। उक्त नतिजापछि समूह एफमा ओलम्पियाकोस र मिलानको समान १० अंक भएपनि गोलअन्तरमा मिलान पछि पर्दै बाहिरियो। डुडेलान्जसँग बराबरि खेलेको स्पानिस क्लब रियल बेटिस समूह एफको विजेता बन्दै अन्तिम १६ मा पुग्यो।

यसैगरी यसअघि नै समूह विजेता बन्ने पक्का भइसकेको इंग्लिस क्लब आर्सनलले अन्तिम खेलमा क्वारावागलाई १-० ले हराउँदा अर्को इंग्लिस क्लब चेल्सी भिडीसँग २-२ गोलको बराबरीमा रोकियो। समूह चरणमा अपराजित रहेको दुवै लण्डन क्लबले सम्भावित १८ मध्ये १६ अंक जोडे।

आर्सनल समूह इ र चेल्सी समूह एलको विजेता बनेको हो।

यस्तै स्कटिस क्लब सेल्टिक साल्जवर्गसँग अन्तिम खेलमा पराजित भएको समूहको अर्को खेलको नतिजा बराबरी आएपछि भाग्यमानी बन्दै अन्तिम ३२ मा प्रवेश गर्न सफल भयो। समूह चरणमा शतप्रतिशत नतिजा निकाल्न सफल साल्जवर्गले सेल्टिकलाई २-१ ले पराजित गर्दा समूह बी मा लेइपजिग र रोसेनवर्गले १-१ को बराबरी खेले। यस नतिजापछि साल्जवर्ग १८ अंकसहित समूह विजेता बन्दा ९ अंक जोडेको सेल्टिक समूह उपविजेता हुँदै नकआउट चरणमा पुगेको हो।

साल्जवर्गसँगै समूह चरणमा शतप्रतिशत जित हात पार्ने अर्को टोली जर्मनीको एनट्राच फ्रांकफर्ट बन्यो। जर्मन क्लबले समूह एचको अन्तिम खेलमा इटालियन क्लब लाजियोलाई २-१ ले हरायो।

 

समूह चरणको सबै खेल सकिएपछि युरोपाल लिगमा १२ समहूको विजेता र उपविजेता गरी कूल २४ टोली अन्तिम ३२ का लागि छनोट भएका छन्। यस्तै युरोपियन च्याम्पियन्स लिगको समूह चरण पार गर्न नसकेको र ८ समूहको तेस्रो स्थानमा रहेको ८ टोली युरोपा लिगको अन्तिम ३२ को लागि छनोट भएका छन्। अब नकआउट चरणमा यही ३२ टोलीलाई समावेश गरेर ड्र गरिनेछ।

 

समूह चरण पार गरेर अन्तिम ३२ मा पुग्ने यी हुन २४ टोली

समूह ए : बायर लिभरकुजेन (विजेता), ज्युरीच (उपविजेता)

समूह बी : साल्जबर्ग (विजेता), सेल्टीक (उपविजेता)

समूह सी : जेनिथ सेन्ट पिटर्सबर्ग (विजेता), स्लाभिया प्राग (उपविजेता)

समूह डी : डाइनामो जार्गेब (विजेता), फेनरबाचे (उपविजेता)

समूह इ : आर्सलन (विजेता), स्पोर्टिङ एसपी (उपविजेता)

समूह एफ : रियल बेटिस (विजेता), ओलम्पियाकोस (उपविजेता)

समूह जी : भिल्लारियल (विजेता), र्‍यापीड वेन (उपविजेता)

समूह एच : एनट्राच फ्रान्कफर्ट (विजेता), लाजियो (उपविजेता)

समूह आइ : जेन्क (विजेता), माल्मो (उपविजेता)

समूह जे : सेभिया (विजेता), क्रास्नोडार (उपविजेता)

समूह के : डाइनामो किभ (विजेता), रेन्स (उपविजेता)

समूह एल : चेल्सी (विजेता), बाटे बोरीसोभ (उपविजेता)

 

 

च्याम्पियन्स लिगबाट युरोपा लिगका लागि छनोट भएका ८ टोली

क्लब ब्रुग, इन्टर मिलान, नेपोली, गालातासारे, वेनफिका, साख्तर डोनेस्क, भिक्टोरिया प्लेजन, भ्यालेन्सिया छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell