PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

जापानी परराष्ट्रमन्त्री काठमाडौंमा: जापानमा नेपाली कामदार पठाउन एमओयुमा हस्ताक्षर गर्ने सहमति



विधुर ढकाल

जापानी परराष्ट्रमन्त्री काठमाडौंमा: जापानमा नेपाली कामदार पठाउन एमओयुमा हस्ताक्षर गर्ने सहमति

काठमाडौं: नेपाल र जापानबीच जापानमा नेपाली कामदार पठाउने विषयमा शीघ्र समझदारीपत्र (एमओयु)मा हस्ताक्षर हुने भएको छ।

नेपाल भ्रमणमा रहेका जापानी परराष्ट्रमन्त्री तारो कोनो र नेपाली परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीबीच आज भएको द्विपक्षीय छलफलमा यस्तो सहमति भएको हो।

द्विपक्षीय छलफल पछि आयोजित पत्रकार सम्मेलनमा जापानमा नेपाली कामदार पठाउने विषयमा दुई देशबीच शीघ्र एमओयुमा हस्ताक्षर गर्ने विषयमा सहमति भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए।

दुई दिने नेपाल भ्रमणमा रहेका जापानी परराष्ट्रमन्त्री र नेपाली समकक्षीबीच भएको वार्तामा नेपालले जापानको संसदबाट हालै पास भएको कामदार भर्ना सम्बन्धी कानुनको स्वागत गर्दै नेपाललाई पनि कामदारको स्रोत देशको रुपमा राखेकोमा धन्यवाद दिएको थियो।

‘हामीले जापानको नयाँ अध्यागमन नीति अनुसार जापानमा कामदार पठाउने विषयमा आपसी धारणा राखेका छौँ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘मैले नेपाललाई स्रोत देशको रुपमा राखेकोमा जापान सरकारलाई धन्यवाद दिए। छिट्टै यससम्बन्धी साझेदारीका लागि एमओयुलाई टुंग्याउने सहमति भएको छ।’

परराष्ट्रमन्त्री ज्ञवालीले दुई साताको अन्तरालमा जापानी विदेशमन्त्रीसँग दुई पटक भेट भएको भन्दै छलफल सफल भएको जानकारी दिए।

मन्त्री ज्ञवाली केहीसमय अगाडि जापान भ्रमणबाट फर्किएका हुन्।

छलफलमा दुबै पक्षबीच आपसी समझदारी, क्षेत्रीय तथा विश्वव्यापि मुद्दाहरुमा फलदायी छलफल भएको मन्त्री ज्ञवालीले जानकारी दिए।

‘मैले नेपालको सामाजिक आर्थिक विकासमा जापान सरकारले पुराएको सहयोग प्रति धन्यवाद ज्ञापन गरे,’ उनले भने, ‘हामीले एउटा प्रमुख विकास साझेदार र लागनीकर्ता र पर्यटनको दृष्टिमा ठूलो साझेदार राष्ट्रको रुपमा जापानलाई लिएका छौँ।’

मन्त्री ज्ञवालीले नेपाल सरकारको विकास तथा समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यकोबारेमा जापानी समकक्षीलाई जानकारी गराएको बताए।

यसैबीच दुई देशबीच सीधा हवाई सेवालाई सञ्चालन गर्ने विषयमा भएको पुरानो समझादरीलाई संशोधन गर्ने सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ। सन् १९९३ मा दुई देशबीच हवाई सेवासम्बन्धी समझदारी भएको थियो।

यो सहमतिसँगै दुई देशबीच सिधा हवाई सम्पर्क स्थापनामा कोशेढुंगा सावित हुने उनले बताए।

त्यस्तै दुई देशबीच द्विपक्षीय परामर्स संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

छलफलका क्रममा नेपालमा जापानी लगानीमा सञ्चालित परियोजनाको विषयमासमेत छलफल भएको थियो। साथै नेपालमा लगानीको वातावरण तथा लगानीका क्षेत्रहरुको विषयमासमेत छलफल भएको मन्त्री ज्ञवालीले जानकारी दिए।

त्यस्तै नेपालले मार्चमा आयोजना गर्ने लगानी सम्मेलनमा जापनी लगानीकर्ता र उद्यमीहरुको सहभागिताका विषयमा छलफल भएको छ।

त्यस्तै नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउन लागेकोले दुबै देशबीच जापानी पर्यटक भित्राउने विषयमा मिलेर काम गर्ने विषयमा छलफल भएको मन्त्री ज्ञवालीले बताए।

उच्चस्तरीय भ्रमणमा जोड

यसैबीच दुबै देशबीच साझेदारी र सम्बन्धलाई थप उचाइमा पुर्‍याउनका लागि उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिने विषयमा जोड दिएका छन्।

दुई देशबीच गणतन्त्र स्थापनापछि उच्चस्तरीय भ्रमण हुन सकेको छैन्।

पछिल्लो पटक सन् १९९८ नोभेम्बरमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जापानको औपचारिक भ्रमण गरेका थिए। कोइराला गएको दुई वर्षपछि सन् २००० अगस्टमा योसिरो मोरीले नेपालको भ्रमण गरेका थिए।

त्यसयता दुई देशबीच उच्चस्तरीय भ्रमण हुन सकेको छैन।

नेपाल–जापान कुटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठ मनाउन सेप्टेम्बर २०१६ मा जापानका वरिष्ठ उप विदेशमन्त्री नेपाल आएका थिए। यो नै गणतन्त्र स्थापनापछि जापानबाट भएको नेपालको उच्चस्तरीय भ्रमण हो।

नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो।

यो पनि

जापानी विदेशमन्त्री नेपाल आउँदै, प्रधानमन्त्री ओलीको जापान भ्रमणको तयारी हुँदै



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell