PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आर्थिक संकटमा फसेको निगमले टिकट बेचेको २५ करोड उठाउन सकेन, परराष्ट्र मन्त्रालयसँग मात्रै पाँच करोड बक्यौता



पहिलोपोस्ट

आर्थिक संकटमा फसेको निगमले टिकट बेचेको २५ करोड उठाउन सकेन, परराष्ट्र मन्त्रालयसँग मात्रै पाँच करोड बक्यौता

काठमाडौँः आर्थिक सङ्कट झेलिरहेको नेपाल वायुसेवा निगमले टिकट बिक्री बापतको २५ करोड रुपैयाँभन्दा बढी रकम असुलउपर गर्न सकिरहेको छैन। प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको निर्देशन अनुसार निगमले समितिमा पठाएको विवरण अनुसार उधारोमा बेचेको टिकटको २५ करोड ६७ लाख ८० हजार ४३९ रुपैयाँ निगमले उठाउन नसकेको हो।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले समितिको निर्देशन अनुसार पठाएको जवाफमा कूल रकममध्ये परराष्ट्र मन्त्रालयसँग मात्र करिब पाँच करोड रुपैयाँ असुल उपर गर्न बाँकी छ। जवाफ अनुसार परराष्ट्रसँग  चार करोड ९० लाख ५२ हजार ७४७ रुपैयाँ असुल गर्न बाँकी छ।

समितिको निर्देशन अनुसार निगमले पछिल्लो महिनाको प्रगति विवरणसहितको जवाफ पठाएको हो। मासिक रूपमा प्रगति विवरण समितिमा पठाउने व्यवस्थाका लागि निर्देशन भएको थियो।

टिकट विक्रीको असुल गर्नुपर्ने रकम आर्थिक वर्ष २०६१/६२ देखि लगत बाँकी रहँदै आएको छ।

अन्य ६ करोड रुपैयाँ असुलीका लागि निगम कानुनी प्रक्रियामा गइसकेको पनि अध्यक्ष खरेलले पठाएको जवाफमा उल्लेख छ।

‘केही पार्टीहरुसँगको कानुनी प्रक्रियामा निगमको पक्षमा निर्णयसमेत भइसकेको छ’, विवरणमा उल्लेख छ, निगमलाई रकम बुझाउनु पर्ने देखिएका केही पार्टीहरु त अहिले अस्तित्वमा नै नरहेको समेत अवस्था छ।’

निगमले समितिको निर्देशन अनुसार सार्वजनिक खरिद ऐनसँग बाझिएका आर्थिक विनियमावलीका प्रावधान संशोधनका लागि उपसमिति गठन गरिएको पनि जवाफमा उल्लेख गरेको छ। उपसमितिले संशोधन प्रतिवेदन तयार पारेपछि खरिद अनुगमनको कार्यालयको अनुमति लिएर विनियमावली कार्यान्वयन गर्ने पनि जवाफमा उल्लेख छ।

व्यावसायिक योजना पुनः मूल्याङ्कन गरी समयसापेक्ष बनाउनका लागि एक उपसमिति गठन गरिएको पनि निगमले समितिमा पेस गरेको प्रगति प्रतिवेदनमा उल्लेख छ।

रणनीतिक साझेदारको खोजी

निगममा रणनीतिक साझेदार ल्याउनका लागि व्यवस्थापनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक समन्वय गरिरहेको पनि जनाएको छ। मन्त्रालयको निर्देशन अनुसार नै अघि बढ्ने पनि अध्यक्ष खरेलले समितिमा पठाएको जवाफमा उल्लेख छ।

नयाँ एयरबस खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण तिर्न कार्ययोजना बनाइएको जवाफमा उल्लेख छ। तर, लामो दूरीका गन्तव्य नपाएसम्म ऋण तिर्न समस्या भएको जवाफमा उल्लेख छ।

सरकारसँग निगमले २० अर्ब थप लगानीका लागि आग्रह गरेको र आग्रह अनुसार रकम प्राप्त भएमा विमान किन्दा लिएको ऋण तिर्न सक्ने अवस्थामा पुग्ने जवाफमा भनिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell