PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्काविरुद्ध भष्ट्रचारको मुद्दा दायर, एटीएमबाट एक करोड ८० लाखको किनमेल



पहिलोपोस्ट

आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्काविरुद्ध भष्ट्रचारको मुद्दा दायर, एटीएमबाट एक करोड ८० लाखको किनमेल

काठमाडौँ: नेपाल आयल निगम लिमिटेडका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध १८ करोड ६६ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता सहसचिव रामेश्वर दंगालले जानकारी दिए। 

२०७१ माघ १४ गते मन्त्रिपरिषद्बाट खड्का निगमको कार्यकारी निर्देशकमा नियुक्त भए थिए।

खड्काले २०६९ साल चैतदेखि अहिलेसम्म पारिश्रमिकबाट ४० लाख ५७ हजार, जग्गा बिक्रीबाट ५८ लाख ७५ हजार, ऋण सापटीबाट ५ करोड ३३ लाख ३६ हजार, घर भाडाबाट १३ लाख ५६ हजार, जागिरबाट अवकाश हुँदा पाएको आर्थिक सुविधा पापत २९ लाख २२ हजार, पेन्सनबाट १४ लाख ७८ हजार, विप्रेषण आयबाट ८ लाख २६ हजार, गाडी बिक्रीबाट ३५ लाख, छोरा बुहारीको पारिश्रमिकबाट ११ लाख गरी जम्मा ७ करोड ४४ लाख ५६ हजार रुपैयाँका साथै सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०६९ चैतसम्ममा देखिएको विभिन्न शीर्षकको आय १ करोड २० लाख रुपैयाँसहित ८ करोड ६४ लाख ६९ हजार आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ।

अख्तियारको अनुसन्धानमा पुर्ख्यौली घर बाहेक नै ३ वटा घर निर्माण तथा खरिद गरिसकेको समेत भेटिएको छ। २ वटा घर खरिदका लागि आंशिक भुक्तानीसमेत दिइसकेको र काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानमा ११ कित्ता जग्गा खरिद गरेको समेत अख्तियारले फेला पारेको छ। 

उनले घरजग्गा खरिदमा ११ करोड ६१ लाख, विभिन्न कम्पनीको शेयर खरिदमा १ करोड ६ लाख, ऋणको सावाँब्याज भुक्तानीमा ४ करोड २२ लाख रुपैयाँ भेटिएको अख्तियारले जनाएको छ। यसैगरी व्यक्तिगत रूपमा दिएको सापटी १ करोड २५ लाख ६० हजार, विभिन्न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोग १ करोड१७ लाख ७५ हजार, छोराछोरीको अध्ययन र सामाजिक व्यवहारमा भएको खर्च २५ लाख, गाडी खरिदमा १ करोड १७ लाख रुपैयाँ पनि खर्च भएको अख्तियारले फेला पारेको छ। 

खड्काले विभिन्न बैंकका एटिएमबाट सुपरमार्केटहरूमा १ करोड ८० लाख १६ हजार रुपैयाँ खर्च गरेको पनि भेटिएको छ। विभिन्न ५५ वटाभन्दा बढी बैंक वित्तीय संस्था तथा सहकारीमा जम्मा २ करोड ७१ लाख ५३ हजारसमेत गरी २५ करोड २८ लाख भेट्टिएको छ। 

यसमध्ये उनको स्रोत खुलेको आय ८ करोड ६४ लाख ६९ हजार रुपैयाँ मात्र छ। १८ करोड ६६ लाख रुपैयाँको स्रोत खुलेको छैन। यसलाई अख्तियारले गैरकानूनी रूपमा आर्जन गरेको आरोप लगाएको छ। 

खड्काले आर्जन गरेको गैरकानूनी सम्पत्तिमध्ये अमिता लामा सोदेम्बा र आफ्नी श्रीमती शर्मिला खड्काको नाममा समेत लुकाएको आरोप अख्तियारको छ। अमिता लामा सोदेम्बाको नाममा जम्मा ७ करोड ५४ लाखको सम्पत्ति लुकाएको अख्तियारले फेला पारेको छ।

खड्काले सिजी डेभलपर्सले निर्माण गरेको हात्तिगौडास्थित सिजी हिल्समा ३ करोड २५ लाखमा घर खरिद गरेका छन्। यसैगरी बूढानीलकण्ठमा ४० लाख ११ हजारको ८ आना जग्गा खरीद गरेको पनि भेटिएको छ। ८४ लाख ४६ हजारमा टक्सन गाडीसमेत खरीद गरेका छन्। 

सिजी डेभलपर्सले निर्माण गरेको ३ करोड पाँच लाख रुपैयाँको हाउजिङ खरीद गरेको पनि भेटिएको छ। अमिता लामाको नाममा रहेको एनएमबी  बैंक र सिटिजन बैंकको खाताहरूबाट गोपालबहादुर खड्काले नै कारोबार गर्ने गरेकोसमेत भेटिएको छ। 

बुढानिलकण्ठमा रोडशो रियलस्टेट प्रालिले निर्माण गरेको घर खरिद गर्नको लागि बैना बापत ८९ लाख ८९ हजार भुक्तानी दिएकोसमेत भेटिएको छ। रोडशोले पत्रसहित यो रकम बराबरको गुड फर पेमेन्ट चेक अख्तियारमा दाखिला गरिदिएको हुँदा उक्त चेकको रकम जफत प्रयोजनका लागि दशीका रुपमा आरोपपत्र साथ अदालतमा पेश गरिएको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell