PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अमेरिकी विदेश मन्त्री पोम्पिओको निमन्त्रणामा परराष्ट्र मन्त्री ज्ञवाली अमेरिका जाँदै, मङ्गलवार द्विपक्षीय वार्ता



पहिलोपोस्ट

अमेरिकी विदेश मन्त्री पोम्पिओको निमन्त्रणामा परराष्ट्र मन्त्री ज्ञवाली अमेरिका जाँदै, मङ्गलवार द्विपक्षीय वार्ता

काठमाडौँ : नेपालका प्रधानमन्त्री वा अन्य उच्च अधिकारीहरू प्रत्येक वर्ष अमेरिका पुग्छन्। संयुक्त राष्ट्र सङ्घको महासभाका लागि अमेरिका पुग्ने नेपाली उच्चस्तरीय  प्रतिनिधि मण्डलको टोली नेताले त्यहाँका राष्ट्रपतिसँग छोटो भेट पनि गर्छन्। तर दुई देशबीच पछिल्लो १७ वर्ष उच्चस्तरिय भ्रमणको रिक्तता रहँदै आएको छ।

लामो रिक्ततालाई तोड्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली सोमबार बिहान नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका जाँदै छन्। उनको यो भ्रमण १७ वर्ष पछि हुन लागेको द्विपक्षीय उच्चस्तरीय भ्रमण हो। 

सन् २००२ मा तत्कालीन अमेरिकी विदेश मन्त्री कोलिन पावेलको नेपाल भ्रमणपछि हुन लागेको यो उच्चस्तरमय भ्रमण हो। परराष्ट्र मन्त्री ज्ञवाली आफ्ना अमेरिकी समकक्षी माइक पोम्पिओको मैत्रीपूर्ण निमन्त्रणमा अमेरिका जान लागेका हुन्। उनले त्यहाँ पोम्पिओसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्री ज्ञवालीले मङ्गलवार पोम्पिओसँग भेट गर्ने कार्यक्रम तय भएको छ। भ्रमणका क्रममा उनले ह्वाइट हाउसका उच्च अधिकारीहरुसँगसमेत भेट गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ। 

त्यस्तै मन्त्री ज्ञवालीले अमेरिकी सहयोग नियोग  युएसएड, मिलिनियम च्यालेन्ज कर्पोरेसन तथा अन्य दातृनिकायका अधिकारीसँगसमेत भेट गर्ने कार्यक्रम तय भएको छ। 

भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीसहितका उच्च अधिकारीहरू, नेपालका लागि अमेरिकाका राजदूत डा. अर्जुनबहादुर कार्कीका साथै अर्थ र गृह मन्त्रालयका उपसचिवहरूसमेत सहभागी हुने छ। 

यसैबिच भ्रमणका क्रममा नेपाल–अमेरिका द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकसमेत अमेरिकामै बस्ने छ। बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र सचिव बैरागीले गर्ने छन् भने अमेरिकाको तर्फबाट दक्षिण तथा मध्य एसिया मामिला हेर्ने विभागका प्रिन्सिपल डेपुटी एसिस्टेन्ट सेक्रेटरी एलिस जी वेल्सले गर्ने छन्। 

उक्त बैठक मङ्गलवार बस्ने कार्यसूची रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell