PahiloPost

Jan 5, 2025 | २१ पुष २०८१

निर्मलाको हत्यारालाई सरकार नै बचाउन लागिपरेको छ : देउवा



पहिलोपोस्ट

निर्मलाको हत्यारालाई सरकार नै बचाउन लागिपरेको छ : देउवा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कंचनपुरकी किशोरी निर्मला पन्तको हत्यारालाई सरकारले नै बचाउन खोजेको आरोप लगाएका छन्। 

शनिबारदेखि राजधानी काठमाडौँमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले शान्ति सुरक्षा कायम गराउन नसकेको सरकार स्वयम निर्मला पन्तको हत्यारा बचाउन लागिपरेको दावी गरेका हुन्। 

मुलुकभर हत्या हिंसाका घटना बढ्दै गएको तथा निर्मला पन्तको तस्वीर टाँस्नेलाई समेत नियन्त्रणमा लिने सरकारका क्रियाकलाप सर्वत्र आलोचित भएको उनले बताए।

संघीयता नै असफल बनाउने षड्यन्त्रमा सरकार लागेको पनि उनले आरोप लगाए। वर्तमान सरकारले जनतालाई लोकतन्त्रको उपहारको रुपमा मंहगी दिएको, बूढीगण्डकी आयोजना निर्माणको जिम्मा बिना प्रतिस्पर्धा सुम्पिएको, मिडियामा हस्तक्षेप बढेको भन्दै उहाँले त्यसविरुद्ध सशक्त प्रतिकार गर्नुपर्ने बताए।

महासमिति बैठकबाट पार्टीलाई एकतावद्ध र संगठित बनाई बलियो प्रतिपक्षीको रुपमा मुलुकभर सरकारका क्रियाकलाप विरुद्ध आवाज बुलन्द पार्नुपर्नेमा पनि उनले जोड दिए।

मुलुकका ठूला राजनीतिक परिर्वतनमा नेपाली कांग्रेसको ठूलो योगदान रहेको चर्चा गर्दै उनले आन्तरिक द्वन्द्वका कारण कतिपय अवस्थामा उम्मेदवारहरु पराजित हुनुपरेको यथार्थ भने स्वीकार गरे।

पार्टीभित्र विधि र पद्धतिलाई बलियो बनाउन नसक्दा पार्टी कै आन्तरिक कारण र आन्तरिक द्वन्द्वले उम्मेदवारहरु पराजित हुनुपरेको र एक पटक जित्ने र अर्को पटक हार्ने काम हुँदै आएको पनि उनले उल्लेख गरे। पार्टी भित्र अनुशासन कायम गर्दै विश्वास र एकताका साथ पुनः एक नम्बरको पार्टीमा स्थापित गराउने विश्वास उनको थियो।

पार्टीलाई मिलाएर लैजानुपर्छ र कसैले पनि पार्टी छोड्ने अवस्था नआओस् भन्नेमा नेतृत्व रहेको भन्दै उनले महासमिति बैठकले पार्टीलाई नयाँ उत्साह र उर्जा भर्ने विश्वास व्यक्त गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell