काठमाडौँ : गत सिजन हङकङका दुई खेलाडी बाबर हायत र अंशुमन रथको उत्कृष्ट प्रदर्शनमा विराटनगर किंग्सले एभरेष्ट प्रिमियर लिग इपीएलमा अपराजित रहँदै उपाधि जितेको थियो। फाइनलमा भैरहवामाथि १ रनको रोमाञ्चक जित हात पार्दै विराटनगर च्याम्पियन बन्यो। त्यस टिमको नेतृत्व नेपालको राष्ट्रिय टिमका कप्तान पारस खड्काले गरेका थिए।
इपीएल २०१८ मा पनि विराटनगरले ललितपुर प्याट्रिओट्सलाई पराजित गर्दै राम्रो सुरुवात गरेको थियो। दोस्रो खेलमा पोखरा राइनोलाई हराएपछि विराटनगरको प्लेअफ यात्रा सहज देखिएङ्को थियो। तर त्यसपछि तीन खेल हार्दै विराटनगर लिग चरणबाटै बाहिरियो। समान ४ अंक जोडेको चितवन टाइगर्ससँग झिनो रनरेटमा विराटनगर पछि पर्यो। विराटनगरले पहिलो खेलमा हराएको ललितपुरले त्यसपछिका लगातार ६ खेल जित्दै उपाधि जित्यो।
फाइनल सकिएपछि विराटनगरका कप्तान पारस खड्काले सञ्चारकर्कीसँग कुरा गर्दै यस सिजनको इपीएलबाट आफू केही निराश रहेको प्रतिक्रिया दिए। पारसले मैदानमा राम्रो दिएको इपीएल मैदान बाहिर भने सोचेजस्तो नभएको बताए।
'यस सिजन राम्रा खेलाडीहरु थिए। विदेशी खेलाडीहरु पनि राम्रा आएका थिए। सुरुमा बिगेस्ट टुर्नामेन्ट भनेपछि यो अझै राम्रो हुन सक्थ्यो। तर त्यसो भएन। खेलाडीहरुको लागि अझ बढी केही हुन सक्थ्यो। अपेक्षा गरेअनुसार रहेन। यस प्रतियोगिताबाट हामी केही निराश छौँ।' खड्काले भने। उनले के सन्दर्भमा चाँही इपीएल बिगेस्ट भन्दै प्रश्न समेत गरे।
उनले बिगेस्ट टुर्नामेन्ट भनिएपनि प्राइज मनीमा त्यस्तो नखेदिएको बताए। 'विनर प्राइज मनीमा पनि केही बढी हुन सक्थ्यो।'
यस्तै पारसले पोखरा प्रिमियर लिग आयोजनामा आफू संलग्न भएपछि इपीएललाई भाँड्न पारस लागिपरेको भन्ने हल्ला सुनेको तर त्यो सत्य नभएको स्पष्ट पारे। 'पारसले पीपीएल गरेपछि इपीएल भाँड्न खोजेको छ भन्ने हल्लाहरु सुनियो तर त्यस्तो होइन।'
'मैदानमा इपीएलले नेपाली क्रिकेटमा एउटा बेन्चमार्क सेट गरेको छ तर मैदान बाहिर पनि यो अझै राम्रो हुन सक्थ्यो भएन।' उनले भने।
यस पटक इपीएल खेल्न टेष्ट खेलेका देखि इन्डियन प्रिमियर लिग आइपीएल खेलिसकेका र विश्व क्रिकेटमा चर्चित भइसकेका खेलाडीहरुले टीयू मैदानमा खेले। यस्तै विदेशी कमेन्टेटर र अन्तर्राष्ट्रिय स्तरकै चियरलिडर्स ल्याएर आयोजकले दर्शकलाई मनोरन्जन दिने काम पनि गर्यो। तर व्यवस्थापन चुस्त हुन नसक्दा खेलाडी, प्रशिक्षक देखि दर्शकहरुले पनि आयोजकमाथि प्रश्न उठाए।