PahiloPost

Jun 17, 2019 | २ असार २०७६


प्रहरीले गोप्य राखेको निर्मलाको त्यो 'अटोजोमल एसटिआर रिपोर्ट' जसमा बलात्कारीको डिएनए देखिएन (#WhoKilledNirmala शृङ्खला १९)


पहिलोपोस्ट

प्रहरीले गोप्य राखेको निर्मलाको त्यो 'अटोजोमल एसटिआर रिपोर्ट' जसमा बलात्कारीको डिएनए देखिएन (#WhoKilledNirmala शृङ्खला १९)

  • उमेश श्रेष्ठ/सविन ढकाल -

‘निर्मलाको हत्यारा पत्ता लागिसक्यो, चाँडै नै सार्वजनिक गर्दैछौँ’, रक्षामन्त्री ईश्वर पोखरेलले मंसिर २२ गते ७० औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा सम्बोधन गर्दै गर्वका साथ भाषण गरे। 

उनले हत्यारालाई विधिसम्मत ढंगले सार्वजनिक गर्ने तर राजनीतिको ध्येय बोकेकाहरू छाता ओढाउन आउँछन् कि भन्ने डर भएको समेत बताए। 

त्यसअघि प्रहरीले काठमाडौँबाट पक्राउ परेका कञ्चनपुरका किशोर प्रदीप रावलले निर्मलाको बलात्कार र हत्या गरेको साबिती बयान दिइसकेको खबर लिक गर्दै प्रोपोगान्डा गरिसकेको थियो। 

सर्वसाधारण लगभग ढुक्क भइसकेका थिए, यस पटक भने प्रहरीले अपराधी पक्रियो।

पुस ३ गते नक्सालस्थित प्रहरी हेडक्वार्टरमा रहेको सचिवालयमा भेट्दा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल निराश देखिन्थे। उनले आफैले रावलको साबिती बयान हेरेको र बिना कुनै दबाब हत्या स्वीकारेको बताउँदै थिए।

‘तर डिएनए मिलिदिएन,’ उनले सुनाए।   

त्यतिबेलासम्म रावलको डिएनए रिपोर्ट सार्वजनिक भइसकेको थिएन। त्यसो त अहिलेसम्म पनि डिएनए रिपोर्ट म्याच नभएको औपचारिक खबर दिइएको छैन। तर डिएनए नमिलेपछि सार्वजनिक मुद्दाको अनुसन्धानका लागि थुनामा राखिएका उनी औपचारिक रुपमा यो केसमा अभियुक्त नबनाइकनै मुक्त भए।   

निर्मला प्रकरणको दोषी पत्ता लगाउन भइरहेको प्रहरी अनुसन्धान डिएनएको प्राविधिक विषयमा अल्झिएको छ।

प्रहरी एकपछि अर्कोलाई पक्रँदै डिएनए चेक गर्दै छाड्दै गर्दैछ। न प्रहरीले अभियुक्त ठहर गरेको व्यक्तिको डिएनए मिलेको छ, न स्थानीय बासिन्दाले इङ्गित गरेका व्यक्तिहरुको नै।

निर्मलाको भेजिनल स्वाबबाट निकालिएको नमूनाबाट १६ वटा वाइ एसटिआरका एलिलहरु निकालिएकोमा कसैको ८ वटा अङ्क मिलेको छ, कसैको पाँच वटा, कसैको त्यसभन्दा कम। 

प्रहरी पर्खाइमा छ, सबै अङ्क मिल्नेको। 

तर, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व निर्देशक जीवनप्रसाद रिजाल भन्छन्, '१६ मा १६ वटै एलिल अङ्क मिल्ने भेटिए पनि उही अपराधी हो भनेर शत् प्रतिशत किटान गर्न म सक्दिनँ।' 

फरेन्सिक एक्सपर्ट रिजाल किन यस्तो निश्कर्षमा पुगे त?

किनभने निर्मलाको भेजिनल स्वाबको एउटा विधिबाट (वाई एसटिआर) बाट परीक्षण गर्दा त त्यसमा पुरुष (बलात्कारी) को डिएनए भेटियो। तर, अर्को विधि (अटोजोमल एसटिआर) गर्दा भने त्यसमा पुरुष डिएनए भेटिएको छैन। 

गोप्य राखिएको अटोजोमल एसटिआर परीक्षण

निर्मलाको पोस्टमार्टम गर्ने क्रममा चिकित्सकहरुले उनको शरीरको बाहिरी, मध्य र भित्री भाग गरी तीन तहको भेजिनल स्वाबको स्याम्पल टेस्टट्युबमा राखेर दिएको थियो। 

यसलाई प्रहरीले महेन्द्रनगरदेखि धनगढीसम्म गाडीमा र त्यसपछि विमानबाट ल्याएर सामाखुसीस्थित आफ्नै ल्याब 'केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला'मा पठाएको थियो। 

प्रयोगशालामा त्यो स्याम्पलबाट वाई एसटिआर प्रोफाइलिङ भएको खबर त यसअघि आएको थियो। (पहिलोपोस्टले वाई एसटिआरको रिपोर्टसमेत प्रकाशित गरेको थियो। हेर्नुस्) तर, चिकित्सकहरुले भेजिनल स्वाबसँगै निर्मलाको रगतको नमूना पठाएको र भेजिनल स्वाबबाट अटोजोमल एसटिआरसमेत परीक्षण भदौ २४ गते नै गरेर रिपोर्ट दिइसकेको खबर भने हालसम्म गोप्य नै राखिएको थियो। 

किन आवश्यक?

संकलित भेजिनल स्वाब निर्मलाको हो कि हैन? सुरुदेखि नै विश्वासको संकट भोगिरहेको यो केसमा पछिल्लो समय यो प्रश्न पनि उठ्यो। 

'के थाहा, अर्कैको पठाएको हो कि?,'  हामीलाई महेन्द्रनगरमा यस्तो शंका सुनाउने धेरै थिए। स्वयं निर्मलाका बुबाले भेजिनल स्वाब निर्मलाकै हो कि होइन भनी आफू वा आमाको डिएनए परीक्षण गरी पुष्टि गर्नुपर्ने माग गरेका थिए। 

'पहिला त मेरी छोरीबाटै निकालिएको हो कि हैन भन्ने विश्वास मलाई दिलाउनु पर्‍यो। मलाई त पुलिस, प्रशासनले गरेको कुनै काममा विश्वास छैन,' जिल्ला प्रशासन कार्यालय अगाडि अनशन बसेका बेला उनले हामीलाई क्यामेरामा भनेका थिए। 


भेजिनल स्वाबमा संकलित नमूनाको अटोजोम एसटिआर परीक्षण निर्मलाका आमा वा बुबाको डिएनएसित परीक्षण गरेमा त्यो निर्मलाको शवबाटै संकलन गरिएको हो कि होइन भनेर प्रष्ट हुन्छ। 

यसैका लागि निर्मलाकी आमा दुर्गादेवी पन्तको रगतको नमूना केही समयअघि लिइएको थियो। यद्यपि, त्यसको रिपोर्ट भने सार्वजनिक भइसकेको छैन। 

तर, पहिलोपोस्टलाई प्राप्त नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाको ०७५/०७६-सिपिइएसआई-४०२-(डि)डिएनए-१० को एनेक्सचर एमा रहेको टेबलमा निर्मलाको भेजिनल स्वाबबाट संकलित तीनवटै नमूनाबाट निकालिएको अटोजोमल एसटिआर र मृतकको रगतको नमूनाबाट निकालिएको अटोजोमल एसटिआर समान देखाइएको छ। 

फरेन्सिक एक्सपर्ट रिजाल भन्छन्, 'यदि यो रिपोर्ट अनुसार सबै नमूना निर्मलाकै हो भने भेजिनल स्वाब निर्मलाकै हो भन्ने देखिन्छ।' 

निर्मलाकी आमाको रगतबाट निकालिएको डिएनएसित यसलाई म्याच गरेर पुनर्पुष्टि गर्न सकिन्छ। 

प्रहरीको परीक्षणमा शंका

नेपाल प्रहरीले आफैमाथि यति धेरै विश्वासको प्रश्न उठिरहँदा पनि संकलित भेजिनल स्वाबका तीन वटै नमूना र रगतको नमूनासमेत आफ्नै प्रयोगशालामा मात्र परीक्षण गरेको छ।  

भेजिनल स्वाबको परीक्षण गर्दा वाई एसटिआर परीक्षणमा पुरुषको डिएनए भेटिएको छ तर अटोजोमल परीक्षण गर्दा भने पुरुष डिएनए भेटिएको छैन। 

किन?

हामीले यो प्रश्न रिजाललाई गर्‍यौँ। उनले भने, ‘वाई एसटिआरमा पुरुषको डिएनए भेटिनुको मतलब 'मेल कन्ट्रिब्युटर' छ भन्ने हो। यदि वाई एसटिआर भेटिन्छ भने त्यो पुरुषको एक्स पनि पक्कै हुन्छ र त्यो अटोजोमल एसटिआरमा देखिनै पर्छ।'

फरेन्सिक एक्सपर्ट रिजालका अनुसार परीक्षण गरिएका १६ वटा जेनेटिक लोकस/मार्कर मध्ये बलात्कार भएको अवस्थामा कुनैमा ३ वा कुनैमा ४ अंक देखिनुपर्ने हो। यसले दुई जनाको मिक्स अप भएको देखाउँछ। अर्थात्, पुरुषको पनि डिएनए त्यसमा छ भन्ने देखिनुपर्ने हो। 

तर, अटोजोमल एसटिआर प्रोफाइलमा एउटा पनि जेनेटिक लोकस/मार्कर दुई भन्दा बढी देखिएको छैन। अर्थात्, त्यसमा निर्मलाको मात्रै डिएनए भेटिएको छ।

सेलिब्रिटी ओजे सिम्पसनलाई डबल मर्डर चार्ज लाग्दा उनले आफ्ना लागि बनाएको नामी वकिलहरुको एउटा समूहमा कन्सलट्यान्टको रुपमा काम गरेका डाक्टर डान क्रेनले पनि पहिलोपोस्टसितको इमेल कुराकानीमा पुरुष (बलात्कारी) को डिएनए त्यसमा भेटिनु पर्ने बताउँछन्। 

तर, उनी मेजर र माइनर कन्ट्रिब्युटरको रेसियो ५:१ भन्दा बढी भएको अवस्थामा व्याख्या गर्ने अनुभवी नभएमा यस्तो हुनसक्ने तर्फ सचेत पनि गराउँछन्। 

रिजाल पनि पीडित अर्थात् महिला डिएनए ओभर क्राउडेड हुनाले पीडक अर्थात् पुरुषको डिएनए खोज्न गाह्रो हुनेमा सहमत छन्। तर, थोरै भए पनि पुरुष डिएनए त्यसमा देखिनै पर्ने बताउँछन्। ‘यो केसमा अटोजोमल एसटिआरमा पनि मिक्स्चर हुनै पर्छ। अपराधीको पनि डिएनए देखिने गरी मिक्स्चर देखाउनै पर्छ,’ रिजाल बताउँछन्। 

प्रहरीको ल्याबमा अनुभवी एक्सपर्टको कमी भएका कारण पनि यो नदेखिएको हुनसक्ने शंका गर्दै रिजाल भन्छन्, ‘अझै पनि इलेक्ट्रोफेरोग्रामको चार्टलाई माइन्युटली अध्ययन गर्नुपर्छ, पुरुष डिएनए देख्न सकिन्छ।'

उनी भन्छन्, ‘पुरुष डिएनए किन देखिएन, यसको विश्लेषण गर्न जरुरी छ।'

डाक्टरले पठाएको भेजिनल स्वाबलाई तीन वटा टेस्ट ट्युबमा 1O, 2M र 3H लेखी पठाइएको थियो। वाई एसटिआर गर्दा 1O अर्थात आउटरमा केही नभेटिए पनि अटोजोमल परीक्षणमा भने तीन वटै नमूनाबाट जेनेटिक लोकस/मार्कर निकालिएको छ। 

‘अब यो एक दुई जनाले मुखले भनेर हुने कुरा हैन। यसका लागि एक्सपर्टहरुको टिम नै गठन गरिनु पर्छ।' 
- जीवन रिजाल, पूर्व निर्देशक राष्ट्रिय विधि विज्ञान प्रयोगशाला
***

डिएनए परीक्षणमै शंका, अब के गर्न सकिन्छ?

अटोजोमल एसटिआर परीक्षणले प्रहरीको ल्याबमा गरिएको डिएनए परीक्षणमा फेरि शंका उब्जाइदिएको छ। यसअघि पनि प्रश्न उठेकै थियो -

पहिलो, प्रहरीले किन आफैमाथि त्यत्रो प्रश्न उठ्दा उठ्दै सबै नमूनाको परीक्षण आफ्नै ल्याबमा मात्र गर्योप? किन खुमलटारस्थित स्वतन्त्र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएन?

दोस्रो, प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको छैन। किन प्रहरीले १६ वटा मात्र ह्याप्लोटाइपहरु (एसटिआर लोकी) परीक्षण हुने आफ्नै ल्याबमा मात्र परीक्षण गरी २५ वटासम्म हुने स्वतन्त्र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा नमूना पठाएन?

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनए प्रमुख दिनेशकुमार झाका अनुसार जति धेरै ह्याप्लोटाइपहरु (एसटिआर लोकी) को नम्बर निकालिन्छ, त्यति डिएनए प्रोफाइलिङ स्पष्ट हुन्छ। अर्थात्, जति बढी एसटिआर लोकीको परीक्षण गरिन्छ, त्यति विश्वसनीय हुन्छ। 

कति वटा एसटिआर लोकीको परीक्षण गर्ने हो, त्यसको देश अनुसार मापदण्ड फरक हुन्छ। तर, अन्तर्राष्ट्रिय मापदण्ड २० वटालाई मान्ने प्रचलन छ।

अमेरिकाको एफबिआईले पनि सन् २०१७ को जनवरी १ देखि कम्तिमा २० वटा हुनुपर्ने गाइडलाइन्स बनाएको छ। 

तर, नेपाल प्रहरीको ल्याबमा पुरानो मापदण्ड अनुसार १६ वटाको मात्रै परीक्षण हुने गरेको छ। अन्तर्राष्ट्रिय रुपमा हाल प्रचलनमा रहेको नयाँ मापदण्ड अनुसार डिएनए प्रोफाइलिङका लागि वाई एसटिआरको  1D1S1656, 2D2S441, 2D2S1338, SD10S1248, SD12S391, SD19S433, र SD22S1045 को परीक्षण प्रहरीको ल्याबमा भएको देखिँदैन। 

तेस्रो, वाई एसटिआरमा पुरुष डिएनए देखिसकेपछि अटोजोमल एसटिआरमा १६ वटै जेनेटिक लोकस/मार्करमा किन पुरुषको डिएनए मिक्सअप भएको देखिएन?

अटोजोमल एसटिआरमा मिक्सको नमूना। हाइ पिक महिलाको डिएनए हो भने लो पिक पुरुषको। निर्मलाको अटोजोमल एसटिआरमा पुरुषको देखिएको छैन। 

के प्रहरीको ल्याबमा विज्ञको अभाव हो?

केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रमुख एसपी राकेश सिंहलाई हामीले यसबारे सोध्दा उनी बोल्न तयार भएनन्। भने, 'प्रवक्तालाई सोध्नुस्। सबै कुराको जानकारी उहाँले नै दिनुहुन्छ।'

हामीले प्रवक्ता एसएसपी उत्तमराज सुवेदीलाई सोध्यौँ, के निर्मलाको भेजिनल स्वाबको अटोजोमल एसटिआर पनि परीक्षण गरिएको हो? त्यसमा पुरुष डिएनए किन भेटिएन? 

उनले भने, ‘यो प्राविधिक विषय पर्‍यो। मलाई यसबारे खासै जानकारी भएन। मैले पनि सोध्नै पर्छ।'

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नभएको प्रहरीकै ल्याबमा मात्र निर्मलाको भेजिनल स्वाब र रगतका नमूना किन परीक्षण गरियो भन्ने प्रश्नको जवाफमा उनले भने, ‘प्रहरीको ल्याबमा परीक्षण गर्नु बेठीक हो भनेर सुरुदेखि नै भनिएको भए हामी त्यहाँ गर्दैन थियौं होला। निर्मलाकोमा मात्र यस्तो प्रश्न उठाइयो। हामीले पहिलेदेखि चलिआएको अभ्यास अन्तर्गत आफ्नै ल्याबमा परीक्षण गरेका हौं।'

डिएनए परीक्षणको विधिमा नै शंका उब्जिएको अवस्थामा अब यो शंका हटाउने उपाय के छ त?

रिजाल भन्छन्, ‘अब यो एक दुई जनाले मुखले भनेर हुने कुरा हैन। यसका लागि एक्सपर्टहरुको टिम नै गठन गरिनु पर्छ।'

रिजाललाई हामीले पहिलो पटक भेट्दा उनी इलेक्ट्रोफेरोग्राम चार्टलाई विज्ञहरुको समूहले विश्लेषण गर्न सकिन्छ भन्थे। यस पटक भने उनले भने, ‘म आफ्नो बोली फेर्छु। पहिले मैले विश्लेषण गर्न सकिन्छ भनेको थिएँ। अब म भन्छु- विश्लेषण गर्नुपर्छ।' 

उनका अनुसार इलेक्ट्रोफेरोग्राम चार्ट बन्नुभन्दा अघिका डाटा निकालेर विश्वका टप डिएनए एक्सपर्टहरुलाई विश्लेषणका लागि पठाउन सकिन्छ। 

रिजाल भन्छन्, ‘यो गाह्रो कुरा हैन। इच्छाशक्ति भए सम्भव छ। र, डाटाहरुलाई मेलबाट पठाउन र एक्सपर्टहरुको राय बुझ्न सकिन्छ।'

र, डाटाहरु बिगार्न नसकिने भएकोले डिएनएबारे उब्जिएका शंका यसरी निवारण गर्न सकिने उनको राय छ। 

डिएनएमा उठेको शंकालाई पहिले निवारण गर्नुपर्ने र त्यसपछि प्राप्त अन्य विकल्पहरुबाट पहिले गरिएका अनुसन्धानहरुलाई पनि एकीकृत गर्दै थप अनुसन्धान गरेमा मात्रै निर्मला प्रकरणमा थप अघि बढ्न सकिन्छ। नभए डिएनएको मात्र गोलचक्करमा यो अनुसन्धान घुमेको घुम्यै हुनेछ। 
 

#WhoKilledNirmala शृङ्खला  

विगत : निर्मला प्रकरणले सम्झाएको त्यो हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि
शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन 
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' 
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु 
शृङ्खला १२: निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? 
शृङ्खला १३: निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा 
शृङ्खला १४: Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, 'प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन' 
शृङ्खला १५ : चोरीका आरोपीलाई बलात्कारको 'दोष' : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च? 
शृङ्खला १६ : निर्मला प्रकरणमा युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै 
शृङ्खला १७ : विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव
शृङ्खला १८ : को थिए ती तीन युवती जो एसपीका छोरासँगै होटल ओपेरामा देखिए?



प्रहरीले गोप्य राखेको निर्मलाको त्यो 'अटोजोमल एसटिआर रिपोर्ट' जसमा बलात्कारीको डिएनए देखिएन (#WhoKilledNirmala शृङ्खला १९) को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट