PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

निजगढ विमानस्थलको काम बढाउन आयोजनाले माग्यो चार अर्ब, टागियाबस्तीका १५ सय परिवार सार्न स्थानीय सहमत



पहिलोपोस्ट

निजगढ विमानस्थलको काम बढाउन आयोजनाले माग्यो चार अर्ब, टागियाबस्तीका १५ सय परिवार सार्न स्थानीय सहमत

वीरगंजः निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले प्रारम्भिक चरणको काम अघि बढाउन तत्कालै ४ अर्ब रुपैयाँ बजेट छुट्याउन सरकारलाई आग्रह गरेको छ।

आयोजना कार्यालय सिमराका प्रमुख ओम शर्माका अनुसार प्रारम्भिक चरणको काम अन्तर्गत चर्चामा रहेको टागियाबस्तीलाई स्थानान्तरण गर्न र विमानस्थलको सिमाना निर्धारण गर्न उक्त बजेट तत्कालै विनियोजन गर्न आवश्यक रहेको छ।

सिमरामा आयोजित अन्तरक्रियामा प्रमुख शर्माले भने “विमानस्थलको मुख्य चुनौती टागियाबस्तीको करिब १५ सय घरधुरीलाई जितपुर सिमरा उपमहानगरकै अन्य वडा तथा कोल्हबी नगरपालिकाको अन्य वडामा स्थानान्तरण गर्ने हो। यसको लागि सरकारले बजेट विनियोजनमा तदारुकता निर्वाह गर्नुपर्छ।”

विमानस्थलको डिपिआर बनाउने परामर्शदाताको छनोट गरी यथाशीघ्र साइटमा खटाउनु पर्ने पनि उनले बताए।

उनका अनुसार डीपीआर बनाउन छनोट भएको ६ वटा कम्पनीहरूको अध्ययन विश्लेषण तथा कागजात अध्ययन एवं मूल्याकन गरी चाँडै डीपीआर बनाउन निजगढ विमानस्थलको क्षेत्रमा खटाउनु पर्ने देखिन्छ।

प्रारम्भिक चरणको अध्ययन अनुसार करिब ८ हजार हेक्टरमा निर्माण हुने विमानस्थलको लागि सुरुको चरणमा एक लाखभन्दा कम रुख काटेर न्यूनतम क्षतिमा विमानस्थल निर्माण गर्न सकिने समेत उनल जानकारी दिए।

३ सय मिटर चौडाइको रनवेमा ६० मिटर चौडा मात्रै पिचको भागबाट पहिलो रनवे र टर्मिनल बनाई विमानस्थल सुरुवात गर्न सकिने भएकाले विमानस्थल सञ्चालन तथा विस्तारको काम बिस्तारै हुँदै गए पनि फरक नपर्ने प्रमुख शर्माको तर्क छ।

निजगढ विमानस्थलमा ३ वटा रनवे बनाउने नीति रहेकोमा सुरुमा २४ लाख रुख काट्ने भ्रम जनता माझ छरिएको भन्दै उनले आपत्ति जनाए।

नेपालको लागि अन्तर्राष्ट्रिय विमानस्थलको सबैभन्दा उपयुक्त ठाउँ हाल निर्माण हुन लागेको निजगढ भएकोले यसको विकल्प नभएको भन्दै शर्माले सरकार तथा राजनीतिक दल एवं प्रदेश २ सरकारलाई  यस विषयमा गम्भीर बन्न पनि उनले सुझाव दिए।

'निजगढ विमानस्थल बन्यो भने वातावरण तहसनहस हुने, बाढी पहिरोले विमानस्थलको दक्षिण अर्थात् बाराको दक्षिणी भेगमा बाढी तथा सुख्खाको चपेटामा फस्ने भनी अफवाह फैलाइँदैछ, त्यो राज्य र प्रदेश २ कै लागि घातक हुन्छ' उनले भने।

कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका मेयर डा कृष्ण पौडेलले निजगढ विमानस्थल बनाउन टागियाबस्तीलाई उचित मुआब्जा तथा पुनर्वासका लागि उपमहानगरपालिका जिम्मेवारी साथ अघि बढेको जानकारी गराउँदै यस विषयमा स्थानीयको सहमति पनि भइसकेको बताए।

उनले विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएकोले जितपुरसिमरा बासीको सहयोग र सद्भाव रहने बताए। होटेल तथा पर्यटन व्यवसायी सङ्घ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले विमानस्थलको निर्माण पर्सा, बारा, मकवानपुर, प्रदेश २ र देशकै होटेल व्यवसाय तथा पर्यटनको दृष्टिकोणले अति नै महत्त्व र सकारात्मक आयोजना भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell