PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अमेरिकामा संकटकाल तर नझुक्किनुस्, यो नेपालको जस्तो भने होइन



प्रभात भट्टराई

अमेरिकामा संकटकाल तर नझुक्किनुस्, यो नेपालको जस्तो भने होइन
फोटो साभार : पोलिटिको

न्यूयोर्क : राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। मेक्सिकोसँग जोडिएको दक्षिणी सीमा क्षेत्रमा सुरक्षा संकट आइलागेको भन्दै ट्रम्पले संकटकाल घोषणा गरेका हुन्।

सीमाना पर्खाल लगाउने मूल एजेन्डाका साथ चुनाव जितेका ट्रम्पले मागे जति रकम दिन संसद तयार नभए पछि अन्ततः कार्यकारी अधिकार प्रयोग गरी संकटकाल घोषणा गरे। संकटकाल लागू भएको स्थानमा रकम खर्च गर्न संसदको अनुमति नचाहिने भएको कारण उनले यो बाटो रोजेका हुन्। 

***

ट्रम्पले घोषणा गरेको संकटकाल नेपालमा माओवादी द्वन्द्वताका लगाइए जस्तो भने होइन। यसले अमेरिकी भूमिमा आवागमन, व्यापार व्यवसाय लगायत नियमित गतिविधिमा कुनै असर पर्ने छैन।

***

ट्रम्पले कूल आठ अर्ब डलर खर्च गरेर सीमाना पर्खाल लगाउने बताएका छन्। तर, शुक्रबारै उनले हस्ताक्षर गरेको आगामी वर्षको सरकारी खर्च विधेयकमा पर्खालका लागि एक अर्ब ३७ करोड डलर मात्र छुट्याइएको छ। यो रकम बाहेक ६० करोड डलर ट्रेजरी डिपार्टमेन्ट (अर्थ मन्त्रालय) को ड्रग फर फ्युचर फण्डबाट, साढे तीन अर्ब डलर पेन्टागन (रक्षा मन्त्रालय) को मिलिटरी कन्सट्रक्सन बजेटबाट र साढे दुई अर्ब डलर पनि पेन्टागनकै ड्रग इन्टरडिक्सन प्रोग्रामबाट तान्ने ह्वाइट हाउसले जनाएको छ।

ट्रम्पले पर्खालका लागि संसदसँग पाँच अर्ब ७० करोड डलर माग गरेका थिए। उनको यो मागमा डेमोक्र्याटहरु बिल्कुल सहमत थिएनन्। सोही कारण डिसेम्बर अन्तिम सातादेखि ३५ दिन अमेरिकी केन्द्र सरकारका कैयन् विभागहरु सटडाउनमा परेका थिए। तीन साताभित्र सहमति खोज्ने निर्णयसहित जनवरी अन्तिम साता २१ दिनका लागि अल्पकालीन बजेट व्यवस्था गरी सरकार चलाइएको थियो। तर, त्यो अवधिमा पनि ट्रम्पले मागे बमोजिम पर्खालका लागि बजेट दिन अमेरिकी दुबै सदनमा रहेका डेमोक्र्याटहरु सहमत भएनन्। अन्ततः एक अर्ब ३७ करोड पर्खालका लागि छुट्याउँदै बजेट पारित गर्न संसदमा रहेका रिपब्लिकनहरु तयार भए।

दुबै सदनका रिपब्लिकन नेताले संसदबाट पारित बजेट स्वीकार्न र नपुग रकमका लागि राष्ट्रपतिले संकटकाल लगाए बरु समर्थन गर्ने बताएसँगै ट्रम्प सम्झौता गर्न तयार भएका हुन्।

ट्रम्पले २०१६ को राष्ट्रपति निर्वाचनताका मेक्सिकोसँगको सीमाना पर्खाल लगाउने र त्यसको भुक्तानी पनि मेक्सिकोलाई गराउने दावी सहितको प्रचार गरेका थिए। तर, आफ्नो चुनावी भाषण बमोजिम निर्वाचित भएपछि उनले मेक्सिकोलाई पर्खालका लागि पैसा माग्न औपचारिक या अनौपचारिक कुनै खास प्रयास गर्न सकेनन्। तर, पर्खाल लगाउने चुनावी वाचा भने पूरा गरी छाड्ने र त्यसका लागि अमेरिकी ट्रेजरी नै प्रयोग गर्ने उल्लेख गर्दै आएका थिए। 

