बलरहरुको उत्कृष्ट प्रदर्शन अनी दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले दोस्रो टी-२०आईमा युएईलाई ४ विकेटले पराजित गरेको छ।
पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेल जितेपछि ३ खेलको सिरिज १-१ को बराबरी भएको छ। अब आइतवार हुने तेस्रो तथा निर्णायक खेलबाट सिरिज जित्ने टिमको टुङ्गो लाग्नेछ।
सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र अभिनाश बोहराले उत्कृष्ट बलिङ गरेपछि नेपालले युएईलाई चार बल अगावै १०७ रनमा अलआउट गरेको थियो।
सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालले खराब सुरुवात गरेपनि दिपेन्द्रले ४१ बलमा नटआउट ४७ रन बनाएपछि नेपालले तीन बल बाँकी छँदै ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। पहिलो खेलमा शुन्यमा आउटमा भएका प्रदि ऐरीले दोस्रो खेलमा पनि दोहोरो अंकमा रन बनाउन सकेनन्। यस्तै कप्तान पारस शुन्यमा आउट भए। त्यसपछि करण केसी २०, ज्ञानेन्द्र मल्ले ७ र सन्दिप जोरा १ रनमा आउट भएपछि नेपाल ११औँ ओभरमा ४६-५ को अवस्थामा पुगेको थियो।
तर पाँचौ नम्वरमा ब्याटिङ गरेका दिपेन्द्रले पवन सर्राफसँग छैटौँ विकेटका लागि ५५ रनको साझेदारी गर्दै जितको आधार तया गरेका थिए। दिपेन्द्रले ४१ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे। अन्तिम ओभरमा नेपाललाई जितका लागि ६ बलमा ७ रन चाहिएको अवस्थामा पहिलो बलमै पवन सर्राफ आउट भएका थिए। तर दिपेन्द्रले त्यसपछिका दुई बलमा क्रमश: छक्का र चौका प्रहार गर्दै नेपाललाई जित दिलाए।
यस्तै तेस्रो नम्बरमा ब्याटिङ गरेका करण केसीले २० र पवन सर्राफले १८ रन योगदान गरे। युएईका सुल्तान अहेमदले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ९ रन खर्चेर २ विकेट लिए।
त्यसअघि आइसीसी एकेडेमी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएई नेपाल बलरको कसिलो बलिङ सामु पूरा ओभर टिक्न नसक्दा १९.२ ओभरमा १०७ रनमा अलआउट भयो। उसका लागि सिपी रिजवानले ४३ बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ४४ रन बनाए। यस्तै शाइमन अनवरले १४ र मोहम्मद बुताले १३ रन जोड्नुबाहेक बाँकी खेलाडीले दोहोरो रन बनाउन सकेनन्।
नेपालका लागि अभिनाश बोहराले ४ ओभरमा २० रन खर्चेर सर्वाधिक ३ विकेट लिए। सोमपाल, सन्दीप र करणले २-२ विकेट लिए। ४ ओभर बलिङ गर्दा सोमपालले १५ र सन्दीपले १९ रन खर्चे। करणले ३.२ ओभरमा २२ रन खर्चिए।