PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

डीपीएल : काठमाडौँलाई हराउँदै सिवाइसी अत्तरिया फाइनलमा, दिपेन्द्र र सन्नीको अलराउण्ड प्रदर्शन



पहिलोपोस्ट

डीपीएल : काठमाडौँलाई हराउँदै सिवाइसी अत्तरिया फाइनलमा, दिपेन्द्र र सन्नीको अलराउण्ड प्रदर्शन

धनगढी : सिवाइसी अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) ३ को फाइनलमा प्रवेश गरेको छ।

बुधवार भएको पहिलो क्वालिफायर्समा काठमाडौँ गोल्डेन्सलाई ४१ रनले पराजित गर्दै अत्तरियाले पहिलो पटक डीपीएलको फाइनलमा स्थान बनाएको हो। अत्तरिया पहिलो संस्करणमा अन्तिम भएको थियो भने दोस्रो संस्करणमा चौथो भएको थियो।

यसअघि लिगको अन्तिम खेलमा पनि अत्तरियाले काठमाडौलाई नै पराजित गर्दै लिगमा पहिलो भएर क्वालिफायर्समा स्थान बनाएको थियो।

आज हारे पनि काठमाडौँले फाइनल पुग्ने अर्को अवसर पाउनेछ। दोस्रो क्वालिफायरमा काठमाडौँले भोली हुने रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडबीचको एलिमिनेटर विजेतासँग खेल्नेछ।

अत्तरियालाई फाइनल पुर्‍याउन पुन: एकपटक कप्तान दिपेन्द्र सिंह ऐरी र सन्नी पटेलले अलराउण्ड प्रदर्शन गरे।

ब्याटिङमा दिपेन्द्रले ३३ र सन्नी पटेलले २८ रन बनाए। यस्तै बलिङमा सन्नी पटेलले ३ विकेट लिँदा दिपेन्द्रले किफायती बलिङ गर्दै ४ ओभरमा ८ रन मात्र खर्चे।

फाप्ला मैदान टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको थियो। २६ रन हुँदा २ विकेट गुमाएको अत्तरियाका लागि सुबेन्द्र पाण्डे र दिपेन्द्रले तेस्रो विकेटका लागि ४० रनको साझेदारी गरे। दिपेन्द्रले ३४ बल खेल्दै ५ चौकाको मद्दतमा ३३ रन बनाए। सुबेन्दुले १६ रन जोडे। सन्नी पटेलले २४ बल खेल्दै १ चौका र २ छक्काको मद्दतमा २८ रन योगदान गरे।

काठमाडौँका अंकित दबासले ४ ओभरमा ११ रन खर्चेर २ विकेट लिए। सूर्य तामाङले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिए।

११ रनको लक्ष्य पछ्याएको काठमाडौँ ३ बल अगाडि ६९ रनमा अलआउट भयो। काठमाडौँका लागि गौरव तोमरले सर्वाधिक २६ रन बनाए। कप्तान ज्ञानेन्द्र मल्ल र योगेन्द्र सिंह कार्कीले ११-११ रन बनाए भने बाँकी खेलाडीले दोहोरो रन छुन सकेनन्।

काठमाडौँलाई अलआउट गर्न अत्तरियाका लागि स्पनीरले उत्कृष्ट प्रदर्शन गरे। अत्तरियका सन्नी पटेल, भुवन कार्की र दिपेन्द्र सिंह तीन स्पिनरले ६ विकेट लिएका थिए। सन्नी पटेलले ४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर ३ विकेट लिए। भुवन कार्कीले ३.३ ओभरमा १२ रन खर्चेर २ विकेट लिए भने कमल ऐरीले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिए।

कप्तान दिपेन्द्र ऐरीले ४ ओभरमा १ मेडन राख्दै ८ रन मात्र खर्चेर १ विकेट लिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell