.jpg)
काठमाडौँ : सार्वजनिक सवारी साधनभित्र एक पुरुषले अश्लील क्रियाकलाप गरिरहेका भिडियोहरु सार्वजनिक भएपछि यतिबेला सामाजिक सञ्जालमा आक्रोश फैलिएको छ।
महानगरीय अपराध महाशाखाको टोलीले पुरुषको खोजी सुरु गरिसकेको बताउँदै केही जानकारी भए सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
के छ भिडियोमा ?
एउटा भिडियो २ मिनेट २० सेकेन्डको छ। तीन महिना अगाडि नै अश्लील भिडियो राख्ने वेबसाइटमा यसलाई राखिएको भए पनि पछिल्लो समय फेसबुक ग्रुपहरुमा यो भाइरल हुन पुग्यो।
भिडियोमा ‘यो गाडी उताबाट जान्छ नि’, ‘हिँड्नै मन लागेको छैन। अघि त डल्लु पुलबाट गाडी चढेको‘, ‘यो गाडी टेकु जान्छ है?’ भनेको आवाज सुनिन्छ।
गाडी चलेको हुँदैन। भिडियोमा केटाको अनुहार देखिएको हुँदैन तर ज्याकेट र खैरो ट्राउजरमा चप्पल लगाएको देखिन्छ।
गाडीभित्र बसेका ती युवक अश्लील हर्कत गर्दै हस्तमैथुन गरी वीर्यपतन गरिरहेको देखिन्छ।
दोस्रो र तेस्रो भिडियोमा युवकको हर्कत त्योभन्दा बढी देखिन्छ। एउटा भिडियोमा उनले आफूभन्दा अगाडिको सिटमा बसेकी युवतीको टाउकोतिर लक्षित गरी वीर्य झार्छन्।
अर्को भिडियोमा त झन् युवतीको कपालमा नै पर्ने गरी वीर्य फालेको देखिन्छ।
ती युवक को हुन्? सार्वजनिक सवारीमा यस्तो अश्लील क्रियाकलाप गर्दा किन कसैले केही कारबाही गरेन? एउटा भिडियोमा यात्रुले चाल पाएको झैँ पनि देखिन्छ। तर पनि उनले कुनै कदम चाल्दिनन्।
महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले अनुसन्धान सुरु भइसकेको बताए। उनले भने,’ भिडियो हेर्यौँ। तर को हो? गाडी कहाँको खुलेको छैन। हामी अनुसन्धान गरिरहेका छौँ। सार्वजनिक सवारीमा यस्तो गतिविधि गर्ने जो भए पनि कारबाहीको दायरामा आउँछ।‘
महिलालाई दुर्व्यवहार गर्ने नियतले सार्वजनिक सवारी साधन चढ्नेहरूलाई कारबाहीको दायरामा ल्याउन प्रहरीले केही अघि उपत्यकामा सेफ्टी पिन स्टिङ अपरेसन सञ्चालन गरेको थियो।
सुरुका दिनमा चर्चाको लागि प्रहरीले सार्वजनिक सवारीमा दुर्व्यवहार गर्ने मानिसलाई नियन्त्रणमा कारबाही गरेको थियो।
मुलुकी अपराध संहिता अनुसार सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन तथा कसैलाई अश्लील गालीगलौज गर्न निषेध गरेको छ। १० वर्षभन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सा सम्बन्धी उपचार प्रयोजनका लागि बाहेक सार्वजनिक स्थानमा अश्लिल कृयाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन तथा अश्लील इशारा गर्न पनि नहुने ऐनमा उल्लेख छ।
यस्तो कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
अपराध महाशाखाले सार्वजनिक बसभित्र यस्तो कुकृत्य गर्नेबारे केही जानकारी भए नेपाल प्रहरीको १०० वा महाशाखाको ९८५१२८३०३२ मा सम्पर्क गर्न अनुरोध गरेको छ।