PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

सार्वजनिक सवारीमा अश्लिल क्रियाकलाप: प्रहरीको 'सेफ्टी पिन स्टिङ अपरेसन’ले के गर्दैछ?



सविन ढकाल

सार्वजनिक सवारीमा अश्लिल क्रियाकलाप: प्रहरीको 'सेफ्टी पिन स्टिङ अपरेसन’ले के गर्दैछ?

काठमाडौं : सार्वजनिक सवारी साधनभित्र एक पुरुषले अश्लील क्रियाकलाप गरिरहेका भिडियोहरू सार्वजनिक भएपछि यति बेला सामाजिक सञ्जालमा आक्रोश फैलिएको छ। 

तर, सार्वजनिक सवारी साधनभित्र नै अश्लील क्रियाकलाप गर्ने युवक को थिए भन्ने अझै पत्ता लाग्न सकेको छैन। उक्त व्यक्तिको पहिचान नै नखुलेपछि कारबाहीको दायरमा आउने त कुरै भएन। तर, महानगरीय अपराध महाशाखाको टोलीले पुरुषको खोजी सुरु गरिसकेको छ। गाडीको पहिचान भइसकेको छ।

पढ्नुस् : सोसल मिडियामा भाइरल बस काण्ड : प्रहरीले अश्लील हर्कत गर्ने युवकको खोजी थाल्यो

यो त एउटा प्रतिनिधि घटना मात्र हो। राजधानीमा सार्वजनिक सवारीमा यात्रा गर्ने महिला तथा युवतीहरू यस्ताखाले दुर्व्यवहारमा पहिलेदेखि नै पर्दे आएका छन्। भिडभाडको मौका छोपी दुर्व्यवहार गर्नेहरु घटेका छैनन्। दैनिक सार्वजनिक सवारीमा यात्रा गर्ने आरती भट्टराई सुनाउँछिन्, ‘भिडभाडमा जानी जानी टाँसिन खोज्छन्। बसको रड समाएर उभ्भिनुपर्दा हातमा छुने र समाउने गर्छन्।‘ 

महिलालाई दुर्व्यवहार गर्ने नियतले सार्वजनिक सवारी साधन चढ्नेहरूलाई कारबाहीको दायरामा ल्याउन प्रहरीले उपत्यकामा सञ्चालन गरेको सेफ्टी पिन स्टिङ अपरेसन त चलाएको छ। तर, पनि सार्वजनिक सवारीमा दुर्व्यवहारको सिकार हुनेक्रम रोकिएको छैन। 

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमामात्र उपत्यका भित्रका तीन जिल्लामा १ सय १६ जनालाई पक्राउ परेका छन्। तीमध्ये ३२ जनालाई महिला दुर्व्यवहारको कारबाही चलाइएको छ। सार्वजनिक सवारीमा महिला माथि हुने दुर्व्यवहार बढेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीकी एसएसपी पूजा सिंह बताउँछिन्। भन्छिन्, ‘सङख्याले दुर्व्यवहार बढेको देखाउँछ तर यो मानिसमा आएको चेतना हो। अहिले केही महिलाले प्रतिकार गर्न थाल्नु भएको छ।‘

पक्राउ परेका मध्ये ३२ जनालाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको छ। ८३ जनालाई सम्झाई बुझाइ आफन्त तथा परिवारको जिम्मा लगाएको एसएसपी सिंहले जानकारी दिइन्। १७ जनाले सार्वजनिक सवारीमा अश्लील हर्कत गरेको, ३२ जनाले शारीरिक यौनजन्य दुर्व्यवहार गरेको पाइएको छ। सार्वजनिक सवारीमा अपशब्द बोल्ने, गाली गलौज गर्ने पनि कारबाहीको दायरमा आएका छन्।