ट्रम्पले संकटकाल घोषणा गरेसँगै डेमोक्र्याटहरुले भने तीब्र विरोध गरेका छन् । मेक्सिकोसँगको सीमाना अहिले इतिहासकै सबैभन्दा सुरक्षित अवस्थामा रहेको भन्दै संकटकाल पूर्णतया बनावटी रहेको उनीहरुले बताएका छन्। अमेरिकाको सबैभन्दा सम्पन्न राज्य क्यालिफोर्नियाका डेमोक्रेटिक गभर्नर गाभिन न्युसमले यसबारे ट्रम्प बिरुद्ध अदालतमा मुद्दा दायर गर्ने बताइ सकेका छन्।

अमेरिकी सञ्चारमाध्यमहरुको फ्याक्ट जाँच अनुसार दक्षिणी सीमानामा कुनै पनि आतंककारी गतिविधि छैनन् भने लागु औषध कारोवार पनि वैधानिक पोर्ट अफ इन्ट्रिबाट नै धेरै हुने गरेको छ। दक्षिणतिरबाट गैरकानूनी तवरले आउने भन्दा भिसा ओभर स्टे गरेर बस्ने गैर कानूनी आप्रवासीको संख्या धेरै रहेको समेत जनाइएको छ। दक्षिणी सीमाबाट आउनेमा अधिकांश साना बालबालिका सहितका परिवार रहेका छन्। राजनीतिक कारणले आफ्नो मुलुकमा बसोबास गर्न नसकेर आएका व्यक्ति एवं परिवारलाई आश्रय दिने अमेरिकी मान्यता रहिआएको छ। त्यो मान्यतालाई ट्रम्पको राजनीतिक महत्वाकांक्षाले क्षय गरेको भन्दै डेमोक्र्याट सहित कैयन् स्वतन्त्र व्यक्तिले समेत विरोध जनाएका छन्।

ट्रम्पले घोषणा गरेको संकटकाल नेपालमा माओवादी द्वन्द्वताका लगाइए जस्तो भने होइन। यसले अमेरिकी भूमिमा आवागमन, व्यापार व्यवसाय लगायत नियमित गतिविधिमा कुनै असर पर्ने छैन। एकतिर छुट्याएको बजेट अर्को निकायमा लैजाने तजबिजी अधिकार नभएको र पर्खाल नलगाई नछोड्ने आफ्नो अडान पुरा गर्न मात्र ट्रम्पले यो हतियार प्रयोग गरेका हुन्। यसप्रति स्वयं रिपब्लिकनहरु पनि सन्तुष्ट भने छैनन्। मध्यमार्गी विचारका रिपब्लिकनहरुले यदी ट्रम्पले सीमाना पर्खाल लगाउन संकटकाल लगाए भोलि चुनिने डेमोक्रेटिक राष्ट्रपतिले जलवायु परिवर्तन या अन्य लिवरल मुद्दामा पनि यही बाटो रोज्न सक्ने भन्दै चिन्ता समेत व्यक्त गरेका छन्। नर्थ क्यारोलिनका रिपब्लिकन सिनेटर थोम टिलिसले विज्ञप्तिनै जारी गरी ट्रम्प निर्णयको विरोध गरेका छन्। 

अमेरिकी तल्लो सदनमा बहुमत रहेका डेमोक्र्याटहरुले संकटकालविरुद्ध विशेष निर्णय पारित गरी सिनेटमा पठाउने तयारी थालेका छन्। सिनेटमा रिपब्लिकनको बहुमत रहे पनि कैयन् रिपब्लिकन सिनेटरनै ट्रम्पसँग सहमत नरहेका कारण त्यहाँबाट पनि संकटकाल विरुद्धको निर्णय पारित हुन सक्ने बताइएको छ । एकातिर अदालतमा ट्रम्पले दावी गरे बमोजिम सीमामा संकटको अवस्था देखाउन कठिन हुने अर्कोतिर संसदले पनि साथ नदिने हुँदा यो निर्णय कार्यान्वयन हुनेमा भने अमेरिकाका धेरै जसो संचार माध्यमले शंका व्यक्त गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell