PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

स्वीटजरल्यान्डमा प्रम ओलीले गरे लगानी सम्मेलन सफल बनाउन आह्वान



रासस

स्वीटजरल्यान्डमा प्रम ओलीले गरे लगानी सम्मेलन सफल बनाउन आह्वान
फाइल फोटो

  • तीर्थप्रसाद भटृराई - 

जुरिच : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सकारात्मक बाटामा अगाडि बढेकाले प्रवासी नेपाली जनतालाई अलमलमा नपर्न र विदेशी मित्रलाई नेपालप्रति पूर्वाग्रही नहुन आग्रह गरेका छन्।

जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नियोगका लागि स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले यहाँ आयोजना गरेको स्वागत समारोहमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले आगामी चैत १५–१६ मा काठमाडौंमा हुने लगानी सम्मेलनमा सहभागी भई सफल पार्न विदेशी लगानीकर्तालाई आग्रह गरे। 

नेपालले हिंसा समाप्त गरेको, हतियार र लडाकू व्यवस्थापन गरेको, हिंसाको नीति परित्याग गरेको र गणतन्त्रतर्फ गई असाधारण उपलब्धि हासिल गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘नेपाली जनताले राजनीतिक अधिकार मात्र नभई आर्थिक तथा सामाजिक अधिकार पनि पाएका छन्, नेपालको संविधान श्रेष्ठ छ, उत्कृष्ट छ र आवश्यकताअनुसार परिमार्जन हुनसक्छ।’ उनले मुलुकको आवश्यकता, गन्तव्य तथा नेपाली जनताको अठोटका विषयमा विश्व आर्थिक मञ्चमा जानकारी दिन आफू डाभोस आएको जानकारी पनि दिए। 

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वागत गर्दै राजदूत दीपक धितालले गतिशील नेतृत्वमा नेपाल अगाडि बढिरहेको र डाभोसमा पनि नेपालले राजनीतिक समस्या समाधान गरी समृद्विको बाटामा हिँड्न चाहेको सन्देश दिएको बताए। 

एनआरएन स्वीट्जरल्याण्डका अध्यक्ष भूमि गुरुङले स्वीट्जरल्याण्डमा करीब चार सय नेपाली रहेको र तिनीहरु रेष्टुरेण्ट, पर्यटन व्यवसाय, चिकित्सा, इञ्जिनियरिङ तथा बैङ्किङ क्षेत्रमा कार्यरत रहेको जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell