PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

भारत - म्यानमार सीमाबाट १८० नेपालीको उद्धार, मानव तस्करीको जालोमा मणिपुर पुलिसको हस्तक्षेप



पहिलोपोस्ट

भारत - म्यानमार सीमाबाट १८० नेपालीको उद्धार, मानव तस्करीको जालोमा मणिपुर पुलिसको हस्तक्षेप

मणिपुर : भारतीय प्रहरीले १ सय ८० भन्दा धेरै नेपालीहरुलाई भारत म्यान्मार सीमाबाट उद्धार गरेको छ। उद्धार गरिनेमा महिला र पुरुष दुवै रहेको बताइएको छ। 

राम्रो काममा लगाइदिने भन्दै उनीहरुलाई मानव तस्करीमा सक्रिय रहेको समूहले त्यहाँ पुर्‍याएको बताइएको छ। 

भारतको उत्तरपूर्वी राज्य मणिपुरका प्रहरीका अनुसार मानव तस्करीको आरोपमा चार जना नेपालीलाई इमफल शहरबाट पक्राउ गरिएको छ।

यस्तै अन्य केही व्यक्तिहरुलाई अरु क्षेत्रबाट पक्राउ गरेको जनाइएको छ। 

मणिपुरका प्रहरी प्रमुख एलएम खाउटीका अनुसार पीडित व्यक्तिका परिवारहरुले उनीहरु कुनै सूचनाविना भागेको कुरा गैर सरकारी संस्थालाई बताएको र त्यही माध्यमबाट थाहा पाएपछि भारतीय प्रहरीले अनुसन्धान सुरु गरेको थियो। 

रोयटर्स फाउन्डेसनले प्रकाशित गरेको समाचारमा उनले मानव तस्करी भएको प्रमाणहरु आफूहरुले प्राप्त गरेको बताएका छन्। 

तस्करहरुले भारतीय विमानस्थल नभइ भारत र म्यानमारको बाटो हुँदै दक्षिणपूर्णी एसियन राष्ट्र र मध्य पूर्वी राष्ट्रहरुमा मानव तस्करी गर्ने गरेको बताइएको छ।

उद्धार गरिएका नेपालीहरुमा धेरै जसो मानिसहरु विमान र सडक मार्ग हुँदै भारत पुगेको प्रहरीले जनाएको छ।  

भारत र म्यानमारबीचको सडक मानव तस्करीका लागि सरल र सुरक्षित रहेको इमपल्स नेटवर्कका हसिना खाबहीले बताइन्। उद्धार टोलीका सदस्यहरुका अनुसार तस्करी गरी लगिँदै गरेको नेपालीहरुको सक्कली कागजात एजेन्टहरुले लिएको र वर्कपर्मिट र नयाँ पासपोर्ट दिने वाचा गरिएको थियो।  

माइती नेपालका विश्व खड्काले उनीहरुलाई वाचा बमोजिम केही नदिइएको मध्यपूर्वी राष्ट्रमा अहिले पनि धेरै महिलाहरुले जबरजस्ती काम गरिरहेको बताए। 

संयुक्त राष्ट्र संघको लागू औषध र अपराध हेर्ने कार्यालयका अनुसार विश्वमा पूर्वी एसिया पछि दक्षिण एसियाबाट सबैभन्दा धेरै मानव तस्करी हुने गरेको छ।   

तस्करी भएका मानिसहरुलाई तस्करहरुले राम्रो कामको लोभ देखाइ जबरजस्ती इट्टा भट्ट, घरायसी कामदार र देह व्यापारमा लगाउने गरेको पाइएको छ। 

भारतीय प्रहरीका अनुसार तस्करहरुले गल्फ राष्ट्रहरुमा महिलाहरुलाई तस्कर नेपाललाई ट्रान्जिट पोइन्टका रुपमा प्रयोग गर्ने गरेका थिए। तर, अहिले म्यानमार हुँदै तस्करी गर्ने क्रममा वृद्धि भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell