PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

गोरखकाली रबर उद्योगका कर्मचारीलाई अनिवार्य अवकाश दिने सरकारको निर्णय



पहिलोपोस्ट

गोरखकाली रबर उद्योगका कर्मचारीलाई अनिवार्य अवकाश दिने सरकारको निर्णय
फाइल फोटो

काठमाडौः सरकारले गोरखकाली रबर उद्योगका सम्पूर्ण कर्मचारीलाई अनिवार्य अवकाश दिने निर्णय गरेको छ। लामो समयदेखि बन्द उद्योगका सम्पूर्ण कर्मचारीलाई अवकाश दिने निर्णय पछिल्लो मन्त्रिपरिषदको बैठकले गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

नयाँ व्यवस्थापनका साथ उद्योग सञ्चालनका लागि तयारी भइरहेको पनि मन्त्री बास्कोटाले बताए। बास्कोटाले उद्योगका कर्मचारीले बुझाउनुपर्ने जिन्सी, नगद तथा कागजात फरफारक गरेपछि अवकाश पाउने कर्मचारीलाई सेवा सुविधा दिएर बिदा दिने निर्णय गरेको जानकारी दिए।

 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले करिब एक महिनाअघि उद्योग बन्द गरी मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो। यो सरकारी संस्थानमा विभिन्न तहका २ सय ४७ जना कर्मचारी कार्यरत छन्।

 

उद्योगका कर्मचारीलाई बिदा गर्न करिब एक अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उद्योग ०७१ चैतदेखि पूर्णरुपमा बन्द छ। उद्योग बन्द भएपछि कर्मचारीको काम हाजिरी गर्दै घर फर्किने भएको छ। उद्योगमा कार्यरत कर्मचारीलाई तलब खुवाउन समयमै रकम निकासा नहुँदा उद्योग मन्त्रालय र उद्योगका कर्मचारीबीच समयसमयमा विवाद पनि हुने गरेको छ।

 

उद्योगले २४ घण्टा सञ्चालन भए ६२४ थान ट्रक टायर र ननट्रक टायर उत्पादन गर्ने क्षमता राख्छ। उद्योगमा सरकारको ३८.६३ प्रतिशत शेयर स्वामित्व छ। आर्थिक वर्ष २०७२/०७३ सम्ममा उद्योगको सञ्चित नोक्सान १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। यस्तै सरकारलाई तिर्नुपर्ने साँवा ८२ करोड र ब्याज २६ करोड ८५ लाख रुपैयाँ छ।

 

यस्तै उद्योगले विभिन्न बैंक तथा वित्तीय संस्थालाई बुझाउनु पर्ने साँवा १८ करोड ३२ लाख र ब्याज १५ करोड ५९ लाख रुपैयाँ छ। सरकारले उद्योगले विभिन्न समयमा गरेको नाफाबाट १५ करोड ४६ लाख रुपैयाँ लाभांश लिन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell