PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चिन्नुस् यी हुन् 'ठग्स अफ नेपाल', कसरी चल्थ्यो यिनीहरुको कारोबार?



सविन ढकाल

चिन्नुस् यी हुन् 'ठग्स अफ नेपाल', कसरी चल्थ्यो यिनीहरुको कारोबार?

काठमाडौं : काभ्रेकी कुसुम कायस्थ र अफ्रिका आइभरीकोस्टका ओतुटा अकाकागनीबीच भर्चुअल भेट भयो, फेसबुक मार्फत्। च्याटले दुवैलाई जोड्यो। यो जोडाइ यति गहिरियो कि उनीहरु बिहेका लागि तयार भए। अभौतिक भेटबाट भौतिक भेट हुनुअघि नै बिहे टुंगो लाग्यो। 

काभ्रे घर भएकी ३२ वर्षीय कुसुमलाई भेट्न ओतुटा काठमाडौं उत्रिए। अन्तर्देशीय बिहे पनि भयो यी दुईबीच। त्यसपछि ओतुटा नेपालमा मै बस्नथाले।

ठग्ने काइदा : सलमानको आकृतिसँग फोटो खिचेर अरुलाई प्रभावित पार्थिन्

आइतवार यो जोडीलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले नियन्त्रणमा लियो। उनीहरुले ठगी गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो। आठ जनाभन्दा बढीबाट १४ लाख ३४ हजार रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा यो जोडीलाई नियन्त्रणमा लिएको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जनाकारी दिए। एसएसपी सिंहले भने, 'दुवै जना मिलेर ठगी गर्ने गरेको देखियो। आवश्यक अनुसन्धान भइरहेको छ। उनीहरुले पेप्सिकोलामा फ्लाट भाडा लिएर बन्दै आएका थिए।' 

यसरी गर्थे ठगी 
विनिता र संगमको भर्चुअल भेट भयो- फेसबुकमार्फत्। वर्षदिनअघि संगमले पठाएको फ्रेन्ड रिक्वेस्ट स्वीकार गरेपछि दुईको च्याट सुरु भयो। यो च्याट यति गहिरियो कि उनीहरु अब यसलाई वैवाहिक जीवनमा परिवर्तन गर्ने सुरसारमा छन्। यद्यपि, दुवैको भेट अहिलेसम्म भएको छैन। 

विनिता काठमाडौँमा बसेर पढाइ सँगसँगै काम पनि गरिरहेकी छिन् भने संगमले आफू बेलायतमा रहेको बताएका छन्। 

केही दिन अघि संगमले युकेबाट विनितालाई गिफ्ट पठाइदिने जानकारी दिए। विनिता दङ्ग परिन् र आफ्नो पूरा ठेगाना दिइन्। आइफोन सिक्स, गहना र केही मिठाई - संगमले पठाइदिन लागेको गिफ्टको सूची। 

'ल मैले सामानहरु पार्सल गरेर पठाइदिएँ है,' संगमले च्याटमा लेखे।

प्रेमीको गिफ्ट पाउन विनिता आतुर थिइन्। दिन बित्यो, साता बित्यो तर गिफ्ट आएन। उताबाट संगमले भने गिफ्ट पाएनौ? भनेर सोधी नै रहे। 
एक दिन विनिताको मोबाइलमा एक अपरिचित नम्बरबाट फोन आयो। फोन भारतबाट एक युवकले गरेका थिए। 

'युकेबाट तपाईँको साथीले पठाएको सामान इन्डियाको एयरपोर्टमा आएर अल्झिएको छ। केही समस्या पर्‍यो। कर तिर्नुपर्ने भयो। केही रकमको आवश्यकता छ,' उसले भन्यो। 

विनिताले त्यो कुरा संगमलाई पनि सुनाई। प्रेमीले पठाएको गिफ्ट पाउने आशा कसलाई पो नहोला? उनले फोनमा त्यो केटाले भने झै ३० हजार रुपैयाँ भारत पठाइन्। 

'अबको केही दिनमा तपाईँका सामान तपाईको स्थानमा आइपुग्छ,' उसले भन्यो। तर, अहँ, सामान आएन। 

केही दिनपछि फेरि त्यही केटाले दोस्रो पटक फोन गर्‍यो। फेरि उही समस्या देखायो र फेरि पनि २५ हजार रुपैयाँ माग्यो। गिफ्टको लोभमा उनले पैसाको जोहो गरी फेरि पैसा पठाइन्। सामान अझै आएन। 

त्यसपछि भने उनी झसङ्ग भइन्। आफू ठगिएको महसूस गरिन्। र, लागिन् टेकुस्थित महानगरीय अपराध अनुसन्धान महाशाखामा। 

फेसबुकबाट नक्कली आइडीमार्फत् यसरी ठगी गर्ने गिरोहमा हिजो पक्राउ परेका यी दुई पनि रहेको खुलेको छ। विनिता वा संगम अथवा यस्तै  परिचित नामबाट ठग्ने गिरोहको प्रहरीले खोजी गरिरहेको छ। यो जोडीपछि प्रहरीले अरु थप कतिलाई आफ्नो अनुसन्धानमा ल्याउन सक्छ त्यो भने प्रतीक्षाकै विषय हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell