PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आकाशमा उड्दा: नाजिर हुसेन र सागर आलेको प्याराग्लाइडिङ अनुभव



पहिलोपोस्ट

आकाशमा उड्दा: नाजिर हुसेन र सागर आलेको प्याराग्लाइडिङ अनुभव

तीन दिनको लगातार वर्षापछि आइतबार काठमाडौंको आकाश खुल्यो। अभिनेता नाजिर हुसेन र गायक सागर आले भने बिहान पानी नपरेपछि गोदावरी जान निस्किए। गोदावरी हुँदै करिब चार किलोमिटर कच्ची बाटैबाटो उकालो लाग्नु थियो उनीहरुलाई।

'म त फूपुको छोरीको विवाह छोडेर आएको। उडिसकेपछि भ्याए जाउँला के रे,' सागरको बोलीमा प्याराग्लाइडिङक गर्ने उत्साह प्रष्ट सुनिन्थ्यो। बोल्दै गर्दा उनी पटकपटक पुग्नु पर्ने डाँडातिर हेर्छन् र सोध्छन्, 'अब कति बेर लाग्छ दाइ पुग्न?'

नाजिर हुसेन पनि एउटा अवार्ड कार्यक्रम छाडेर प्याराग्लाइडिङ गर्न हिँडेका। 'मेरो धेरै अघिदेखिको बकेट लिस्टमा थियो प्याराग्लाइडिङ। आज त निकै उत्साहित छु,' नाजिरले सुनाए।

प्याराग्लाइड टेक अफ हुने ठाउँ, समुद्री सतहबाट २१०० मिटर माथि रहेको चापाखर्क पुग्दा उपत्यका सफा देखियो, डाँडा वरपर घना जंगल,  नजिकै छन् जस्तो लाग्ने हिमशृङ्खला निकै मनमोहक। प्याराग्लाइडिङ गर्ने डाँडामा लगातार चिसो हावा चल्दै थियो। हावा र जङ्गलको दृश्य देखेर आफूमा डर पैदा गराएको बताउँदै थिए सागर।

'धर्ती छोडेर उड्नुपर्ने, त्यो पनि यत्रो घना जङ्गलको माथि डर त लागिहाल्छ नि। आधा डर आधा एक्साइटमेन्ट छ,' उनले भने। 

नाजिर भने आफूलाई साहसिक खेलहरु मनपर्ने भन्दै पाइलटहरुसँग 'एक्रोबेटिक्स' समेत गराउन आग्रह गर्दै थिए। 'अलि अलि स्टन्ट नगरे के मज्जा?,' उनी कन्फिडेन्ट सुनिए। 

पाइलटहरु विजय चौलागाईं र रामकृष्ण लामाले प्याराग्लाइडिङ टेक अफ, फ्लाइ र ल्यान्डिङका लागि निर्देशन दिए। 'हामीले भनेकोजस्तो गर्नुस्। प्याराग्लाइडिङ नाइन्टी नाइन पर्सेन्ट सेफ छ,' प्याराग्लाइडिङ पाइलट विजयले भने, 'यसमा डराउनु पर्ने केही छैन। तपाईंहरु मज्जा लिनुस्।'

पाइलटको बोली सक्किन नपाउँदै सागर आलेले भने, 'त्यति सेफ छ भने त सुरुमै उड्छु म।' 

प्याराग्लाइड टेक अफ हुनका लागि हावाको वेग र उड्ने दिशाको तालमेल मिल्न पर्ने थियो। सागरको ग्लाइड दोस्रो प्रयासमा उड्यो। नाजिरको ग्लाइड उड्न केही समय लाग्यो। दुवै केही मिनेटको अन्तरमा टेक अफ भए। केही बेरमै दुईजना नजिक नजिक उड्न थाले। तलबाट हेर्नेहरु भन्दै थिए- हरियो रङको प्याराग्लाइडमा गायक, पहेलो रङको प्याराग्लाइडमा नायक।

सागरले भनेका थिए, 'म त उड्दा पनि गीतहरु गाउने हो।' उनले भनेजस्तै डाँडा नजिकतिर उनको ग्लाइड आइपुग्दा गीत गाइरहेको सुनिन्थ्यो।

दुवैले करिब एक घण्टाको उडान भरे। गोदावरी आसपासको आकाशमाथि।  

प्याराग्लाइडर रचनाटारमा आएर ल्यान्ड भयो। ल्यान्डिङपछि नाजिर हुसेनले भने, 'मलाई त प्लेनबाट हेरेकोजस्तै हुन्छ होला भन्ने लागेको थियो। होइन रै'छ।' उनले काठमाडौं नजिक रहेर पनि चापाखर्कबाट देखिएको दृश्यले आफूलाई छक्क पारेको बताउँदै भने, 'धन्न आज मौसम खुलेको दिन पर्‍यो।'

हिमालहरुको पृष्ठभूमिमा उड्दै फोटो, भिडियो खिच्नु उनको लागि रोचक अनुभव बन्यो। उनले भिडियो सन्देशहरु समेत बनाएको सुनाए। प्रकृतिसँग नजिक रहनुको अनुभव प्याराग्लाइडिङले दिलाएको बताए उनी। भने, 'वरपर हेर्नका लागि कत्ति धेरै सुन्दर चिजहरु रहेछन्। तर, मानिसलाई फुर्सद भए पो त।'

आफूले बिहान जिम, दिउँसो ड्राइभिङ क्लास र बेलुकी अवार्ड कार्यक्रम छुटाए पनि ग्लाइडका लागि आएर केही नगुमाएको सुनाउँछन्।

उनी हातमा रहेको गोप्रोबाट फोटो भिडियो खिच्दै थिए। पाइलट विजयको बोली सम्झिए – 'अब गोप्रो छोड्नुस्, आँखाले क्याप्चर गर्नुस्। यो दृश्य पछिसम्म रहन्छ।'

'उहाँको कुराले मलाई कस्तो खुशी लाग्यो। साँच्चै पूरा मन ध्यान वरपरका देखिएका सेता हिमाल, तल देखिएको हरियो वन र ठाउँ ठाउँका साना बस्तीहरुमा हुँदा छुट्टै मजा आयो। हिमाल छुन मन लागेको थियो मलाई त,' उनले भने।

उड्नु अघि एक्रोबेटिक्सका लागि हौसिएका उनलाई उड्नका लागि दौडदा र ओर्लनेक्रममा तल तल पुग्दा मनमा चिसो पसेको अनुभव साटे। भने, 'अब त प्रकृतिसँग यति नजिक हुने साहसिक खेलहरुको मौका सकेसम्म कहिले पनि छोड्दिन।'

सागर आलेले त उड्दा उड्दै आठवटा गीत गाएर भिडियो रेकर्ड गराएछन्। 

उनलाई प्याराग्लाइडिङ गर्नेहरु देख्दा सधैं लाग्थ्यो- मान्छेहरु यस्तो डरलाग्दो काम कसरी गर्न सक्छन् होला। तर, आइतबार उनी आफै उड्दै थिए।

'आफूभन्दा तल तल चिलहरु उडिरहेको देख्दा त अब त अझै धेरै साहसिक खेलहरु खेल्न सक्छु भन्ने हौसला जुट्यो,' भने, 'आँट गरेपछि डर त आफैँ हराउने रहेछ।'  

एक घण्टा उनले आफ्नै लागि समय दिए, त्यो पनि खुला हावामा। उड्नु उनका लागि हरचिज भुलेर स्वतन्त्र रहनु सरह भएको बताउँछन्। भने, 'चिसो हावा महसुस गर्दै, खुलेर गीत गाउन पाउनु निकै रमाइलो क्षण रह्‍यो।'

काठमाडौं प्याराग्लाइडिङ पुन: सञ्चालनमा आएपछि गोदावरी चापाखर्कबाट उडान सुरु भएको हो। पहिलोपटक सन् २००७ मा यहाँ सुरु भएको एड्भेन्चर स्पोर्टस् २०१५ मा गएको भूकम्पका कारण बन्द भएको थियो। गत डिसेम्बर महिनाबाट कम्पनीले पुन: फ्लाइट सुरु गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell