काठमाडौँः सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। अपराह्न ४ बजेबाट संसद्का दुवै सदनको अधिवेशन प्रारम्भ हुँदैछ।
चालु अधिवेशन विधेयक अधिवेशनमा रूपमा अघि बढ्नेछ। सङ्घीय संसद् अधिवेशन सुरु भएको एक वर्षभित्र संविधानसँग बाझिएका कानुन संशोधन चालु अधिवेशनबाटै हुनेछ। चालु अधिवेशनबाट करिब दुई सय कानुन परिमार्जन हुनेछन्।
मौजुदा ३३९ कानुनमध्ये १७४ कानुनहरु संशोधन आवश्यक रहेको कानुन मन्त्रालयको निक्र्यौल छ। यस्तै थप ३८ विषयमा नयाँ कानुन निर्माण हुनेछन्। तीमध्ये केही कानुन भने संसद्को दोस्रो अधिवेशनबाट पारित समेत भइसकेका छन्।
यी हुन् कार्यसूची
अधिवेशन प्रारम्भको पहिलो दिन आज संसद्मा अधिवेशन आह्वानको जानकारी दिने राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाइनेछ। यस्तै, दुवै सदनका राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।
सङ्घीय संसदका दुवै सदनमा सरकारले यसअघि जारी गरेको कर्मचारी समायोजन अध्यादेश पेस हुनेछ। प्रतिनिधिसभामा भने यसअघि दोस्रो अधिवेशनमा राष्ट्रियसभाबाट पारित भई सन्देशसहित पेस हुन बाँकी रहेका दुई विधेयकको जानकारी पनि पेस हुनेछ।
संसदका दुवै सदनमा आज शोक प्रस्तावको कार्यसूची छ। पूर्वमन्त्री समेत रहेका चक्र प्रसाद बास्तोलाको निधनमा शोक प्रस्ताव पारित हुनेछ। यस्तै, पूर्व सांसद पद्मरत्न तुलाधरको निधनमा पनि सदनमा शोक प्रस्ताव पारित हुने कार्यसूची रहेको छ।