प्रहरीले सवारी साधनमा महिलामाथि हुने दुर्व्यवहारलाई नियन्त्रण गर्न उपत्यकाका तीन जिल्लाहरूमा सय जना प्रहरी सादा पोसाकमा परिचालन गरेको छ। उनीहरू सार्वजनिक सवारीमा चढ्छन् कुनै क्रियाकलाप भएको जानकारी पाए वा खबर गर्ने बित्तिकै नियन्त्रणमा लिन्छन्।

‘हामीलाई यात्रुहरूको साथ पनि चाहिन्छ। उहाँहरूले पनि प्रहरीमा उजुरी गर्ने जानकारी गर्ने भयो भने अझ प्रभावकारी हुन्थ्यो,’ एसएसपी सिंहले भनिन्। 

उपत्यकाभित्रका कालिमाटी, कोटेश्वर, कलङ्की, बसपार्क, जाउलाखेल, भक्तपुर लगायतका स्थानमा महिलामाथि बढी दुर्व्यवहार हुने गरेको प्रहरीको दाबी छ। तीन जिल्ला मध्ये काठमाडौँमा सबैभन्दा बढी यस्ता गतिविधि हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ।

अफिस समय र भिडभाड भएका गाडीमा महिला दुर्व्यवहार बढी भएको पाइन्छ। अश्लील क्रियाकलाप भने खाली भाडी भएकोमा हुने गरेको प्रहरीले जनाएको छ। महिलाले उजुरी दिए उजुरी दिनेको नाम गोप्य रहने भएकाले प्रहरीलाई सहयोग गर्न एसएसपी सिंह आग्रह गर्छिन्।

 

कसरी बच्ने?
सार्वजनिक सवारीमा महिलालाई हुने दुर्व्यवहारबाट बच्न प्रहरीले विभिन्न सुरक्षाको कक्षाहरू दिइरहेको छ। १५ वर्षदेखि २५ वर्ष उमेर समूहका युवतीहरूलाई विशेष प्राथमिकतामा राखेर कक्षा दिने गरेको एसएसपी सिंह बताउँछिन्। ‘यो उमेरमा आफू माथि हुने दुर्व्यवहार र यसको प्रतिकार र अपराधबाट कसरी बच्ने भन्ने कक्षा दिने गरेका छौं,‘ उनले भनिन्।

सार्वजनिक सवारीमा हुने दुर्व्यवहारबाट बच्न सबैभन्दा पहिले प्रतिकार नै गर्नुपर्ने उनको तर्क छ। ‘पहिले प्रतिकार गर्नुहोस्। प्रतिकार गर्दा सवारीमा भएका अन्य मानिसले पनि साथ दिनेछन्। त्यसपछि प्रहरीलाई खबर गर्नुहोला,’ उनले भनिन्।

 

प्रहरीको मोबाइलमा म्यासेज गर्नुहोस्
तपाईँ माथि कुनै दुर्व्यवहार भयो। अपराधी गतिविधि भएका छन्। फोन गर्दा अपराधी वा कसैले थाहा पाउने अवस्था छ। यदि यस्तो छ भने तपाईँले म्यासेज गरेर पनि प्रहरीलाई जानकारी दिन सक्नुहुनेछ। आफ्नो मोबाइलमा गएर १०० मा गएर म्यासेज गर्नुहोस्।

प्रहरीलाई म्यासेज गरे १० मिनेट भित्रमा प्रहरी घटनास्थलमा आइपुग्ने एसएसपी सिंह बताउँछिन्। ‘सार्वजनिक सवारी साधनमा दुर्व्यवहार भयो। तर प्रतिकार गर्ने अवस्था छैन। कसैले थाहा नपाउने गरी ठाउँ, गाडी नम्बर लेखेर म्यासेज गरे हाम्रो टिम पुग्छ,‘ उनले भनिन्।

गत मङ्सिर १ गतेबाट प्रहरीले म्यासेज सेवा सञ्चालनमा ल्याएको हो। महानगरीय प्रहरी कार्यालयमा अहिले दैनिक ३० देखि ३५ वटा म्यासेज आउने गरेको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell