PahiloPost

Aug 24, 2019 | ७ भदौ २०७६


चोरीको मारमा वन्यजन्तु अनुसन्धानमा जडित क्यामेरा ट्रयाप, कसले लैजान्छ क्यामेरा?


पहिलोपोस्ट

चोरीको मारमा वन्यजन्तु अनुसन्धानमा जडित क्यामेरा ट्रयाप, कसले लैजान्छ क्यामेरा?
तस्विर: प्रकृतिका साथीहरु

•राजु आचार्य -

'क्यामेरा ट्रयाप (स्वचालित क्यामेरा)' हराएर १ लाख साठी हजार त नोक्सान भयो नै, सँगसँगै अमूल्य फोटोहरू पनि गएl कसलाई के थाहा त्यही हराएको क्यामेरामा  संसारमा अहिलेसम्म अभिलेख नगरिएको प्रजाति पो थियो कि?'

युवा वन्यजन्तु अनुसन्धानकर्मी यादव घिमिरेले आज भन्दा १० वर्ष अघि सङ्खुवासभा जिल्लाको मकालु वरुण राष्ट्रिय निकुन्जमा अध्ययन गरेर फर्कँदाको अनुभव  यसरी सुनाएका थिए l त्यतिखेर एउटा 'क्यामेरा ट्रयाप'को ४० हजार परेको थियो l उनले सो अवधिमा ४ वटा सोनी पी ३२ क्यामेरा हराएका थिए l

एक महिनाअघि कास्की जिल्लाको मादी गाउँपालिका अन्तर्गत 'सिक्लेस र तांगतिंग' गाउँनजिक ९ वटा क्यामराहरू चोरी भयो l हिमाली कालो भालुको अध्ययनको नेतृत्व गरिरहेका 'प्रकृतिका साथीहरू'का अनुसन्धानकर्मीहरू हतास थिए l करिब ४ लाख बराबरको क्यामेरा त गयो नै , सँगसँगै थुप्रै जानकारी पनि l उनीहरू अहिले  सो क्षेत्रमा अध्ययन गर्ने कि नगर्ने भनेर परामर्शमै छन्।

राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्रका युवा 'वन्यजन्तु अनुसन्धान अधिकृत' बाबुराम लामिछानेले  यो  कुराको पुष्टि गर्दै भने 'जहिले पनि राखिएका क्यामेरा ट्रयापहरु मध्ये १०-२० प्रतिशत हराउने, चोरी हुने  तथा बिग्रिएको अवस्थामा भेटिने गरिएको छन्l'

कोषले विभिन्न संस्थाहरू तथा सरकारसँग मिलेर ठूलो परिमाणमा बाघ गणनाको लागि क्यामेरा ट्रयापहरुको प्रयोग गरिरहेको छl सूचना तथा संरक्षण अधिकृत ऋषि बरालले सोही कोष अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पनि प्रयोग गरेको क्यामेराहरू हराएको जानकारी गराएl

जुलोजिकल सोसाइटी अफ लन्डनको नेपालस्थित कार्यालयले गत वर्ष मात्र तराई क्षेत्रमा राखिएका करिब ७०० वटा मध्ये ७० वटा क्यामेराहरू चोरिएका थिएl जसमध्ये केही मात्र हात्ती तथा बाघले बिगारेको तर अधिकांश मानिसले लागेका थिएl 

नेपालमा मात्रै नभएर संसारभर  क्यामेरा ट्रयाप चोरी भएका तथ्याङ्कहरू अभिलेख गरिएका छन् l सन् २०१६-२०१७ मा संसारभरका ४०७ जना वन्यजन्तु अनुसन्धानकर्मी/संरक्षणकर्मीलाई समेटेर गरिएको अध्ययनले क्यामेरा ट्रयाप हराउनुलाई साझा  समस्याको रूपमा लिइएको छl सो अध्ययनले सन् २०१० देखि २०१५ सम्म करिब १५ करोड बराबरको क्यामेराहरू हराएको वा चोरिएको बताइएको छ l

 

किन हराउँछन् क्यामेरा ट्रयाप?

बर्दिया राष्ट्रिय निकुन्ज वरपर वन्यजन्तुले टोकिदिने, फुटाइदिने तथा मानिसहरूले निकाल्ने गरेको औँल्याइएको छl

अनुसन्धानकर्मी लामिछाने भन्छन् ' सम्पूर्ण तराई तथा चुरे छेत्रमा गरिएको अध्ययनको क्रममा  क्यामेराहरू सबैभन्दा बढी मानिसले चोर्ने गरेका छन् l कसैले मेमोरी कार्डमात्र, कसैले ब्याट्रीमात्र वा कसै कसैले डोरी मात्र पनि चोर्ने गरेका छन् l'

उनले थपे ' मान्छे मात्र नभई हात्ती, बाघ, गैँडा लगायतका जीवहरूले टोक्ने, फुटाल्ने, लैजाने समेत गर्दछन् l सन् २०१३ मा त झन् ४ वटा जति क्यामेरा बाढीले पुरेको वा बगाएको अभिलेख छ l तर मानिसले चोर्ने दर, अन्य भन्दा निकै धेरै छl'

'मानिसहरू घरमा लगेर आफ्नो फोटो खिच्ने प्रयास गर्छन् र काम नगरेपछि पहिलाको ठाउँमा ल्याएर राख्ने गरेको पनि भेटिएको छl साथै कहिले काहिँ खेलौँना पनि ठान्दा रहेछन्'l साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउण्डेसनका अध्यक्ष सागर दाहालले भने' यति मात्रै हो र, अलिकति भए पनि पैसा पाउने आसमा यस्तो काम गरेको समेत भेटेका  छौँl  उनले थपे 'नवलपरासी जिल्लाको, चोरमारा क्षेत्रमा काठ तस्करहरूले बन्चरोले क्यामेरा दुई टुक्रा बनाइदिएका थिएl'

अनुसन्धानकर्मी घिमिरे भन्छन् 'हामीलाई तराईको अनुभव कम छ l पहाडतिर क्यामेरा जनावरले भन्दा पनि सिकारीहरूले चोरेर हैरान पार्छन्l  फोटोमा हतियारसहित खिचिएपछि  कारबाही हुने डरले क्यामेरा झिकेर वा ढुङ्गाले फुटालेर छोड्छन्l मेमोरी कार्डबाट तस्बिर मात्र निकाल्ने नैतिकता नभएका मनिसहरु पनि छन्l'

उनी थप्छन् 'कहिलेकाहीँ थाहा नपाएर पनि क्यामेरा सरिदिने, घुमाई दिने, पातहरूले छोपी दिने पनि गर्ने गरेका छन् l स्थानीयको असहयोगले पनि क्यामेराको नोक्सानी बढ्दै गएको छl'  

सन् २०१४-२०१५मा भुटानमा उगेन पेन्जोर लगायतको टोलीले गरेको अनुसन्धानको क्रममा २५ प्रतिशत क्यामेराहरू चोरिएका, जनावरले बिगारेका वा काम नगरेको अवस्थामा भेटिएका थिए l 

भारतीय वैज्ञानिक गोपी सुन्दरले पनि भारतमा क्यामेराहरु विशेष गरी मानिसले चोरेका बताए l

 

कति आवश्यक छ क्यामेरा ट्रयाप?

नेपालमा क्यामेराको माध्यमबाट सुनौलो बिरालो (गोल्डेन क्याट) प्रजातिको प्रस्ट फोटो करिब १८७  वर्षपछि खिचिएको थियो l तीनजुरे मिल्के जलजले क्षेत्रको सङ्खुवासभा जिल्लामा मात्र सो प्रजातिको अभिलेख गरिएको छ l सन् १८४० पछि सिलु बिरालो (स्पोटेड लिन्साङ) नेपालमा लमजुङको भुजुङ भन्ने गाउँमा क्यामरा ट्रयाप थाप्दा भेटिएको थियो। त्यसैगरी टासी बिरालो (पालास क्याट) को नेपालबाट पहिलो अभिलेख होस् या दुर्लभ ध्वाँसे चितुवा होस् क्यामेरा ट्रयाप उपयोगी सिद्ध भएका छन् l नेपालको लागि पहिलोपटक अभिलेख गरिएको रष्टि स्पोटेड क्याट, रोड़ी मंगुस, स्टेप पोल क्याट हुन् या पहिला नपाइने क्षेत्रमा पाइएको वन्यजन्तु हुन्, क्यामेरा ट्रयाप प्रविधिले अनुसन्धानलाई सहज बनाएको छ l 

युवा अनुसन्धानकर्मी जीवन राई भन्छन् 'वन्यजन्तुहरूलाई यिनको वासस्थानमा कस्तो चुनौतीहरू छन् भनेर समेत जानकारी दिन्छ l धेरै क्यामेरा ट्रयापहरुमा सिकारीहरुको उपस्थिति समेत अभिलेख हुने गरेको छl'

अनुसन्धानकर्मी लामिछाने भन्छन् ' क्यामेरा ट्रयापले प्रजाति छ छैन मात्र हैन, कति छ , कुन अवस्थामा छन्, तिनीहरूको समुदायभित्र के भई रहेको छ, के गर्न सकिन्छ लगायतको विस्तृत जानकारी दिन्छl'

तर वैज्ञानिकहरू अहिलेको क्यामरामा निकै परिवर्तन गर्नु पर्ने कुरामा जोड दिइरहेका छन् l किनकि यस्ता क्यामेराहरू महंगा छन्। ठाउँ अनुसार काम नगर्न सक्छन् र वन्यजन्तुले राखेका ठाउँमा नहिँड्न सक्छन् l सबैभन्दा ठूलो कुरा, क्यामेरा हराएर दिने तनाव हो , जुन नेपालमा समेत सामान्य हुँदै गएको छ l

 

कसरी नियन्त्रण गर्न सकिएला

अनुसन्धानकर्मी  घिमिरेले १० वर्ष अघि क्यामेरा हराउँदा गाउँमा आएर खबर गरे तर भेटिएनl गाउँलेले भने' गाउँदेखि दुई दिन परको बनमा राख्नु भाछ, कसले लग्यो कसले, हामीलाई के थाहा? '

पछिल्ला दिनहरूमा उनले गाउँघरतिर भन्ने गरेका छन् 'क्यामेरामा जीपीयस जोडिएको छ, कसले लग्यो, हामीलाई तु खबर आइहाल्छl' तैपनि क्यामेरा हराउन छोडेको छैन l उनी बिलखबन्दमा छन्l   गाउँलेलाई खबर गर्दा ठीक हुने हो कि नगर्दा हुने हो भनेरl   

राष्ट्रिय प्रकृति संरक्षण कोषले चुरे क्षेत्रमा गरेको अध्ययनका क्रममा हराएका  १२ वटा जति क्यामेरा  सामुदायिक बन, प्रहरी मार्फत भेटिएको थियो l यसका लागि अनुसन्धानकर्मीहरूले समुदाय र प्रहरीलाई खबर गरेका थिए l उक्त अध्ययन नजिक रहेर काम गरिरहेका लामिछाने  भन्छन् ' बलियो फलामको (टुइचन) डोरी प्रयोग गर्ने, क्यामेरा बाहिर फलामको अर्को बाकस बनाएर साँचो लगाउने आदि गर्ने गरेका छौँ' l

अर्का अनुसन्धानकर्मी जीवन राईले भने ' क्यामेराभित्र एउटा नोट लेखेर राख्दा पनि हराउने सम्भावना कम हुन्छ कि, तर यसका लागि पढे लेखेका र झुक्कियर क्यामेरा झिक्नेहरूका लागि मात्र हो'

थापिएका क्यामेराको सुरक्षा गर्न विश्वब्यापी रूपमा चर्चा हुने गरेको छl क्यामेरा मानव बस्तीको नजिक होस् या टाढा हराउने सम्भावना उत्तिकै हुने अध्ययनले देखाएको छ l बरु खतराको चिन्न राख्ने , यो जनावरको लागि मात्रै हो भनेर लेख्ने, वा यसमा जीपीयस छ भन्नेर लेख्दा कम हुन् सक्ने भनेर वैज्ञानिकहरू विश्वास गर्दछन्l

पपुवा न्युगिनियामा स्थानीय समुदायसँगको  छलफलपछि राखिएको क्यामेरा कम चोरी भएको अभिलेख छl नेपालको पन्चासे  क्षेत्रमा पनि सिकारी क्यामेराको नजिकै बसेको, बन्दुक देखाएको तर क्यामेरालाई केही पनि नगरिएको भेटिएको छl तर सबै ठाउँमा यस्तो भने  हुँदैन l क्यामेरा चोरीबाट थकित ७० प्रतिशत संरक्षणकर्मी/अनुसन्धानकर्मी अध्ययन क्षेत्र नै परिवर्तन गर्न चाहेको  अनुसन्धानले देखाउँछl  

जुलोजिकल सोसाइटी अफ लन्डनको नेपालस्थित कार्यालय पनि क्यामेरा ट्रयाप हराएर हैरान भएको  छl 'राखिएका क्यामेरा कसले लैजान्छ, किन लैजान्छ भनेर पत्ता लगाउन, मानिसहरूले नदेख्ने ठाउँमा स्पाई क्यामेराको प्रयोग गर्ने सोच बनाइरहेका छौँ' सो संस्थाका नेपाल प्रतिनिधि डा. हेम सागर बरालले आफ्नो अनुभव सुनाए l स्पाई क्यामेरा रुखको हाँगा वा मानिसले सजिलै नदेख्ने ठाउँमा राखिन्छ, जसले मुख्य क्यामेरा कसले लैजान्छ भनेर खिच्ने काम गर्नेछl

अनुसन्धानकर्मीहरू अक्सर भन्ने गर्छन्  'यिनको पनि इन्सुरेन्स गर्ने बेला भोl'  सागर दाहाल भन्छन्' सिक्री लगाए नियन्त्रण हुन् सक्छ किl' उनी क्यामेरा बोकेर पूर्वको कोसीतिर जाँदै थिएl उनले थपे'क्यामेरा फर्कन्छ कि फर्कन्न केही थाहा छैनl'  

 

क्यामेरा ट्रयापको इतिहास

नेपालमा क्यामेरा ट्रयापको प्रयोग गर्ने श्रेय अमेरिकन  सांस्कृतिक-समाजशास्त्री चार्ल्स मेक डुगललाई जान्छ l उनले सत्तरीको दशकमा नेपालमा यसको प्रयोग बाघ अनुसन्धानका लागि  गरेका थिए l त्यतिखेरका क्यामेराहरूले माटोमुनि लुकाइएको पातामा वन्यजन्तुले टेक्दाखेरि मात्र फोटो खिच्थे , जसलाई प्रेसर प्याड क्यामेरा भनिन्थ्योl अहिले क्यामेराहरू भने आफ्नो अगाडि केही चल्ने बित्तिकै वा तापक्रम भएका केही हिँड्नेबित्तिकै खिची हाल्छन् l

पछिल्ला वर्षहरूमा फोटो खिच्ने बित्तिकै पठाई दिने प्रविधिको विकास समेत भएको छ l थोरै श्रोत र साधनको घेरामा अनुसन्धान गरिरहेका नेपाली अनुसन्धानकर्मीहरूको लागि यो प्रविधि अलि गाह्रो नै छl यो प्रविधि महंगो पनि छl  तर जे भए पनि मानिसले गर्न नसकेको काम यसले गरेर वन्यजन्तुको अनुसन्धानलाई सहज र सम्भव बनाएको छl हुँदा-हुँदा आज भोलि स्थानीय स्तरका समुदायले पनि क्यामेरा ट्रयापको प्रयोग गर्न थालेका छन्l यसको ज्वलन्त उदाहरण हो खोटाङ जिल्लाको जालपा  गाउँ, जहाँ आठ वटा खरिदको लागि वडाले नै बजेट छुट्ट्याएको छl

 

अन्तमा

अब भने  क्यामेरा ट्रयापको प्रयोग गर्ने संस्थाहरू, अनुसन्धानकर्मी तथा संरक्षणकर्मीबीच गोलमेच सम्मेलन अपरिहार्य भएको छl यसो नगर्ने हो भने आर्थिक नोक्सानी सँगै बहुमूल्य तथ्याङ्कहरू हराइरहने छन्।



चोरीको मारमा वन्यजन्तु अनुसन्धानमा जडित क्यामेरा ट्रयाप, कसले लैजान्छ क्यामेरा? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट