PahiloPost

Feb 21, 2019 | ९ फागुन २०७५

रेलको लिकमा शव भेटिएका छात्राको 'सुसाइड नोट': हिन्दीमा लेखिएको छ ‘हमलोग अब इस् दुनियाँ में जी नहीं पाएंगे'


राधेश्याम पटेल

रेलको लिकमा शव भेटिएका छात्राको 'सुसाइड नोट': हिन्दीमा लेखिएको छ ‘हमलोग अब इस् दुनियाँ में जी नहीं पाएंगे'

वीरगंजः सरस्वती पूजाको दिन आइतबार बिहान साढे ८ बजे वीरगंजको सीमावर्ती सहर रक्सौल नजिक काननाबाट पर्साका दुई किशोरीको शव रेलको लिकमा फेला पर्छ। पर्साको ग्रामीण भेगका दुई किशोरी वीरगंजमा अध्ययनरत थिए। तर कसरी रक्सौलभन्दा ५ किलोमिटर दक्षिण–पश्चिम पुगेर आत्महत्या गरे वा कसैले मारेर रेलको लिकमा फ्याँक्यो सबैको ध्यान खिचेको छ।

कालिकामाई गाउँपालिका–२ भेडीहारी बस्ने राजेश्वर साहकी १७ वर्षीय छोरी निभाकुमारी साह र सोही गाउँपालिका–३ हरिहरपुर बस्ने हरिकिशोर चौरसियाकी १८ वर्षीय छोरी किरण चौरसियाको रक्सौल नजिक रेल्वे लिकबाट शव फेला परेको थियो।

पर्सा प्रहरीले किशोरी बस्ने वीरगंज–१० रानीघाट कुमारीमाई नजिक डेराबाट सुसाइड नोट फेला पारेपछि घटनाको प्रकृति आत्महत्यातर्फ उन्मुख भएको अनुमान समेत गरिएको छ। तर, आत्महत्याका लागि उक्त विकट ठाउँ उनीहरूले किन रोजे भन्ने प्रश्न उब्जिएको छ।

प्रहरीले किरणले नै लेखेको उनकै हरियो डायरीमा डेराबाट सुसाइड नोट फेला पारेको दाबी गरिरहेको छ। पर्सा प्रहरीले आइतबार राति साढे ८ बजे कालिकामाई गाउँपालिका –५ का वडाध्यक्ष पवन तिवारीसहितको टोलीले निभा र किरण बस्ने डेराको ताल्चा फुटाई खानतलासी गरेको थियो। दैनिक उपभोग्य सामान र कापी किताबभित्र हरियो डायरी फेला परेको थियो।

आधा डायरीमा माया प्रेमसम्बन्धी सायरी लेखिएको छ भने अन्त्यमा रातो रङ्गको डटपेनले सुसाइड नोट लेखिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए।

प्रहरीले सुसाइड नोटको परीक्षण गरिरहेको छ।

सुसाइड नोट किरणको डायरीमा भएकोले किरणले नै लेखेको अनुमान गरिएको छ। नोटको अन्तिममा ‘एन प्लस के’ लेखिएको कारण दुबेले सहमतिमा सँगै बसेर नोट लेखेको पनि अनुमान गरिएको छ।

सुसाइड नोटबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले नोट लेखाई कसैले हत्या गरी रेल्वेको लिकमा फालिएको हुनसक्ने तर्फ पनि अनुसन्धान केन्द्रित गरेको छ।

नोटमा हिन्दी भाषा प्रयोग गरिएको छ। जसमा लेखिएको छ ‘हमलोग अब इस् दुनियाँ मेँ जी नहीं पाएंगे, हम लोग जिस निर्णय पर पहुँचे है, उसका राज हम ही जानते हैं, जीने का अब कोही अर्थ नहीँ, ममी पापा आपलोग किसी पर शंका उपशंका मत किजिएगा।’

नोटको पछाडिपट्टि लेखिएको छ ‘अनत् मे, आपलोगोंका सपना हमलोग पूरा नहीं कर पाए।’

अन्तिममा ठूलो अक्षरमा अङ्ग्रेजीमा –‘सो सरी आई लभ यु ममी–पापा, एन प्लस के’ लेखिएको छ।

नोटको विषयमा सहजै पत्याउने अवस्था नरहेको भेडिहारी –२ का वडाध्यक्ष सोनालाल चौरसियाले बताए। उनले घटनाको प्रकृति र र घटनास्थल  शंकास्पद देखिएकोले मृतकहरूले प्रयोग गर्ने फोन सम्पर्कको विस्तृत जानकारी निकाली गहिरो अनुसन्धानको खाँचो रहेको बताए। उनले प्रहरीले आत्महत्या नै हो भने कसले प्रेरित ग¥यो त्यस विषयमा अनुसन्धान गरी घटना पत्ता लगाउन आग्रह गरे।

 

किरणको हुँदै थियो छेका

हरिहरपुरकी किरण र भेडीहारीकी निभाको भेट सुकई साह मावि भेडीहारीमा भएको थियो। त्यहाँबाट उनीहरूले गत वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरी उच्च शिक्षाका लागि वीरगंज आएका थिए।

निभा विपिसीमा पढ्थिन भने किरण सत्यम् पब्लिक कलेज श्रीपुरमा। उनीहरूले डेरा लिएको घरमा भेडीहारी आसपासका अन्य चारजना छात्रा पनि बस्थे। तीमध्ये दुई जना शनिबार राति वीरगंज डेरामा फर्केनन्। निभा र किरण घरबाट ट्युसन फि लिएर फर्केको निभाकै बुबा राजेश्वर साह बताउँछन्।

शव रक्सौलबाट ल्याएर दाहसंस्कार पनि गरिएको छ। किरणको यसै २० फेब्रुअरीमा भारत विहार रामनगरका केटासँग छेका (टीकाटालो) हुने मिति तय भएको थियो। छेकाभन्दा ९ दिन पहिले किरणको लास भेटिनु रहस्यमय रहेको अनुमान लगाइएको छ।

उनी आत्महत्या गर्न प्रेरित भएको, विवाह करकापमा भइरहेको थियो वा अन्य कुनै कारण रहेकोबारे पनि चर्चा चलाइएको छ।

डेरामा किरणमात्र मोबाइल बोक्थिन्। स्थानीयले भने कल डिटेलका आधार घटना पत्ता लाग्ने भन्दै छानबिनको माग गरेका छन्।

 

मेधावी छात्रा

निभा पढाइमा राम्रो रहेको उनी पढ्ने विपिसीका सञ्चालक डा. दीपक शाक्य बताउँछन्। शाक्य भन्छन्, ‘निभाले बि प्लस ल्याएर एसईई पास गरेकी थिइन। भलाद्मी र पढाइमा राम्री थिइन। उनले आत्महत्या गर्न सक्दिनन्।’

घटनाका दिन दुबै जना डेराबाट साढे ६ बजे निस्कँदा किरणले घरको नम्बरमा फोन गरी कुरा पनि गरेको परिवारका सदस्य बताउँछन्। उनले सरस्वती पूजा गर्न कोठाबाट हिँडेको जानकारी गराएकी थिइन्।



रेलको लिकमा शव भेटिएका छात्राको 'सुसाइड नोट': हिन्दीमा लेखिएको छ ‘हमलोग अब इस् दुनियाँ में जी नहीं पाएंगे' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट