PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

स्याफ्रुबेँसी सडक विस्तारमा वडाध्यक्षबाटै अवरोध, १० जना पक्राउ



रासस

स्याफ्रुबेँसी सडक विस्तारमा वडाध्यक्षबाटै अवरोध, १० जना पक्राउ
फाेटाे : गुगलम्याप

बेत्रावती: सडक विस्तारसँगै दाँयाबाँया पर्ने जग्गाको मुआब्जा रकम नपाएको भन्दै नुवाकोटको विदुर नगरपालिकास्थित विभिन्न वडाका बासिन्दाले निर्माणमा अवरोध पुर्‍याएका छन्। 

‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाअन्तर्गत विदुर नपा–१ र १० मा मुआब्जा निर्धारण नगरी सडक विस्तार अघि बढाएको भन्दै प्रभावित बासिन्दाले काममा अवरोध गरेका हुन्। सडक विस्तार गर्न नदिएको भन्दै बिहीबार वडा नं–१० का वडाध्यक्ष गणेशकुमार नेपाल र वडा सदस्य विष्णुप्रसाद प्याकुरेलसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएर गएराति छाडिदिएको छ। 

मुआब्जा निर्धारण नभई सडक विस्तार गर्न नदिने अडान राखेर काम गर्न नदिएपछि प्रहरीले नियन्त्रणमा लिएका बासिन्दा र आयोजना पक्षबीच छलफल भएपनि निष्कर्षबिहीन भएको छ। प्रभावित बासिन्दाले सडक विस्तारमा अवरोध कायम गर्ने बताएका छन्। 

योजनाअन्तर्गत सडकको दाँयाबाँया १५/१५ मिटरमा पर्ने साविक दुईपिपल, रातमाटे र जिलिङ गाविसको मुआब्जा निर्धारण भएर रकम वितरण भइरहेको र बाँकी स्थानमा निर्धारण नहुँदा स्थानीयवासीले निर्माणमा अवरोध गर्दै आएका छन्। मुआब्जा माग गर्दै सङ्घर्ष समिति गठन गरी स्थानीयवासीले जिल्ला बन्दसमेत गराए पनि मागको सुनुवाइ नभएको समितिका संयोजक लीलानाथ न्यौपानेले बताए। 

उनले आफू विकास विरोधी नभएको तर कानूनले तोकेअनुसार मुआब्जा उपलब्ध हुुनुपर्ने मागको बेवास्था भएकाले निर्माणमा अवरोध गर्नुपरेको बताए। आयोजना प्रमुख सुवोध देवकोटाका अनुसार पहिलो चरणमा दुईपिपल, रातमाटे र जिलिङको मुआब्जा निर्धारण भएको र दोस्रो चरणमा साविक गेर्खु गाविसको बान्द्रेदेखि बेत्रावती हुँदै मनकामनाको नयाँ पुलदेखि मैलुङसम्म सडकको दाँयाबाँया पर्ने जग्गाको मुआब्जा रकम निर्धारण गर्न लागिएको छ। बाँकी अन्य स्थानमा थप चरणमा निर्णय गर्दै अघि बढ्ने आयोजनाले जनाएको छ। 

चीनसँगको सीमा क्षेत्र रसुवागढीदेखि धादिङको गल्छीसम्मको सडक निर्माणको लागि नेपाल सरकारले ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनामार्फत गल्छीबाट शुरु भएर रसुवागढीसम्म पुग्ने ८२ किमी सडकको निर्माण निर्माण व्यवसायी, नेपाली सेना र चीन सरकारमार्फत तीन खण्डमा काम भइरहेको छ। गल्छीबाट मैलुङसम्मको ४६ किमी सडक कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सनले गरिरहेको छ। 

रसुवाको मैलुङदेखि स्याफ्रुबेँसीसम्म १८ किमी सडक नेपाली सेनामार्फत ट्र्याक खोलेर गत चैतमा आयोजनालाई हस्तान्तरण भएको थियो। स्याफ्रुबेँसीबाट रसुवागढीसम्मको १८ किमि सडक चीन सरकारमार्फत निर्माण अघि बढाउन थालिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell