PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रगतिको सूची थप्न प्रधानमन्त्री ओलीको हतारहतार 'शुभारम्भ'



बीपी साह

प्रगतिको सूची थप्न प्रधानमन्त्री ओलीको हतारहतार 'शुभारम्भ'

काठमाडौं : यो साता प्रधानमन्त्री केपी शर्मा ओली अति नै व्यस्त रहे। हरेक दिन समुद्‍घाटनको भ्याइ नभ्याइ। एकै दिनमा एउटामात्र होइन, दुई चारवटै कार्यको थालनी। स्वास्थ्य अवस्थाका कारण केही समय थलिएपछि लामो समय नदेखिएको सक्रियता पछिल्लो समय ह्वात्तै देखियो। 

कारण - रिपोर्ट कार्डमा प्रगति विवरण थप्नु। आर्थिक सूचकाङ्क र वित्तीय क्षेत्रमा संकटका रेखाहरु प्रस्ट देखिँदा पनि प्रधानमन्त्री सामु दवाव थियो - एक वर्षे कार्यकालमा प्रगतिको सूची उकासिँदै गरेको देखाउनु। काम होस् नहोस्, लक्ष्य पुगोस् नपुगोस् - तर रिपोर्ट कार्ड मेन्टेन गर्न नै भए पनि प्रधानमन्त्री ओलीले देखाएको सक्रियता लोभलाग्दो रह्यो।

२०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओली नेतृत्व सरकारको एक वर्ष पूरा भयो। त्यसैले आज उनले सार्वजनिक सम्बोधन गर्दै सरकारले गरेका कामको फेहरिस्त जारी गरे जसमा आजमात्रै उद्घाटन गरेका दुईवटा कार्यक्रम समेत अटाउन भ्याए। त्यसैले पनि उनको गएको साताको 'र्‍यापिड फायर समुद्‍घाटन' सफलताको सूची चुल्याउनकै लागि थियो भन्ने प्रस्ट छ।

सरकार गठनको एक वर्ष पुग्न एक दिन बाँकी रहँदा दुई चर्चित शुभारम्भ भए प्रधानमन्त्रीद्वारा। एउटा पानी जहाजको कार्यालय समुद्‍घाटन र अर्को नेपालको पानी जनताको लगानी। हिजो युवाका लागि बेरोजगार भत्ताको शुभारम्भ गरेका थिए उनले। यी सबै विषय आज उनले सार्वजनिक गरेको सरकारको सफलताका सूचीमा समेटिएका छन्। 

यो सूची तयार पार्नका लागि जोड्नुपर्ने यी 'शुभारम्भ'हरुमा प्रधानमन्त्रीको सक्रियता यति धेरै बढ्यो कि पूर्वनिर्धारित 'जनयुद्ध दिवस'मा समेत ओली सहभागी हुन सकेनन्। त्यसै दिन उनले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरे। 

काम गर्न नसकेको भन्दै आलोचित बनिरहेको सरकारसामु देखाउन योग्य कार्यक्रमको आवश्यकता थियो - जसलाई यस्तै कार्यक्रमबाट उनले समेटे। उनले कार्यक्रम समेट्नका लागि नै यति स्पिडमा काम गरेको भने आफ्नै मन्तव्यबाट खुलासा पनि गरे। 

आज विहान मात्रै मैले पानीजहाज कार्यालय उद्‍घाटन गरेँ। त्यो रमाइलोका लागि हैन, जहाज चलाउनकै लागि हो। भोलिबाट फेरि कसैलाई गिज्याउन मन लाग्ला र भनिएला - 'अड्डा खुलेछ, टिकेट काट्न जाऔं कि?' म पनि ठट्टा गरौं? 'त्यो टिकट काट्ने अड्डा हैन। नजानुस्। टिकट काटेर जहाज चढ्ने दिन पनि आउँछ। खबर मै गरौँला।' 

'हिजो दिउँसो मैले प्रधानमन्त्री रोजगार कार्यक्रम उद्घाटन गरेँ। यसले कामको खोजीमा रहेका शीप भएकमा वा नभएकाहरुको विवरण तयार गर्छ र हाम्रो संविधानमा उल्लेख भए बमोजिम रोजगारीको हक उपलब्ध गराउन सरकारलाई सहजीकरण गर्छ। यी अभियानहरु हाम्रा काम तथा रोजगारीसँग जोडिएका कार्यक्रम हुन्।' 

सरकारले पाँच वर्षभित्रमा बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्यको लक्ष्यसहित घोषणा गरिएको कार्यक्रमले बेरोजगार युवालाई वर्षमा कम्तिमा एक सय दिन रोजगारी दिने भनेको छ। सरकारले रोजगारी नभएका प्रत्येक परिवारका एक सदस्यलाई कम्तिमा एक सय दिनको रोजगारी दिने दावी गरेको छ। भलै यो कार्यान्वयनमा पुग्दा कुन स्वरुप ग्रहण गर्छ अहिले नै भन्न सकिन्न। 


यसैगरी आज सरकारले पानी जहाज कार्यालय स्थापना गरेको छ। प्रधानमन्त्री ओलीले एकान्तकुनामा रहेको कार्यालयको उद्घाटन गरेका हुन्। माघ ३ गतेको मन्त्रिपरिषदको बैठकले पानी जहाज कार्यालय खोल्ने निर्णय गरेको थियो। मन्त्रिपरिषदले कर्मचारी दरबन्दी समेत स्वीकृत गरेको थियो।

नेपालमा पानी जहाज संचालनको कुरा ओलीले उठाउँदै आएका थिए। जसको आलोचना पनि भएको थियो। 

आज नै ओलीले जनताको जलविद्युत आयोजना कार्यक्रमको शुभारम्भ गरेका छन्। 'नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी' भन्ने नाराका साथ सुरु गरिएको कार्यक्रमको प्रधानमन्त्री ओलीले राष्ट्रिय सभागृहबाट आरम्भ गरेका हुन्। 

यसअघि रेल विभाग पनि गठन नभएको होइन। नभएको काम मात्र हो। अघिल्लो साता मात्रै प्रधानमन्त्रीले झापाबाट रात्रि उडानको पनि शुभारम्भ गरेका थिए। पर्यटन मन्त्री रवीन्द्र अधिकारीको सक्रियतामा उडान सुरु गरिएको थियो। आजको रिपोर्टमा त्यसलाई पनि अटाउँदै सरकारले एक वर्षमा उल्लेख्य काम गर्न सकेको प्रधानमन्त्रीले जनाएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell