PahiloPost

Jun 27, 2019 | १२ असार २०७६


जब निर्मलाको हत्यामा 'क्लु' खोजिरहेको प्रहरीसामु आफै 'क्लु' आइपुग्यो (#WhoKilledNirmala शृङ्खला २०)


पहिलोपोस्ट

जब निर्मलाको हत्यामा 'क्लु' खोजिरहेको प्रहरीसामु आफै 'क्लु' आइपुग्यो (#WhoKilledNirmala शृङ्खला २०)

  • उमेश श्रेष्ठ/सविन ढकाल -

ढक! ढक!

भदौ २ गते मध्य रातमा होटल ओपेराको एउटा कोठामा दुई प्रहरीले ढोका ढकढकाए।

काठमाडौँबाट कञ्चनपुर खटिएका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी अंगुर जिसी कोठाभित्र थिए।  

‘सर, निर्मलाको हत्यारा गरेको हुँ भन्ने मान्छे फेला पर्‍यो,' ढोका खोल्ने बित्तिकै हड्बडाउँदै एक जनाले भने। 

‘धत् मुला, कुन चाहिँ पागल उठायौ फेरि,’ उनले जवाफ फर्काए। हुन पनि हो, केही अघिमात्र कैलालीका जीवन घर्ती मगरले प्रहरी सामु स्वीकारेका थिए निर्मलाको हत्या आफूले नै गरेको भनेर। कसरी मारिस् भनेर सोध्दा जीवनले भनेको थियो - ‘हान्दिएँ नि। खुकुरी हानेर छप्काइदिएँ।‘ 

निर्मलाको शवमा खुकुरीको चोटको कुनै संकेत थिएन। हत्या स्वीकार गर्ने जीवन मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन् भन्ने चाल पाएपछि उनलाई छाडिएको थियो।  

विश्वास नगर्दा नगर्दै जिसीले होटलको कोठाबाटै मुद्दा शाखामा फोन गरेर सोधे - 'सई साप, भएको के हो?'

‘अँ, केटाहरुले उठाएर ल्याएका थिए,’ सईले पक्राउ परेका व्यक्तिले भनेको कुरा सर्सर्ती बताए, ‘निर्मलाको साथ २० रुपैयाँको नोट पनि थियो रे, उसले त्यो नोट निकालेर पान पसलमा किनेर खाएको कुरा गर्छ सर।‘

२० रुपैयाँ?

जिसीलाई २० रुपैयाँको कुराले 'क्लिक' गर्छ। किनभने रोशनी बमले चटपटे खाएको २० रुपैयाँ निर्मलालाई दिएर पठाएको उनलाई भनेका हुन्छन्। यो कुरा मुद्दा शाखाका मात्र हैन, अरु प्रहरीलाई पनि खासै थाहा हुँदैन।


उनी तत्काल प्रहरीको भ्यान मगाएर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरतिर लाग्छन्। 

*** 

निर्मलाको शव भेटिएको उखुबारी पारीको झ्याङ भएको ठाउँमा एक अधवैँशे पुरुष लौरो समातेर उभिएर बसेका थिए। 

पछाडिबाट हेडलाइट बाल्दै प्रहरीको गस्ती मोटरसाइकलमा आइरहेको थियो। 

रातको करिब साढे आठ बजे।

घटनास्थल नजिकै शंकास्पद व्यक्ति उभिएको देखेपछि उनीहरुले केरकार थाले। भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गरी बनेका पाँच वटा संहिता लागू भइसकेको थियो। अर्थात्, पक्राउ पूर्जी नभई कसैलाई पक्राउ गर्न नसकिने कानुन।  

त्यो रात भदौ २ गतेको थियो। त्यसैले घटनास्थलमा गएका प्रहरीले छानबिनका लागि उनीहरुलाई ल्याउनुअघि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकलाई फोन गरे। 'ग्रिन सिग्नल' पाएपछि उनीहरुले ती अधवैँशे पुरुषलाई भ्यानमा राखी कार्यालय पुर्‍याए। 

***

‘नाम के हो?’

‘दीलिपसिंह विष्ट’

‘उमेर कति?’

‘४१ वर्ष’

प्रहरीले प्रारम्भिक सोधपूछ गर्छ। घटना भएको साउन १० गतेको बारेमा सोध्दा विष्टले भने, ‘सेनाको ब्यारेक हुँदै बर्कलो जिम्दारको खेतबाट घरतर्फ आउँदै गर्दा एउटी युवती मिलिन्। उनको गुलाफी रंगको साइकलको चेन फ्राइह्विलमा अड्किएको थियो। मैले बनाइदिएँ। अनि उनले मलाई नमस्कार गरेर गइन्।‘

सुरुमा उनले निर्मलालाई चिन्दिनँ भनेका थिए। 

अहो! घटनास्थल उही, घटना भएको समय पनि उही, साइकल पनि भन्छ, साइकलको रङ पनि उही, युवतीको पनि कुरा गर्छ। 'क्लु' खोजिरहेको प्रहरीकहाँ 'क्लु' नै आफै आइपुग्यो। त्यसपछि के छाड्थे उनीहरुले? 

विष्टबाट अझै कुरा ओकलाउनका लागि प्रहरी सम्भव भएका सबै उपाय प्रयोग गर्छ। 'आइ डु नट नो, आइ एम अनेस्ट म्यान' भन्दै अङ्ग्रेजीमा आनाकानी गरिरहने विष्टले बल्लतल्ल भने 'म भन्छु सर, म भन्छु।' 

त्यसपछि नै रहेछ २० रुपैयाँको कुरासहित हत्या स्वीकारेका।

जिसीलाई हत्या स्वीकारेको कुराले भन्दा पनि त्यो २० रुपैयाँको कुराले क्लिक गरेको थियो। 

***   
घटनाको चार महिनापछि महेन्द्रनगर पुग्दा पनि त्यहाँका स्थानीय बासिन्दा विष्टले त्यो घटना गराएको मान्न तयार थिएनन्। 

'अहँ, उसले त हुँदै होइन।'

हामीले भेटेका धेरैले त्यही भने। जसरी बम दिदीबहिनीका छिमेकीहरुले उनीहरुको पक्षमा बोल्थे, त्यसरी नै विष्टको पक्षमा बजारसम्मका बासिन्दाहरु बोल्थे। 

आफूलाई दमाई बाजे भन्ने एक जनाले त हामीलाई विष्ट त्यो बाटो (घरबाट घटनास्थलसम्म) हिँड्दै नहिँड्ने समेत ठोकुवा गरे। जुन गलत रहेको पछि अरुको भनाईबाट थाहा भयो। विष्ट हरेक दिन जसो बागफाँटा खन्नाचोकदेखि कारागारसम्म हिँडेर जाने गर्थे। 

त्यो कारागारमा उनी नौ वर्षसम्म रहेका थिए, आफ्नै भिनाजुको हत्या गरेको ठहर भएपछि। 

अदालतबाट हत्यारा ठहर भइसकेका ती व्यक्तिलाई किन त्यहाँका बासिन्दा शंकासमेत गर्न तयार थिएनन्? हामीले यो बुझ्न खोज्यौं। के त्यतिबेला पनि उनलाई अहिले आरोप लगाइए जस्तै नक्कली अपराधी बनाएर प्रस्तुत गरेका त हैनन्?

प्रहरीको विज्ञप्तिमा '२०६५ सालमा आफ्नै कान्छो भिनाजु नारायणसिंह थापाको हत्या गरी सो अभियोगमा ९ वर्ष जेल सजायँ भुक्तान गरी २०७४ जेठमा छुटेको' उल्लेख थियो। केही समाचारमा जिल्ला अदालतले फैसला गरेको उल्लेख थियो। हामी कञ्चनपुर जिल्ला अदालततिर लाग्यौँ, फैसलाबारे बुझ्न। तर, हामीसँग न मुद्दा नम्बर थियो न फैसला मिति नै। 

त्यसभन्दा पनि बढी त्यहाँ एउटा यस्तो किसिमको माहौल थियो- जहाँ विष्टलाई शंका गर्ने नै स्थानीय बासिन्दाको शंकाको घेरामा पर्थ्यो। 

***

कञ्चनपुरका कसैले पनि शंका नगरेका विष्टलाई चाहिँ के आधारमा प्रहरीले अभियुक्तका रुपमा उभ्याएको हो? 

हामीलाई यो प्रश्नको पनि जवाफ खोज्नु थियो। यो अनुसन्धानलाई सघाउन काठमाडौँबाट गएको सिआइबी टोलीको नेतृत्व गरेका डिएसपी अंगुर जिसीलाई हामीले सोध्यौँ- 'के हो आधार?'

सिआइबी अर्थात् केन्द्रीय अनुसन्धान ब्युरो विशेष किसिमको अपराधको अनुसन्धानमा आइजीको निर्देशनबाट मात्र खटिने प्रहरीको ब्युरो हो। यसले कयौँ जटिल मुद्दाहरुलाई सफलताका साथ टुङ्गोमा पुर्‍याएको इतिहास छ। 

हाल निलम्बित जिसी सुरुमा हामीसँग बोल्न तयार भएनन्। हामी पनि उनीसित कुरा नबुझी छोड्न तयार भएनौँ। किनभने अनुसन्धानको प्राविधिकसहितको विस्तृत पाटोलाई नजिकबाट नियालेका उनी नै थिए।


'सुरुमा हामीलाई पनि थाहा थिएन दीलिपसिंह विष्टबारे। उनी र्‍यान्डमली पक्राउ परेका हुन्,' बल्लतल्ल बोल्न तयार भएका जीसीले भने, 'तर पक्राउ परिसकेपछि उनको भनाई एकपछि अर्को गर्दै घटनाक्रमसित म्याच हुन थाल्यो। अनि हाम्रो शंकाको घेरामा परेका हुन्।'

हरेक घटनामा जस्तै यस घटनामा पनि प्रहरीले खोजलाई 'न्यारो डाउन' गर्ने क्रममा सुरुमा जेलबाट छुटेका व्यक्तिहरुको सूची निकालेको थियो। त्यसमा विष्ट पनि परेका थिए। त्यसैगरी स्थानीयको बयानका आधारमा 'एक्लै केटीहरु देख्यो कि पाइन्ट खोल्दै ... देखाएर आऊ आऊ भनेर बोलाउने' केटाहरुको सूची पनि तयार पारिएको थियो। त्यसमा पनि यिनी परेका थिए। तर, त्यतिन्जेल प्रहरीलाई दीलिपसिंह विष्ट यिनै हुन् भन्ने थाहा थिएन। 


जिसीलाई २० रुपैयाँको कुराले चासो बढाएको थियो। राति अबेर जिल्ला प्रहरी कार्यालय पुगेका उनले विष्टलाई सहानुभूति दिँदै कुरा गरे। विष्टले पनि भावुक हुँदै 'मलाई बचाइदिनुस्' भन्न थाले। 

यसै क्रममा उनले सोधपूछ गरे। 

'निर्मलाको लुगामा केही थियो? मोबाइल सोबाइल केही?'

'२० रुपैयाँ थियो सर।'

'अनि के गर्‍यौ त्यो पैसाले?'

'खर्च गरेँ। गुटखा किनेर खाएँ।'

'कहाँ खाएको गुटखा चैँ?'

'गोपाल गुरुङको दोकान। भगतपुर चौराहामा।'

'के के किन्यौ २० रुपैयाँको?'

'१० रुपैयाँको तीन वटा गुट्खा प्लस दुई वटा चुरोट। त्यो खाएँ।'

'निर्मलाको गोजीमा २० रुपैयाँ भएको जानकारी रोशनीलाई मात्र थाहा थियो,' जीसीले भने, 'चटपटेको पैसा दिएको भनेर त अरुलाई पनि थाहा होला। तर, २० रुपैयाँकै नोट थियो भनेर चाहिँ अरुलाई शायद थाहा थिएन भन्ने लाग्छ मलाई। किनकि त्यो कुरा रोशनीले ममात्र भएको बेलामा भनेकी थिइ। विष्टले त्यही २० रुपैयाँको कुरा गरेपछि मलाई शंका बढ्यो।' 

विष्टले गुट्खा किनेको पसलमा पनि पुग्यो प्रहरी। विष्टले भने झैँ पसल पनि भेटियो। 

तर, दीलिपले त्यो दिन गुटखा किने नकिनेको बारेमा साहुजीले यकिन भन्न सकेनन्। 

'खै यो मान्छे सधैँ आइरहने हो। किनेर खान्थ्यो पनि,' २०/२५ दिन अगाडिको कुरा ठ्याक्कै सम्झिएर भन्न सकेनन् उनले। 

प्रहरीलाई चकित पार्ने विवरण

जीसी सम्झन्छन्- 'त्यतिबेला विष्टले केही 'म्याजिकल' कुरा गरे। जसका कारण हाम्रो शंका अझै दरिलो भयो।'

एउटा, उनले निर्मलाको साइकलको गुलाफी रङ्ग मात्र ठ्याम्मै मिलाएनन्, साइकल बिग्रेको कुरा पनि गरे। त्यतिन्जेल अनुसन्धान गरिरहेको प्रहरीलाई साइकल बिग्रेको थाहै थिएन। 

विष्टकै जानकारीका आधारमा प्रहरीले सोध्दा निर्मला जसको घरमा पढ्न गएकी थिइन्, रोशनी बम, उनले पनि चेनमा मोबिल लागेको र निर्मलाले घरमा आएपछि हात धोएको कुरा गरिन्। बिहानै निर्मलाको घर पुगेकी हेमन्ती भट्टले पनि निर्मलाले साइकल बनाइरहेको देखेको बताइन्। निर्मलाकी दिदी मनीषाले पनि 'साइकल बिग्रेको हो' भनिन्। 

अर्को 'म्याजिकल' कुरा थियो- घटना विवरण। उनले कसरी निर्मलालाई भेटे, कसरी खोलापारी लगे र कसरी कुकृत्य गरे भन्ने कुराको एक एक विवरण सिलसिलावद्ध ढंगले दिए। 'उसले भनेको कुरालाई हामीले भेरिफाइ गर्दा सबै कुरा सम्भव देखियो,' जीसीले भने। 

विष्टले दिएको बयानअनुसार साइकल बनाउँदै गर्दा निर्मलाको शरीरसँग छोएपछि उनी उत्तेजित हुन्छन्। त्यसपछि साइकललाई खोला छेउमा धकेली खसाइदिन्छन्। साइकल लिन भनी तल गएका विष्टले साइकल दिने बहानामा निर्मलालाई सडकभन्दा मुनितिरको खोलाको डिलमा तान्छन्। 
त्यसपछि उनले निर्मलालाई त्यहाँबाट खोलापारी लैजान्छन्। खोलापारीको डिलबाट माथि उक्लिएपछि कसैले नदेख्न्ने घाँसे चौर भएको ठाउँ छ। नजिकै उखुबारी। खोलापारी डिलमा पाइलाको डोबसमेत भेटिएको थियो। त्यसको फोटो भए पनि पानीका कारण फुटप्रिन्ट भने निकालिएको थिएन। 

पाइलाको डोब भेटिएको कुरा हामीलाई घटनास्थलमा भेटिएका पूर्व सैनिक मोतिबहादुर नेपालले पनि बताएका थिए। साउन ११ गते लाश भेटिँदा उनी पनि त्यहीँ थिए। 

कसरी भन्ने प्रश्नमा अल्झिएको प्रहरीलाई जवाफ दिने काम चाहिँ विष्ट स्वयंले गरे। 

हामीले घटनास्थल हेर्दा भने विष्टले भने जस्तै सजिलै निर्मलालाई खोला पारी लान सक्ने देखिन्न। यदि उनले जबर्जस्ती लगेकै भए निर्मलाले प्रतिकार गर्न सक्ने देखिन्छ। त्यस्तो प्रतिकार खोला वारी र खोलाको बीचमै पनि हुन्थ्यो। यसरी लैजान सजिलो छैन तर असम्भवै भने देखिन्न।

विष्टले सुरुवाल 'थोडा फाटेको पनि थियो' भनेको, 'सुर्किनी गाँठो तानेर खोलेको,' 'एउटा खुट्टाको सुरुवालमात्र तानेर खोलेको' जस्ता कुरा पनि बयानमा उल्लेख गरेका छन्। घटनास्थलको फोटोमा पनि शवमा एउटा खुट्टामा मात्र सुरुवाल अड्किएको देखिन्छ। 

प्रहरीले लिक गरेको भिडियोमा विष्टले यो कुरा बताएको देखिन्छ। 

खोला पारीपट्टि चौर जस्तो ठाउँ पनि छ। त्यो ठाउँ न वारीको सडकबाट सजिलै देखिन्छ न पारीपट्टि चक्र बडुको घरबाट नै देखिन्छ। विष्टले नभई अरु कसैले बलात्कार गरेको भए पनि त्यस ठाउँमा गरेको हुनसक्ने सम्भावना घटनास्थलको प्रकृति हेर्दा देखिन्छ। 


अनुसन्धानरत प्रहरीलाई चकित पार्ने अर्को कुरा विष्टले गरे- भोकल कर्डको। निर्मलाको भोकल कर्ड भाँचेर हत्या गरेको उनले बताएका छन्। भोकल कर्ड भाँच्यो भने मान्छे मर्छ भनेर राष्ट्रिय सेवा दलको ट्रेनिङ गर्दा सिकेको बताए उनले। २८ वर्षअघि त्यस्तो सिकाउने गुरु प्रेमसिंह धामीको नामसमेत उनले बताउन भ्याए। 

डाक्टरले समेत निर्मलाको भोकल कर्ड भाँचिएको कुरा गरेको हुनाले विष्टको कुरासँग यो समेत मिलेपछि अनुसन्धानकर्मी अझै आश्चर्यमा पर्छन्। 

विष्टलाई प्रहरीले गाडीमा राखेर घटनास्थल देखाउन भन्दै लग्यो। घटनास्थलमा साइकलदेखि शव भेटिएको ठाउँसमेत आफै देखाए।

पोष्टमार्टम गर्ने डाक्टरका अनुसार घाँटी थिच्दा बाँया हातको प्रयोग भएको भनिएको र दीलिपले समेत घाँटी थिचेर कसरी मान्छे मर्छ भनी प्रश्न गर्दा बायाँ हातकै एक्सन गरेर देखाएको भिडियो पनि प्रहरीसित छ। 

हेर्नुस् भिडियोमा भोकल कर्डबारे विष्टले भनेको कुरा-

डिएसपी अंगुर जिसी दावी गर्छन्, 'यी सबका आधारमा हामीले विष्टलाई अभियुक्तका रुपमा प्रस्तुत गरेका हौं। हाम्रो अनुसन्धानमा लापरवाही छैन। हामीले नक्कली अभियुक्त खडा गर्न खोजेका हैनौं।'

***

'नक्कली अभियुक्त बनाउन पाइँदैन, पाइँदैन।'
निर्दोषलाई फँसाउन पाइँदैन, पाइँदैन!'


तर, प्रहरीको निश्कर्षलाई मान्न पब्लिक तयार थिएन। विष्टलाई पक्रेर अनुसन्धान गरिरहेको खबर चुहिसकेको थियो। नयाँ संहिता लागू भएका कारण थप अनुसन्धान गर्न म्याद थप्नका लागि अदालत लैजानुपर्ने थियो। त्यही भएर भदौ ४ गते पत्रकार सम्मेलन गरी प्रहरीले विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गर्‍यो। 

त्यतिबेलासम्म विष्टको रगतको नमूनाबाट डिएनए रिपोर्ट आइसकेको थिएन। 

यता पत्रकार सम्मेलन हुँदै थियो, उता बाहिर निर्दोषलाई फँसाउन खोजिएको भनी नाराबाजी भइरहेको थियो। आन्दोलन चर्किँदै गयो। त्यसको तीन दिन पछि भदौ ७ गते गृह मन्त्रालयले कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलायो।

तर, पनि आन्दोलन साम्य भएन। नयाँ एसपी र सिडिओले जिम्मेवारी सम्हालेकै दिन भदौ ८ गते गोली चल्यो र किशोर सन्नी खुन्नाको ज्यान गयो। अन्य केही घाइते भए। कर्फ्यु लगाइयो। 

गृह मन्त्रालयले भोलिपल्ट भदौ ९ गते एसपी विष्टलाई निलम्बन गर्‍यो। पछि घटनाको अनुसन्धानमा संलग्न बाँकी सबैलाई निलम्बन गरियो। 
सुरुदेखि नै प्रहरीप्रति गुमेको विश्वास प्रहरीले दीलिपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरिसकेपछि झन् भड्किएको थियो।

विष्टको विगत र मानसिक स्थिति

किन विष्टलाई त्यहाँका सर्वसाधारण यति धेरै विश्वास गर्छन्?

विष्टको विगत कस्तो थियो त? यो थाहा पाउन हामी कञ्चनपुर जिल्ला अदालत पुग्यौं। मुद्दा नम्बर र फैसला मिति नभएकाले मिसिल खोज्न गाह्रो हुने हो कि भन्ने हाम्रो अनुमान विपरीत नामबाटै केही समयमै मिसिल फेला पर्‍यो।

मिसिल हेर्दा पो थाहा भयो- आफ्नै भिनाजुको हत्या गरेकोमा उनलाई जिल्ला अदालतले मात्र हैन, पुनरावेदन र सर्वोच्च अदालत गरी तीन वटै तहको अदालतले समेत दोषी ठहर गरेको रहेछ। 

२०६५ साल माघ २१ गतेको घटना थियो त्यो। कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर १८ को क्याम्पस रोडमा कान्छी दिदी गंगादेवी थापाका श्रीमान् भिनाजु नारायणसिंह थापा बेलुकी पसलमा आगो तापेर बसिरहेका थिए। 

दीलिप सिंह विष्टले काठको चिर्पटले पछाडिबाट भिनाजुको टाउकैमा पर्नेगरी हाने। भिनाजु पुक्लुक्कै ढले। त्यही चोटले उनको प्राण गयो। 
मिसिल अनुसार विष्टले सुरुदेखि नै भिनाजुको टाउकोमा प्रहार गर्ने आफै भएको बयान दिएका छन्। 

किन?

मिसिल अनुसार विष्टले भनेका थिए- मलाई जहिले पनि कुट्ने, मेरो सम्पत्ति खान खोजेको, भतिजीलाई अनैतिक काममा लगाएको। 

विष्टले नै मारेको हुनाले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नम्बर बमोजिम सर्वस्वसहित जन्मकैद हुने भनी कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश पदमराज भट्टको इजलासले २०६६ जेठ ३ गते फैसला गरेको थियो। 

मार्ने नियत मेरो थिएन, मानसिक अवस्था सन्तुलित थिएन भन्दै उनले पुनरावेदन अदालत महेन्द्रनगरमा पुनरावेदन गरे। तर, पुनरावेदन अदालतका न्यायाधीशद्वय लक्ष्मणमणि रिसाल र बमकुमार श्रेष्ठको संयुक्त इजलासले 'मानसिक सन्तुलन थिएन भनी भन्न मिल्ने अवस्था देखिँदैन' भन्दै २०६६ माघ १२ गते जिल्ला अदालतकै फैसला सदर गरे। स्वास्थ्य परीक्षण प्रतिवेदनलाई समेत उद्‍धृत गर्दै फैसला गरिएको थियो।   

विष्ट त्यहाँबाट सर्वोच्च अदालतमा मुद्दा गर्न पुग्छन्। त्यहाँ उनका वकिलको जिकिर रहन्छ- विष्टको मानसिक स्थिति ठीक थिएन। उनको ज्यान लिने मनसाय हैन।

तर, पुनरावेदनले जस्तै सर्वोच्चले पनि उनको मानसिक अवस्था ठीक नभएको कुरा स्वीकार्दैन। 

'जहाँसम्म मानसिक अवस्था सन्तुलन थिएन भनी प्रतिवादीले लिएको पुनरावेदन जिकिर छ, सो सम्बन्धमा घटनाको सविस्तार वर्णन गरी निजले बयान व्यहोरा लेखाएको देखिँदा जिकिर लिए अनुसार मानसिक अवस्था सन्तुलित थिएन भनी भन्न मिल्ने अवस्था देखिँदैन। अर्को कुरा अधिकारप्राप्त अधिकारी समक्ष प्रतिवादीले आफ्नो मानसिक अवस्था ठीक भनी लेखाएको र निजको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट पनि मानसिक अवस्था ठीक नभएको असन्तुलन भएको कुरा देखिँदैन',  सर्वोच्चको फैसलाको ठहर खण्डमा लेखिएको छ।

मतलब, दुवै अदालतबाट उनको मानसिक अवस्था ठीक रहेको फैसला हुन्छ।  

विष्टका नाममा दर्ता भएको जग्गा बैंकमा धितो राखी भिनाजुले ३ लाख ५० हजार कर्जा लिएको, त्यो चुक्ता नगरी गाली गलौज गर्ने, कुटपिट गर्ने काम पटक पटक गरेका कारण रीसइबी रहेको र त्यही साँध्ने क्रममा काठको चिर्पटले टाउकोमा प्रहार गरेको कारण ज्यान गएको भन्दै यस्तो स्थितिमा प्रतिवादीमा ज्यान लिने मनसाय थिएन भन्न मिल्दैन भन्दै सर्वोच्च अदालतले जिल्लाकै फैसला सदर गर्छ। 

२०६७ साल चैत ४ गते न्यायाधीशद्वय मोहनप्रकाश सिटौला र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले सर्वस्वसहित जन्मकैदको सजाय सदर गरेपछि उनीसामु अरु विकल्प हुँदैन। 

जन्मकैदको सजाय पाएपछि उनी पहिलो पटक जेल बसेको २०६५ माघ २४ गतेको हिसाबले २०८५ माघ २३ गतेसम्म कैदमै बस्नुपर्ने मिसिल कारागार पठाइन्छ।

तर राष्ट्रपतिबाट माफी पाएपछि उनी ९ वर्षपछि नै २०७४ जेठमा जेलमुक्त हुन्छन्। जेलमुक्त भएको १४ महिनामै विष्ट फेरि शंकाको घेरामा पर्छन्।  

सेक्सका कुरामा फरासिला विष्ट

 हामी कञ्चनपुर पुग्दा धेरैले दीलिपसिंह विष्टका बारेमा धेरै कुरा सुनाए। 

'दीलिपले यस्तो गर्न सक्दैन। केटी देखेपछि टाउको निहुराएर हिँड्छ,' धेरैले चाहिँ यस्तो भनेका छन्। 

तर, प्रहरीले लिएको बयानमा भने विष्टले सेक्स र महिलाको बिषयमा खुलेरै कुरा गरेका छन्। उनले आफ्नो पहिलो सेक्स मात्र होइन टिनएजरसँग सम्पर्क गर्दाको अनुभव समेत सुनाएका छन्। भिडियोमा हामीले केही अंश सेन्सर गरे पनि उनले आफ्नै परिवारका सदस्यसित समेत यौन सम्पर्क गरेको बताएका छन्। 

हेर्नुस् भिडियो-

विष्टले हिरासतमा रहँदा प्रहरीलाई केही शायरी पनि सुनाएका छन्। शायरी अधिकांश प्रेम वियोगमा आधारित छन्। नौ कक्षामा पढ्ने बेलामा एकोहोरो मायामा परी एकजना किशोरीलाई पटकपटक बाटो छेक्ने गर्थे उनी। त्यो थाहा पाएपछि किशोरीका आफन्तहरुले टाउकोमा चोटपर्ने गरी कुटपिट गरेका थिए। त्यसपछि उनले पढ्न छाडे।

हेर्नुस् शायरी र सेक्सका विषयमा विष्टका कुरा

हिरासतमै हस्तमैथुन

यी त भए प्रहरी हिरासतका प्रहरीले लिक गरेका भिडियो। विभिन्न युट्युब च्यानलहरुमा राखिएको हिरासतबाट छुटेर आएपछिका अन्तर्वार्ताहरुमा समेत उनको तीव्र यौन चाहना प्रष्ट देखिन्छ।  

साझा आवाज नामको युटयुब च्यानलमा दिएको अन्तर्वार्तामा दीलिपले भनेका छन्, ‘प्रहरीले मलाई हिरासतमा रहँदा हग्न नदिने, मुत्न नदिने, छोल्न नदिने। पेटमा डाइबिटिज भएपछि छोल्न पनि पर्‍यो नि,....नछोल्न दिने हजुर'

हेर्नुस् भिडियो-

त्यस्तै, विश्वास मिडिया नेटवर्क नामको युट्युब च्यानलमा पनि हिरासतमा हस्तमैथुन गर्न नपाएको गुनासो पोखेका छन्-

 

 

परिवारको फरक बोली

विष्टको परिवारका महिला सदस्य भाउजु र बुहारीले गृह मन्त्रालयले गठन गरेको छानबिन समितिलाई विष्टको बानीव्यहोरा एकदमै असल रहेको बताएका छन्। जबकि विष्टबारे यति धेरै चर्चा हुनुअघि प्रहरीले उनीहरुलाई थाहा नदिई खिचेको गोप्य भिडियोमा भने आफूहरूलाई पटक पटक उनले सताउने समेत गरेको बताएका छन्।

घरमा एक्लै बस्न समेत डर लाग्ने उनीहरूले बताएका छन्।  भतिजी बुहारीले भनेकी छिन्,'उहाँ खुसुक्क मेरो कोठामा आउने, मैयाँ भन्ने लगायतका व्यवहार गर्नुहुन्थ्यो। बिहान हिँडेपछि बेलुका मात्र फर्किने गर्नु हुन्थ्यो। उहाँ जेलमा हुँदा नै हामीलाई शान्ति थियो।'

'डर लाग्छ के, त्यस्तो मान्छेको विश्वास पनि हँदैन,' उनले भिडियोमा भनेकी छिन्। 

एकचोटी विष्ट आफ्नै कोठामा समेत पस्न खोजेको र आफूले हकारेको पनि उनले सुनाएकी छिन्।

आफ्नै भिनाजुलाई दाउराले हानेर मारेकोमा परिवार समेत सहमत छन्। उनी भन्छिन्,' आफूले भिनाजुलाई पछाडिबाट दाउराले हानेर मारेको हुँदा मलाई पनि त्यसरी नै हान्ने हो कि भनेर पछाडिबाट कोही आए एकदमै चनाखो भइहाल्छन्।' 

उनले विष्टलाई आफ्नो हदमा रहनू, बढी भयो भने पुलिसलाई बोलाउँला भनेर सचेत गराएकोसमेत बताउँछिन्। 

हेर्नुस् भिडियो-


… तर डिएनए मिलेन

विगत जस्तै भए पनि वर्तमानको माहौल विष्टको पक्षमा थियो। कोही पनि तयार थिएनन्, विष्टले त्यो घटना गराएको भन्ने मान्न। 

त्यसमाथि भदौ २४ गते नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाका दुई एक्जामिनर एसपी राकेशकुमार सिह र इन्स्पेक्टर रविन भण्डारीको टोलीले रिपोर्ट दियो- मृतक निर्मला पन्तको योनीबाट संकलन गरिएका स्वाबहरुबाट तयार पारिएको डिएनए प्रोफाइल (Y-STR) दीलिपसिंह विष्टबाट लिइएका नमूनाहरुबाट तयार पारिएको डिएनए प्रोफाइल (Y-STR) सँग मेल खाएन। 

त्यसपछि भने नक्कली अभियुक्त खडा गरेको भन्ने आरोपबाट बच्न प्रहरीले कुनै ठाउँ नै पाएन। 

डिएनए नमिलेसँगै प्रश्न उब्जियो - यो सब घटनाक्रम सिलसिलावद्ध ढंगमा विष्टले कसरी भन्न सके? के प्रहरीले रचेको र रटाएको बोली थियो विष्टको? के प्रहरीले दिएको यातनाकै कारण विष्टले ती सब बोलेका थिए? घटना भएका बेला विष्ट कहाँ थिए त? किन पछिल्लो पटक पक्राउ परेका प्रदीप रावल जस्तै विष्ट घटना हुँदाका बेला 'यहाँ थिए' भनेर कसैले किटानका साथ भन्न सकेको छैन?

विष्टले आफूलाई यातना दिएका कारण हत्या सकारेको हो भन्छन् नि। ठ्याक्कै यस्तै कुरा पछिल्लो पटक पक्राउ परेका 'कुखुरा चोर' प्रदीप रावलले पनि गरेका थिए। 

जिसीलाई सोध्दा उनले भने, 'मैले बुझाउन नसकेको, मिडियाले बुझाइदिन नसकेको र अरुले बुझ्न नसकेको कुरा के हो भने जब म डिएनए गराउन त्यति उद्दत छु, डिएनए गराउन खोजिरहेको छु र डिएनए गराइरहेको छु भने एक हप्तामा रिपोर्ट त आउँछ त दीलिपसिंह विष्टको। एक हप्तामा रिपोर्ट आउने मान्छेलाई मैले कुटेर यसलाई एकछिन भन्दे भनेर सिकाएर, पठाएर अनि डिएनए गर्न पठाउँछु भने त म जस्तो पागल, मूर्ख अरु को हुन्छ र !'

सँगै प्रश्न उब्जिन्छ - के डिएनए रिपोर्ट तयार पार्ने क्रममा प्रहरीको ल्याबका प्राविधिकहरु कुनै 'दबाब'मा थिए? 

ल्याबका प्राविधिकहरुले घटना भएको स्थलमा पुगेकालाई फोन गरेर 'त्यो ठाउँ हेर्दा एक जनाले मात्र लान सकिने गर्न सकिने जस्तो लाग्छ त?' भन्दै प्रश्न गरेका थिए। ल्याबमा जस्तो देखिन्छ त्यस्तो वस्तुगत रिपोर्ट तयार पारे पुग्नेमा किन फोन गर्दै 'आशंका' प्रकट गरियो? यो आशंकाले ल्याबको परीक्षण वस्तुगत तथ्यभन्दा पनि कञ्चनपुरमा चलिरहेको 'रे' मा आधारित कथ्यतिर त गएन भन्ने प्रश्न पनि जन्मायो।

राष्ट्रिय मानवअधिकार आयोगको विज्ञ टोलीले डिएनए परीक्षणमा त्रुटि भएको प्रतिवेदनमा औंल्याउँदै डिएनए परीक्षणमा संलग्न प्रहरी ल्याबका अधिकारीहरुलाई पनि छानबिनको दायरामा ल्याउन सरकारलाई दिएको निर्देशनपछि अब यी प्रश्नहरुमा पनि जवाफ खोज्नुपर्ने भएको छ। 

विष्टलाई अभियुक्त बनाउने गरी अनुसन्धानको नेतृत्व गर्ने डिएसपि जिसी चाहिँ के भन्छन् त?

'डिएनए किन मिलेन त्यो म भन्न सक्दिनँ। तर, म मेरो अनुसन्धानमा विश्वस्त छु। मेरो अनुसन्धानले दीलिपसिंह विष्टप्रति नै सबैभन्दा बढी शंकाको सुई तेर्सिन्छ। हाम्रो काम अनुसन्धान गर्ने हो। दोषी हो हैन, हामीले हैन अदालतले ठहर गर्ने विषय हो।'

हामीलाई पनि लाग्छ, राष्ट्रिय मानवअधिकार आयोगले भनेजस्तै अब डिएनएको विषयमा समेत उठेको शंकाको निवारण हुनेगरी ल्याबमा संलग्नलाई पनि छानबिनको दायरामा ल्याउनु पर्छ। र, डिएनए नमिलेकै कारण अनुसन्धानको दायराबाट बाहिर पारिएकाहरुलाई समेत पुनः अनुसन्धान गर्नुपर्छ। चाहे त्यो आइजीसहितको टोलीले बयान लिएका प्रदीप रावल होस् वा शंकास्पद बयान दिएका चक्र बडु या दीलिपसिंह विष्ट नै किन नहुन्। 

फरेन्सिक एक्सपर्टहरुसहित अनुसन्धानमा अब्बल अधिकारीहरुसहितको टोली बनाएर अनुसन्धानलाई बृहत् बनाउँदै लाग्ने हो भने निर्मला प्रकरणको गाँठो सुल्झिन सक्छ र न्यायका लागि ढोका खुल्न सक्छ।
 

#WhoKilledNirmala शृङ्खला  

विगत : निर्मला प्रकरणले सम्झाएको त्यो हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि
शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन 
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' 
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु 
शृङ्खला १२: निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? 
शृङ्खला १३: निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा 
शृङ्खला १४: Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, 'प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन' 
शृङ्खला १५ : चोरीका आरोपीलाई बलात्कारको 'दोष' : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च? 
शृङ्खला १६ : निर्मला प्रकरणमा युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै 
शृङ्खला १७ : विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव
शृङ्खला १८ : को थिए ती तीन युवती जो एसपीका छोरासँगै होटल ओपेरामा देखिए?

शृङ्खला १९ : प्रहरीले गोप्य राखेको निर्मलाको त्यो 'अटोजोमल एसटिआर रिपोर्ट' जसमा बलात्कारीको डिएनए देखिएन

 थप समाचार



जब निर्मलाको हत्यामा 'क्लु' खोजिरहेको प्रहरीसामु आफै 'क्लु' आइपुग्यो (#WhoKilledNirmala शृङ्खला २०) को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट