काठमाडौँ: नक्कली सुनको गहना देखाएर सक्कली सुन भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले ललितपुर उपमहानागपालिका वडा नम्बर १३ बस्ने २६ वर्षीय राजु परियारलाई पक्राउ गरेको हो।
परियारले सुनको गहना भएको भन्दै रमेश मगर र रवि तामाङलाई ठगी गरेको उजुरी परेको महानगरीय प्रहरी परिसर काठमाडौका डिएसपी होमिन्द्र बोगटीले जानकारी दिए।
परियारले तामाङलाई २ लाख रुपैयाँ र मगरलाई १ लाख ९० हजार रुपैयाँ ठगी गरेको खुलेको छ।
परियारको शरीर तथा कोठाको खानतलासी गर्दा प्रहरीले नक्कली सुनको सिक्री १० थान, बेरुवा औँठी ३२ थान,विभिन्न किसिमका नक्कली सुनका औठी तथा नक्कली सुनका गरगहनाहरू फेला पारेको हो।
परियारले नक्कली सुनको गहनालाई सक्कली भन्दै सस्तो मूल्यमा बिक्री गरेको खुलेको छ। प्रहरीले कोही यसरी ठगिएको भए प्रहरीमा उजुरी दिनसमेत आह्वान गरेको छ।