काठमाडौँ घुससहित पक्राउ परेका काठमाडौँ जिल्ला अदालतका नायव सुब्बा भोलानाथ चालिसेले बयानका क्रममा पोलेपछि जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँमाथि थप छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्याय परिषद्लाई पत्राचार गरेको छ। पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका चालिसेले उक्त रकम न्यायाधीश बानियाँको सल्लाह र सहमतिमा बुझेको बयान अख्तियारमा दिएका हुन्। सो बयानपछि बानियाँमाथि थप छानबिनका लागि अख्तियारले पत्राचार गरेको हो।
बहालवाला न्यायाधीशमाथि अख्तियारले छानबिन गर्न पाउँदैन। उक्त प्रकरणमा हालसम्म प्राप्त तथ्य र बयानको विवरण अख्तियारले बुधबार न्याय परिषद्समक्ष पत्राचार गरेको हो। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बानियाँ अहिले पनि न्याय परिषद् काजमा छन्। लेनदेन प्रकरणमा जोडिएपछि परिषद्ले काजमा बोलाएको थियो।
बयानका क्रममा चालिसेले न्यायाधीश बानियाँको इजलासमा विचाराधीन रहेको सवारी ज्यान मुद्दाका प्रतिवादीलाई सजाय कम गरी दिने भनी बानियाँको सल्लाह र सहमतिमा रकम लिएको भनी उल्लेख गरेका थिए।
चालिसको बयान अनुसार अख्तियारले अनुसन्धानका सिलसिलामा प्राप्त प्रमाण कागजातहरू सहित परिषदमा विवरण पठाएको हो। चालिसे बानियाँकै इजलासमा कार्यरत कर्मचारी हुन्।
चालिसेको बयान अनुसारको कसुरमा अब परिषद्ले छानबिन गर्नेछ। परिषद्ले छुट्टै छानबिन समिति बनाएर प्रक्रिया अघि बढाउन सक्नेछ। प्रतिवेदनका आधारमा थप कारबाहीको प्रक्रिया अघि बढ्नेछ।
चालिसेविरुद्ध मुद्दा दायर
घुससहित पक्राउ परेका नासु चालिसेमाथि भने अख्तियारले बुधबार मुद्दा दायर गरिसकेको छ। अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) विपरीतको कसुरमा चालिसेलाई मुद्दा दायर गरेको हो। अख्तियारले चालिसेसँग पाँच लाख बिगो र सोही बमोजिम जरिवाना रकम कायम गरेको छ।