PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

‘नवीन प्यासी’लाई साताको साहित्य पुरस्कार, यस्तो छ पुरस्कृत कविता



पहिलोपोस्ट

‘नवीन प्यासी’लाई साताको साहित्य पुरस्कार, यस्तो छ पुरस्कृत कविता

आँसुले बाटो छेक्नु अगावै

गइहाल्नू, एकैछिन पनि नउभिनू

 

जाँदाजाँदै बाटोहरूमा

आदिवासी ढुङ्गाहरू भेटिन सक्छन्

जथाभावी नकुल्चनू

ती मध्य कुनैकुनै देउराली हुन सक्छन्

जोसँग हिसाबकिताब हुनसक्छ

कसम खाएर पनि फर्की नआउनेहरूको,

पुरानो किल्लाबाट खसेका पर्खालका टुक्राहरू हुनसक्छन्

जो धेरै पहिले

दुश्मनको निधारमा बजारिएका थिए होलान्,

जोगाउँदै–जोगाउँदै जानू

 

जाँदाजाँदै बाटोहरूमा

खडेरीलाई छिचोलेर फुलेका फूलहरू हुन सक्छन्

नटिप्नू मन पर्यो भन्दैमा,

तीमध्ये कुनैकुनै भाइटिका कुरिरहेका सयपत्रीहरू हुनसक्छन्,

कठ्याङ्ग्रिदो जाडो पार गरेर फुलेका

कसैको चुल्ठो कुरिरहेका गुराँसहरू हुन सक्छन्,

बरु मुस्कुराउँदै–मुस्कुराउँदै जानू

 

कुहिरो पठाएर मौसमले तिमीलाई छल गर्न सक्छ

नआत्तिनू रत्तिभर पनि,

अँध्यारो पठाएर समयले तिमीलाई छल गर्न सक्छ

नडराउनू रत्तिभर पनि,

बरु पर्खनू, भोलि बिहान उदाउने घामलाई

जसले तिमीलाई गन्तव्य देखाउने छ

 

जाँदाजाँदै बाटोहरूमा

तिमीले चढ्नै नसक्ने उकालीहरू आउन सक्छन्,

तिमीले तर्नै नसक्ने नदीहरू आउन सक्छन्,

हताश नहुनू, धैर्य गर्नू

उकालीहरूमा सिँढीहरू भेटिन सक्छ,

नदीहरूमा डुङ्गाहरू भेटिन सक्छ

 

जाँदाजाँदै धेरै टाढा पुगेपनि

आफूले छाडेर आएको बाटो नबिर्सनू

 

एकदिन

तिमी सपनाको शहर पुग्नेछौ

जहाँ मान्छेहरू मान्छेजस्ता हुने छैनन्,

स्वार्थको खरिदबिक्री बजारमा भेटिनेछन् आफ्नाहरू, आफन्तहरू

ईश्वरहरूको थुप्रै कंकालहरू भेट्नेछौ

जसले डरको व्यापार गरिरहन्छ निर्दोष मष्तिष्कहरूमा

 

नवजात शिशुहरूलाई झाडीमा छाडेर हिँडेको

आमाहरू भेट्नेछौ,

नाबालिग छोरीको लागि ग्राहक खोज्दै हिँडेको

जंड्याहा बाहरू भेट्नेछौ

 

तेतिबेला हाम्रो याद आउन सक्छ तिमीलाई

यदि याद आयो भने

तिमीले क्यामेरामा बोकिलगेको हाम्रो हाँसो हेर्नू,

शहरमा त धर्मशालातिर मात्रै भेटिन्छन् रे बाआमा !

तेता कतै धर्मशाला जानू, अलिकति मुस्कान बोकेर जानू

उनीहरूको आँखामा आँसु देखिन सक्छ,

देखियो भने यदि सम्झनू, संवेदना अझै मरेको छैन ।

 

नवीन प्यासीको आशीर्वाद शीर्षकको यही कविताले यस वर्षको साताको साहित्य पुरस्कार जितेको छ। ‘साताकोसाहित्यडटकम’ मा अगष्ट २०१७ देखि जुलाई २०१८ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट तीन उत्कृष्ट रचनाहरू केही समयअघि सार्वजनिक गरिएका थिए जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा कवि बाबु त्रिपाठीको कविता ‘रोल्पाको रङ’ र कवि जीवन खत्रीको कविता ‘आमाको पटुका’ छानिएका थिए।

निर्णायकहरू (महेन्द्र पौडेल, सुजित सिग्देल, सञ्जिब पाण्डे, ऋषि आचार्य र निष्प्रभ सजी) ले बहुमतको आधारमा ‘आशीर्वाद’ कवितालाई चयन गरेका हुन्। लेखकले पुरस्कार स्वरुप नगद रु बीस हजार र ताम्रपत्र प्राप्त गर्नेछन्।

यसअघि साताको साहित्य पुरस्कार रविन्द्र समीर, रमेश सायन, मुकुन्द प्रयास, नवराज पराजुली, बोनम प्रताप र प्रोल्लास सिन्धुलीयका रचनाहरूलाई प्रदान गरिएको थियो। 

नवीन प्यासी ‘साताको साहित्य पुरस्कार’ प्राप्त गर्ने सातौं लेखक हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell