PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'बौद्धिकसँग हैरान' प्रधानमन्त्री ओली, भन्छन् : तीन पत्ती तास फिटेझैँ कुरा फिट्छन्



विधुर ढकाल

'बौद्धिकसँग हैरान' प्रधानमन्त्री ओली, भन्छन् : तीन पत्ती तास फिटेझैँ कुरा फिट्छन्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी फुटाउन खोज्ने र दुई अध्यक्षको जोडीलाई छुटाउन खोज्नेहरु भए पनि जोडी नछुट्ने बताएका छन्। 

बिहीवार जनताको जलविद्युत कार्यक्रमको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्। 'दुई अध्यक्षहरुको भेट बाटोमा हिँड्दा हिँड्दै झल्यास भेटिएको जोडी होइन फुट्नलाई,' उनले भने, 'यो योजना बनाएर, सबै कुरा मिलाएर भेटिएको जोडी हो।'

पार्टीको एकता फुटाउन खोज्नेहरु सक्रिय रहेको भन्दै यस्तो कुरा दुई अध्यक्षले बुझेको ने क पाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बताए। 

'बालाई गएर बा आमा त बोक्सी हुन ख्याल गर्नु है नत्र राती विचार गर्नु मुख सुघ्न आउँछिन् भन्ने अनि आमालाई गएर बा त खत्तम भए जड्याहा भए नत्र राति मुख सुँघ्नु भन्ने,' प्रम ओलीले भने, 'यस्ता कुरा हामीले बुझेका छौँ।'

उनले कुराको भारी बोकेर हिँड्नेहरु रहेको टिप्पणी गरे। 'सरकारमा जाने काम नगर्ने अनि अनेक बाहना बनाउने दिन गए। पहिला पेट पाल्न नेपालीले भारती बोक्थे। अहिले भारीको सट्टा कुरा बोक्न थालेका छन्,' उनले अगाडि भने, 'नेपाली जनताले यस्ता कुरा बोक्नेलाई ठेगान लगाइसके।'

भ्रष्टाचार विरोधी अभियान झिंगामात्र मार्ने होइन बाघ आए पनि पल्टाइन्छ
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार विरोधी अभियानमा कसैलाई छुट नदिने दावी दोहर्‍याएका छन्। 

उनले चीनको भ्रष्टाचार विरोधी अभियानको उदाहरण दिँदै कसैलाई भ्रष्टाचार गरे नछाड्ने बताए। 

'चीनमा राष्ट्रपति सीले भनेका छन् भ्रष्टाचार विरोधी अभियान झिंगा मात्र मार्ने होइन बाघ आए पनि पल्टाइन्छ,' उनले अगाडि भने, 'हाम्रो अभियान पनि त्यस्तै हो झिंगा मात्र मार्ने होइन बाघ आए पनि पल्टाइन्छ।'

बौद्धिक उचाइसँग हैरान भइयो, तीन पत्ती तास फिटेझैँ कुरा फिट्छन्
यता प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल १० वर्षमा विकासको काँचुली फेर्ने बताएका छन्। बिहीवार सुभारम्भ भएको जनताको जलविद्युत कार्यक्रम सफल भएरै छाड्ने उनको दाबी थियो। 

'खोलामा चाल्दा सुन भेटिन्छ तर हामी गरीब छौं। खोलामा नसकिने पानी छ हाम्रा खेत बाँझै छ। विद्युत उत्पादनमा धनी छौँ तर विद्युत किनेर बाल्छौँ। दक्षिण एसियामा पहिले हामीले जलविद्युत बनायौं तर विद्युत किनेर बाल्छौँ,' उनले भने, 'हामीसँग फलाम खानी छ, तर सियो काटी पनि विदेशबाट किन्छौँ। यो चिज बदल्नु छ। हामी सबै चिज भएका गरिब होइनौं सबैचिज भएका धनी बन्नुछ।' 

उनले विकास गर्छु भन्दा आलोचना गर्नेहरुलाई समेत कार्यक्रमले जवाफ दिएको बताए। 

'राम्रो गर्न खोज्यो आधार खोइ भन्छन्। तपाईं सुखी हुनुहुन्छ भन्दा केको आधार चाहियो। बौद्धिक उचाइसँग हैरान भैइयो, तीन तासेले तास फिट्या भन्दा बढ्ता कुरा फिट्याछ,' प्रधानमन्त्री ओलीले भने, 'अब तपाई सुखी हुनुहुन्छ भन्दा के को आधार चाहियो?'

उनले आधार खोज्नेहरुलाई सरकारले काम गरेर आधार देखाएको दाबी गरे। 'आधार देख्नु भएन? यति छिटो आयोजना अगाडि बढ्या अगाडि देख्नु भाथ्यो?,' उनले प्रश्न गरे, 'हिजोमात्र रोजगार दिने कार्यक्रम सुरु गरे। अघिमात्र पानी जहाजको कार्यालय स्थापना गरेर आएको छु। अहिले जनताको विद्युत कार्यक्रम सुरु गरेको छु। अब यो भन्दा ठूलो आधार के चाहियो?'

प्रधानमन्त्री ओलीले हरेक दिन सरकार एक कदम अगाडि बढेको बताए। 'तै पनि अझै आधार चाहियो भन्छन्,' उनले भने।

खल्तीमा सुको नभए सरकारले हाल्दिन्छ
प्रधानमन्त्री ओलीले अब खल्तीमा पैसा नभएको नेपाली कोही नहुने बताए। 'रोजगार कार्यक्रम सुरु भएको छ। अब खल्तीमा पैसा नभएको कोही नेपाली हुने छैन्,' उनले भने, 'खल्तीमा पैसा नभए सरकारले खल्तीमा पैसा हालिदिन्छ।'

प्रधानमन्त्री ओलीले यो वर्ष विकासको आधार वर्ष भएको बताए। उनले यस एक वर्षमा विकासका धेरै काम भएको दाबीसमेत गरे। 'एक वर्षमा सरकारले सबैभन्दा बढी काम गरेको छ। यो विकासको आधार वर्ष हो,' उनले भने, 'यो आधार पाँच वर्षको लागिमात्र होइन १०, २०, ३० वर्ष मात्र होइन। एक, दुई, तले होइन १००० तला बनाउन सक्ने आधार तयार भएको छ।' 

उनले सरकारले विकासको काम गरेर देखाउने दाबी गरे। 'यो ८ कक्षामा पढ्ने विद्यार्थीको वक्तृत्वकला होइन विकास निर्माण गर्ने अभियान हो। अब अल्पविकसीत मुलुक होइन विकासशील मुलुक बन्छ। १० वर्षमा विकासको काँचुली फेर्ने छ,' उनले भने।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell