PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

साग गेम्सलाई लक्षित गर्दै १३ खेलको विशेष प्रशिक्षण सुरु



पहिलोपोस्ट

साग गेम्सलाई लक्षित गर्दै १३ खेलको विशेष प्रशिक्षण सुरु

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत सेप्टेम्वरमा इन्डोनेसियामा भएको १८औँ एसियाडमा पदक जित्ने र उत्कृष्ट प्रदर्शन गर्ने खेलका खेलाडीलाई समेट्दै  नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी विभिन्न खेलका खेलाडीको विशेष प्रशिक्षण सुरु गरेको छ।

एसियाडमा पदक जितेको प्याराग्लाइडिङ र अन्य खेल गरी कूल १३ खेलाई समावेश गर्दै शनिवारदेखि ओपचारिक रुपमा विशेग प्रशिक्षणको सुरुवात गरिएको हो।

प्रशिक्षणमा एसियाडमा नेपालले सहभागिता जनाएको २९ खेलमध्ये भारोत्तोलन, बक्सिङ, आर्चरी, सुटिङ, एथलेटिक्स, टेबलटेनिस, कराते, ब्याडमिन्टन, तेक्वान्दो, पौडी, जुडो, उसु र प्याराग्लाइडिङ गरी १३ खेलका ४३ खेलाडी विशेष प्रशिक्षणमा सहभागी छन्।

प्याराग्लाइडिङले पुरुष टिम क्रस कन्ट्रीमा नेपाललाई रजत दिलाएको थियो। उक्त पदक नेपालले १८औं एसियाडमा हासिल गरेको एक मात्र पदक थियो। विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा सम्मिलित टोलीले रजत जितेका थिए।

माघ ५ गतेसम्म चल्ने प्रशिक्षण मंसिर २५ गतेदेखि सुरु भएपनि औपचारिक उद्घाटन भने शनिबार मात्र गरिएको हो। राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रशिक्षणको उद्घाटन गरे। प्रशिक्षणको जिम्मेवारी सम्बन्धित १३ खेलका १६ प्रशिक्षकलाई दिइएको छ।

सदस्य–सचिव विष्टले पदक ल्याउन असफल भएपनि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई १३औं सागको तयारीलाई मध्यनजर गरी विशेष प्रशिक्षणको व्यवस्था मिलाइएको जानकारी गराए। ‘राष्ट्रलाई पदक दिलाउने खेलाडीलाई त हामीले नगदसहित सम्मान गरिसकेका छौं। पदक विजेतासहित पदक जित्न असफल भएपनि आ–आफ्नो विधामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीको सम्मानका खातिर र १३ औं सागको तयारीलाई लक्षित गरी हामीले विशेष प्रशिक्षणको थालनी गरेका हौं।’

सदस्य–सचिव विष्टले प्रशिक्षकको हकमा सिनियर-जुनियर, स्थायी-अस्थायी नहेरी राम्रो र सक्षम प्रशिक्षकलाई प्रशिक्षणको जिम्मेवारी दिइने बताउदै बाँकी खेलाडीलाई आठौं राष्ट्रिय खेलकुद पछि प्रशिक्षणमा राखिने बताए।

राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विकले पहिले तोकिएको मिति भन्दा आठौं राष्ट्रिय खेलकुद पछि सरेकोले तत्काललाई १८ औं एसियाडमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मात्र समावेश गरी तालिम सुरु गरिएको बताए।

कार्यक्रममा विशेष प्रशिक्षणमा सहभागी खेलाडी र प्रशिक्षकलाई सदस्य–सचिव विष्टले ट्रयाकसुट पनि प्रदान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell