PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

रैथाने संगीत ब्युताउँने प्रयास : शिल्पीमा गुञ्जियो 'हाक्पारे'



पहिलोपोस्ट

रैथाने संगीत ब्युताउँने प्रयास : शिल्पीमा गुञ्जियो 'हाक्पारे'

काठमाडौं: आइतवार काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरको रंगमञ्चमा किराँत लिम्बुहरुमा प्रचलित गीत 'हाक्पारे' गुञ्जियो।

गायिका झुमा लिम्बु, मनु नेम्वाङ, दीपा सुहाङ र गायक लोकमान वनेमले तीन फरक शैलीका हाक्पारे गीत प्रस्तुत गरे। प्रस्तुतिमा उनीहरुलाई परम्परा ब्यान्डका शम्भु बानियाँ, पारसमणि सुवेदी, बुद्ध लामा र धर्म गन्धर्वले साथ दिएका थिए।

रैथाने संगीत समूहले आयोजना गरेको पहिलो संगीतिक कार्यक्रम अन्तर्गत हाक्पारे गीत प्रस्तुतिका साथै हाक्पारेबारे छलफल गरिएको थियो।

ताप्लेजुङका रैथाने हाक्पारे गायक लोकमान वनेमले हुरी बतास चल्दा मान्छेको मनमा अनेकौं कुराहरु खेल्ने भएकाले त्यो अवस्थालाई प्रस्तुत गर्न हाक्पारे गाउने चलन सुरु भएको कथन रहेको बताए। लिम्बु जातिको उत्पत्तिदेखि नै हाक्पारेको अस्तित्व भेटिएको भन्दै हाक्पारे गाउँदा पहिला सम्बोधन गर्ने, त्यसपछि विभिन्न ठाउँहरुमा भइरहेका कुराहरु प्रस्तुत हुने र अन्त्यमा माया पिरतीका कुरा आउने उनले बताए।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवंम मुन्दुमविद् बैरागी काइलाले हाक्पारे लिम्बू जातको जीवनजगत हेर्ने दृष्टिकोण भएको बताए। पुस्तौं देखि सुखदुखका कुरा गीतमार्फत प्रस्तुत गर्ने माध्यम हाक्पारे रहेको र त्यसले समुदायबीच साझा अनुभवहरु साट्न र आउने पुस्तालाई त्यसबाट सजिलो बनाउन लिम्बू जातिले ब्रह्माण्ड र सृष्टिको गीत गाउन थालेको बताए।


डोनाल्ड ट्रम्प र ब्रेक्जिटको उदाहरण दिँदै काँइलाले समय 'ग्लोबलाइज्ड' भएपनि मानिसहरुले 'लोकललाइजेसन' को कुरा गर्न थालेको बताए। नयाँ आधुनिक संगीत जति आएपनि त्यसको जरा रैथाने संगीत नै रहेको उनको तर्क थियो।  

काँइलाका अनुसार हाक्पारे टिकट काटेर व्यवसायिक रुपमा गाउँने गीत नभइ सामुहिक रुपमा सुखदुखको कुरा गर्दै मनको बह पोख्ने माध्यम हो। हाक्पारेमा जीवनशैली देखि मायाप्रेमसम्मको कुरा हुने भएता पनि यसको संगीतमा विरही सुनिनेमा विशेष रहस्य रहेको उनले बताए। भने, 'मानिस मरणशील प्राणी हो। हामीले गर्ने सबै काम चार दिनको कुरा हो। त्यही चेतले गर्दा हाम्रा गीत दुःखी छन्।'

कार्यक्रममा समाजशास्त्री डा चैतन्य सुब्बाले हाक्पारेसम्बन्धी शोधपत्र प्रस्तुत गरेका थिए। सुब्बाले हाक्पारे लिम्बु जातिको इतिहास झल्काउने सबै भन्दा पुरानो गीत रहेको बताउँदै भने,'ओडारबाट हाक्पारे गीत गाउने प्रचलन सुरु भएको विश्वास गरिन्छ। यसबाट हाक्पारे १० हजार वर्षभन्दा अगाडिदेखि गाउन सुरु भएको देखिन्छ। मुन्दुममा हाक्पारे शैलीको व्यापक प्रयोगबाट पनि यसको पुष्टि हुन्छ।'

शोधपत्र प्रस्तुत गर्दै सुब्बाले हाक्पारेमा जीवनलाई फूलसँग तुलना गरिएको बताए। उनले लिम्बु जातिमा शिशु जन्मिनु अघिदेखि मृत्युपछि सम्म हाक्पारे गाउँने प्रचलन रहेको भन्दै मानिसका छुट्टै फूल, युवायुवतीका छुट्टै फूलका वर्णन गीतमा पाइने बताए।

सुब्बाले लिम्बुहरुमा हाक्पारेलगायत सबै साम्लो जीवन्त रहेको तर सांस्कृतिक भूमण्डलीकरणको चपेटाबाट यसलाई बचाउन भने सजग रहनुपर्ने बेला आएको उनले बताए।  

रैथाने संगीत समूह सुरु गरेकी गायिका झुमा लिम्बुले यस्ता रैथाने संगीतहरुको संरक्षण र सम्बद्धनमा यो समूहले काम गर्ने बताइन्। हाक्पारे जस्तै रैथाने र लोक संगीतलाई जीवन्त बनाउका लागि तिनीहरुलाई ब्युताउँने आन्दोलन सुरु भएको उनको तर्क थियो।

 

कसरी सुरु भयो हाम्पारे?

लिम्बुहरुको सुखात्मक र दुःखात्मक अनुभूतिलाई लयात्मक स्वरमा दोहोरी, सामुहिक या एकल रुपमा गाइने गीत हो हाक्पारे। हाकपारेका सम्बन्धमा विभिन्न कथनहरु रहेका छन्।

तेह्रथुम जिल्लाको हाक्पारे गाउँबाट यो गीतको सुरुवात भएको विश्वास गरिन्छ। जिल्लाको एक भिरबाट  अर्को भिरसम्म बोलेर कुराकानी विस्तारै गीतका रुपान्तरण भएको कथन छ। व्यापारका लागि जाने क्रममा विभिन्न जिल्लाका मान्छेहरु हाक्पारे भन्ने स्थानमा जम्मा हुने र एक अर्काको सुखदुखको खबरका बारे प्रश्न गर्ने क्रमबाट यो गीत सुरु भएको विश्वास गरिन्छ। त्यही कुराकानी विस्तारै गीतमा रुपान्तरण भएको र त्यसलाई हाकपारे भन्ने गरिएको मान्यता रहेको छ। लिम्बु भाषामा 'हाक भनेको भिर र पारे भने बोल्नु' अर्थ जनाउने भएकाले पछि गएर यो हाकपारे बनेको बताइन्छ।

यस्तै येहाङ भन्ने राजाका पालामा यो गीत सुरु भएको कथनसमेत रहेको छ। आफ्नी छोरीको निधनमा दुखी भएका राजाले धेरै समय नबोलेकोका प्रजाहरु दुखी थिए। धेरै समयपछि राजा बोल्न थालेको र त्यसैको खुशीयालीमा प्रजाहरुले गीत गाउन सुरु गरेको विश्वास छ। हाङ भनेको राजा र पारे भनेको बोल्नु यसरी हाङ पारे पछि हाकपारे भएको जनविश्वाससमेत रहेको छ।

यद्यपि झुमा लिम्बुले भने राजाको कथन भन्दा हाक्पारे गाउँबाटै हाक्पारे गीत सुरु भएको विभिन्न अनुसन्धानहरुले देखाएको उल्लेख गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell