PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

प्रम ओलीले बालबालिकालाई सुनाए आफ्नो दुईवटा होमवर्कको कहानी, निर्मला हत्याबारे पनि बोले



पहिलोपोस्ट

प्रम ओलीले बालबालिकालाई सुनाए आफ्नो दुईवटा होमवर्कको कहानी, निर्मला हत्याबारे पनि बोले

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका बालबालिकाको चेहरामा खुशी देख्दा आफू पनि खुशी हुने बताएका छन्।
नेपाल स्काउटले आयोजना गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा एक विद्यार्थीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, 'बालबालिकाको चेहरामा खुशी देखेँ भने म पनि खुशी हुन्छु। नयाँ पिंढीको चेहरामा मुस्कान हुनुपर्दछ। मानिसहरु भोकबाट मुक्त हुनु पर्दछ।  कठ्यांग्रिएर मर्ने अवस्था आउनु हुँदैन। समाज समतामुलक हुनु पर्दछ। त्यस्तो अवस्थामा सबै नेपालीसँगै म पनि खुशी हुन्छु।'

बालबालिकाले प्रधानमन्त्री ओलीलाई बाल्यकाल कसरी बित्यो भनेर जिज्ञासा राखेका थिए। पूर्वी पहाडको तेह्रथुम जिल्लाको छातेढुंगामा २००८ सालमा जन्मिएको सुनाउँदै प्रधानमन्त्री ओलीले प्राथमिक स्कूल पढ्दा दुई प्रकारका होमवर्क गर्नु परेको सुनाएका थिए। 'एउटा विद्यालयका शिक्षकले दिएको होमवर्क र अर्को घरमै सृजना हुने होमवर्क जस्तै घाँस दाउरा, गाई बाख्राको हेरचाहआदि,' प्रधानमन्त्री ओलीले भने, 'दुवै होमवर्क म कुशलता पूर्वक गर्थेँ।'

प्रधानमन्त्री ओलीलाई सामुदायिक विद्यालयका एक विद्यार्थीले सोधे, 'सामुदायिक विद्यालयमा पाठ्य पुस्तक नै पुग्दैनन्। शिक्षाको गुणस्तर कसरी वृद्धि हुन्छ?' 

प्रधानमन्त्री ओलीले विद्यार्थीलाई पाठ्य पुस्तक नपुग्ने विषय अब इतिहास भइसकेको बताए। ओलीले भने, 'समयमा पाठ्य पुस्तक नपुग्ने अब हुँदैन। र, आगामी वर्षदेखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर पनि हुँदैन।' 
प्रधानमन्त्री ओलीले अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भएकाले त्यसको जानकारी लिनैपर्ने तर त्यसो गर्दा नेपाली भाषा नजाने पनि हुने अथवा नेपाली भाषा नजानेकोमा गर्व गर्न नहुने बताए। 
'विद्यालयहरुले अंग्रजी माध्यममा पढाउनु राम्रै हो। त्यसो गर्दा नेपाली भाषा चाहिँ नजाने पनि अथवा नपढाए पनि हुन्छ भन्ने चाहिँ होइन, आफ्नो राष्ट्रिय भाषा र मातृभाषामा सबैको दख्खल हुनुपर्दछ।'

बालबालिकाले प्रधानमन्त्री ओलीलाई निर्मला पन्तको बलात्कार र हत्याको विषयमा पनि जिज्ञासा राखे। प्रधानमन्त्री ओलीले यस घटनाको सत्यतथ्य पत्ता लगाउन सरकार गम्भीर रहेको बताए। 'निर्मलाको बलात्कार र हत्याका दोषीहरुको खोजी भइरहेको छ। उनीहरु पत्ता लाग्छन्। सुरुवाती चरणमा प्रहरीबाट पनि केही गल्ती भएको छ। अहिले उच्चस्तरीय छानविन समिति गठन गरेर अनसुन्धान भइरहेको छ। नेपाल प्रहरी यस्ता घटनाको अनुसन्धान गरेर अपराधी पत्ता लगाउन सक्छ। अपराधी पत्ता लगाउन मैले पटकपटक निर्देशन पनि दिएको छु।'


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell