PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

वाइड बडी छानबिन प्रतिवेदन, सत्तापक्षका सांसदले बखेडा झिकेपछि भएन पारित



बीपी साह

वाइड बडी छानबिन प्रतिवेदन, सत्तापक्षका सांसदले बखेडा झिकेपछि भएन पारित

काठमाडौं : वाइडबडी खरीद प्रकरणको अनियमिततामा संसदीय उपसमितिले तयार गरेको प्रतिवेदन सत्तापक्षका सांसदले बखेडा झिकेपछि आज पारित भएन। आज उपसमितिको प्रतिवेदनमाथि सार्वजनिक लेखा समितिमा छलफल भएको थियो। छलफलमा संसदीय उपसमितिका संयोजक सांसद राजन केसीले खरीद प्रकरणमा अनियमितता देखिएको र आफूहरुले देखेको कुरा लेखेको बयान दिएका थिए।

तर, सत्तापक्षका सांसदहरुको असन्तुष्टिका कारण प्रतिवेदन पारित हुन सकेन। सत्ता पक्षका सांसदहरुले प्रतिवेदन संशोधन हुनुपर्ने माग गरेपछि सोमबार ११ बजेसम्मका लागि लेखा समितिको सचिवालयलाई संशोधनको जिम्मेवारी दिइएको छ।

सत्तापक्षका सांसद सूर्य पाठकले मन्त्रीहरुको विषयमा फरकफरक शब्द लेखिएकाले एकै किसिमको शब्द हुनुपर्ने माग गरे। यता,पुष्पा कायस्थले दोषी ठहर्‍याइएका सचिवहरुको बयान लिन छुटेको दाबी गरिन्।

सांसद ह्दयेश त्रिपाठीले प्रतिवेदनको ढाँचा नै नमिलेको भन्दै ढाँचा मिलाउनुपर्ने बताए। यज्ञ कुँवरले राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाए।

तर, सत्तापक्षकै सांसद प्रेम आलेले प्रतिवेदन तत्कालै पारित गर्नुपर्ने बताएका थिए। प्रमुख प्रतिपक्षी दलका सांसदहरु मीनेन्द्र रिजाल, राजन केसी, चन्दा चौधरी, प्रदीप यादवलगायतले प्रतिवेदन तत्कालै पारित गर्नुपर्ने माग राखेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell