PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

मन्त्रीका विश्वासपात्र अधिकारीले कसरी हाँक्लान नेपाल टेलिकम?



पहिलोपोस्ट

मन्त्रीका विश्वासपात्र अधिकारीले कसरी हाँक्लान नेपाल टेलिकम?

  • उद्धव थापा-

काठमाडौः सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषदले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्ली अधिकारीलाई नियुक्त गरेको छ। गत साउन २९ गते टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेपछि टेलिकम कार्यवाहक प्रमुखको नेतृत्वमा चलिरहेको थियो।

खुल्ला प्रतिस्पर्धाबाट सरकारले टेलिकमकै दशौं तहमा कार्यरत कर्मचारीलाई टेलिकमको कमान जिम्मा लगाएको हो।

इञ्जिनियरिङ पृष्ठभूमिका अधिकारी टेलिकमको व्याकबोन विभागमा बसेर काम गरिसकेका छन्। मोबाइल ब्रोडव्याण्ड, इन्टरकनेक्सन, व्याकबोन ट्रान्समिसन नेटवर्कमा राम्रो दख्खल भएका अधिकारीसँग टेलिकमभित्रै प्रशासकीय भूमिकामा काम गरेको अनुभव भने छैन। गत भदौदेखि भने उनी प्रबन्ध निर्देशकको प्राविधिक सल्लाहकारको रुपमा काम गरिरेका थिए। 

मन्त्री बाँस्कोटा र एमडी अधिकारीको सम्बन्ध

अधिकारीले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटासँग निकै नजिकको सम्बन्ध बनाएका छन्। नेपाल टेलिकम सरकारी स्वामित्वको कम्पनी भएको र सबैजसो काममा मन्त्री र सचिवको प्रत्यक्ष संलग्नता हुने भएकाले अधिकारीका लागि यो सबल पक्ष पनि हो।

सरकारले बनाएको छनौट समितिमा आफ्नो व्यवसायिक कार्ययोजना प्रस्तुत गरेपछि अधिकारीले मन्त्री बाँस्कोटालाई छुट्टै भेटेर आफ्ना योजना सुनाएका थिए। हुन त गत कात्तिक दोस्रो साता भएको अन्तर्राष्ट्रिय दूरसञ्चार संगठनको सम्मेलनमा भाग लिन मन्त्री बाँस्कोटा नेतृत्वको भ्रमण दलमा सहभागी भई संयुक्त अरब इमिरेट्स (दुबई) गएदेखि नै टेलिकमका कर्मचारीहरुले उनलाई भावी प्रबन्ध निर्देशकको रुपमा अर्थ्याउन थालेका थिए।

स्रोतहरुका अनुसार, मन्त्री हुनु अगाडि बाँस्कोटा र अधिकारीको सम्पर्क नै थिएन। बाँस्कोटाले सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेपछि त्यसबेलाकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीका कामको विषयमा ‘रिपोटिङ’ गर्न मन्त्रालय धाउन थालेदेखि नै बाँस्कोटा र अधिकारीको हिमचिम बाक्लिएको टेलिकमकै अधिकारीहरु बताउँछन्।

चुनौतिका चाङ

टेलिकमको बजार र गुणस्तर सुधार गर्न नसकेको, भेण्डरहरुको प्रभावमा परेको, फोर–जी सेवा विस्तारमा ढिलाइ गरेको र चालु आयोजना कार्यन्वयनमा असक्षमता देखाएको जस्ता कारण देखाएर सरकारले राजभण्डारीलाई प्रबन्ध निर्देशकबाट बर्खास्त गरेको थियो। राजभण्डारीलाई बर्खास्त गर्दा औल्याइएको कमजोरी नै अधिकारीका लागि चुनौति हुन्।

दशौं तहमा रहेर प्रबन्ध निर्देशकको प्राविधिक सल्लाहकारको भूमिकामा काम गरिरहेका अधिकारी एकाएक विशेष तहको जिम्मेवारीमा पुगेका छन्। टेलिकममा उनी सरह र उनीभन्दा माथिल्लो तहमा काम गर्ने कर्मचारी नै करीब ६० जनाको हाराहारीमा छ। उनीहरुलाई विश्वासमा लिएर काम गर्नु अधिकारीको मूख्य चुनौति मध्येको एक हो। 

टेलिकमका चालु आयोजना र कार्यन्वयमा ल्याउन लागिएका अन्य परियोजनाले नै अधिकारीको सक्षमता परीक्षण गर्ने सूचक हुन्। निकै महत्वकांक्षाका साथ ल्याइएको फोर–जी सेवा अहिले अलपत्र अवस्थामा छ। टेलिकमभन्दा निकै पछि फोर–जी सेवा सञ्चालनको अनुमति पाएको एनसेलले देशभरका २१ शहरहरुमा विस्तार गरिसकेको छ। तर, नेपाल टेलिकमले भने काठमाडौं र पोखरा बाहेक अन्यत्र फोर–जी सेवा दिन सकेको छैन।

फोर–जी सेवा विस्तारका लागि करिब २० अर्ब रुपैयाँको टेण्डर अवार्ड हुने अवस्थामा छ। यही परियोजनाका बारेमा अख्तियारमा उजुरी परेपछि अख्तियारले फोर–जीका बारेमा सबै निर्णय अधिकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई दिएको छ। फाइबर टु द होम (एफटीटीएच) परियोजनामा पनि टेलिकमले प्रगति देखाउन सकेको छैन।

नेपाल टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामिण दूरसञ्चार विकास कोष बाट वित्तीय सहयोग लिने गरी सूचना महामार्गको पूर्वाधार विकास गर्ने जिम्मा पाएको छ। प्रदेश १, २ र ३ को मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण विस्तार गर्ने योजना अनुसार बोलपत्र आह्वान भई टेण्डर मूल्याङ्कनको चरणमा छ।

वार्षिक साढे ४५ अर्ब रुपैयाँ कारोबार गर्ने कम्पनीलाई कहिले सरकार त कहिले अख्तियारको गोलचक्करमा फसिरहेको हुन्छ। भेण्डरहरुको चलखेलले पनि प्रबन्ध निर्देशकलाई तनाव थपिरहेको हुन्छ।

खस्कँदो आम्दानी

नेपाल सरकारको ९१.४९ प्रतिशत, नागरिक लगानी कोषको ०.०३ प्रतिशत र सर्वसाधारणको ८.४८ प्रतिशत शेयर रहेको टेलिकमको व्यवस्थानप ठूला ठेक्काहरुमा खेलोफड्को र कमिशनको गोलचक्करमा फस्दा बजार हिस्सा भने हरेक वर्ष ओरालो लागिरहेको देखिन्छ। आर्थिक वर्ष २०७३/७४ मा ४० अर्ब ३१ करोड सञ्चालन आय गरेको टेलिकमले २०७४/७५ मा ३९ अर्ब ४४ करोड मात्रै कमाउन सक्यो।

टेलिकमको आम्दानीको सबैभन्दा ठूलो हिस्सा रहेको अन्तर्राष्ट्रिय कलको आम्दानी पनि निरन्तर ओरालो लागिरहेको छ। गत वर्षमा मात्रै टेलिकमको अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानी ७८ करोड ४९ लाख रुपैयाँ घटेको छ।

सरकारलाई सबैभन्दा धेरै कर तिर्ने कम्पनी मध्येमा पर्छ नेपाल टेलिकम। टेलिकमको आम्दानी घट्दा त्यसको सोझो असर सरकारको राजश्व खातामा पर्छ। क्रमशः बजार हिस्सा गुमाइरहेको टेलिकमको थप क्षयिककरण रोक्नु नव नियुक्त एमडीको प्रमुख चुनौती हो।

के भन्छन अधिकारी?

खुल्ला प्रतिस्पर्धामा आफूभन्दा सिनियरलाई पछि पार्दै टेलिकमको कमान जिम्मा लिएका अधिकारी सबै कर्मचारीलाई विश्वासमा लिएर काम गर्ने बताउँछन्।

‘टेलिकममा सिनियर कर्मचारीको प्रशस्त ज्ञान र अनुभवको भण्डार छ। उहाँहरुको ज्ञान र अनुभवलाई सँगसँगै लिएर अगाडि बढ्छु’, अधिकारीले भने, ‘संस्थाको प्रगतिको लागि टीम–वर्क नै महत्वपूर्ण कुरा हो। मेरा लागि चुनौतिभन्दा अवसर धेरै छन्। त्यसको सही सदुपयोग गर्छु।’

अधिकारीले आफ्नो कार्यकालको पहिलो प्राथमिकता फोर–जी सेवाको देशव्यापी विस्तारलाई राखेका छन्। त्यससँगै, थ्रीजी र टुजी सेवाको स्तरोन्नति पनि गर्दै लैजाने उनले बताए।

‘टेलिकमको व्यवसाय र नेटवर्क कभरेज प्रभावकारी बनाएर देशकै ठूलो पहिलो दूरसञ्चार कम्पनीको रुपमा स्थापित गरिरहने सबै प्रयास केन्द्रित गर्छु’, अधिकारीले भने, ‘सरकारले लिएको समृद्धिको योजनालाई सफल बनाउन सूचना प्रविधिको क्षेत्रमा नेपाल टेलिकमबाट गर्न सकिने सबै योगदानमा केन्द्रित हुनेछु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell