काठमाडौँ : सार्वजनिक सवारी साधनभित्र एक पुरुषले अश्लील क्रियाकलाप गरेको भन्दै प्रहरीमा उजुरी परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको छ।
शुक्रबार बिहान महानगरीय अपराध महाशाखामा पुगेर विभिन्न संघसस्थामा आवद्ध महिलाहरुले लिखित उजुरी दिएका थिए। ती पुरुषका भिडियोहरु सार्वजनिक भएपछि यतिबेला सामाजिक सञ्जालमा आक्रोश फैलिएको छ।
सोसल मिडियामा भाइरल बस काण्ड : प्रहरीले अश्लील हर्कत गर्ने युवकको खोजी थाल्यो
महाशाखाले युट्युव, फेसबुकमा कसले, कहिले भिडियो अपलोड गरेको भन्ने खोजी शुरु गरेको छ। महाशाखाले अमेरिकामा रहेको युट्युव र फेसबुकलाई पत्रचार समेत गरिसकेको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए। एसपी उप्रेतीले भने, 'हाम्रोमा युट्युव र फेसबुकको आधिकारीक कार्यालय छैन। प्राविधिक रुपमा हामी निकै कमजोर छौं। हामीले पत्रचार गरेका छौं। उताबाट थप जवाफ आएपछि केही हुन्छ।'
युवकले अश्लिल कृयाकलाप गरेको गाडीकोचालकलाई समेत नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ। पीडित युवती समेत प्रहरीको सम्पर्कमा आएको एसपी उप्रेतीले बताए। घटना साउन महिनामा भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
मुलुकी अपराध संहिताले सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन तथा कसैलाई अश्लील गालीगलौज गर्न निषेध गरेको छ। १० वर्षभन्दामाथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सा सम्बन्धी उपचार प्रयोजनका लागि बाहेक सार्वजनिक स्थानमा अश्लील कृयाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन तथा अश्लील इशारा गर्न पनि नहुने उल्लेख छ।
यस्तो कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
महानगरीय प्रहरी कार्यालयले पनि घटनाबारे अनुसन्धान सुरु गरेको छ।
अपराध महाशाखाले सार्वजनिक बसभित्र यस्तो कुकृत्य गर्नेबारे केही जानकारी भए नेपाल प्रहरीको १०० वा महाशाखाको ९८५१२८३०३२ मा सम्पर्क गर्न अनुरोध गरेको छ।