PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्रीज्यू! जनताले गर्वसाथ मेरो प्रधानमन्त्री भन्ने दिन कहिले आउँछ हजुर?



पहिलोपोस्ट

प्रधानमन्त्रीज्यू! जनताले गर्वसाथ मेरो प्रधानमन्त्री भन्ने दिन कहिले आउँछ हजुर?

  • कञ्चन राज गिरी-

प्रिय प्रधानमन्त्रीमन्त्रीज्यू,

नमस्कार!

सरकार गठनको १०० दिन पुग्दै गर्दा हजुरले भन्नुभयो "बच्चा पाउन त नौ महिना लाग्छ। अहिल्यै कहाँबाट ल्याउने रेल र पानीजहाज?"

हामीले रेल र पानीजहाजमा त्यति जोड कहिल्यै गरेका थिएनौँ तर नमागेकै कुरा पुर्‍याइदिने मनकारी प्रधानमन्त्री पाएपछि दङ्ग पर्‍यौँ। हजुरको सरकार रेल र पानीजहाज मात्रै विकास हो भन्ने जबर्जस्त मानसिकता बनाएर बस्यो। भर्खरै सरकार गठनको एक वर्ष पुग्दै गर्दा सरकारले विकासको आधार तयार भएको रिपोर्ट कार्ड निकाल्यो। सञ्चारमन्त्रीले समुन्द्रको छालजस्तै काम अघि बढेको दाबी गरे। भोलिपल्टै लोकगायक पशुपति शर्माको भाइरल गीत 'लुट्न सके लुट कान्छा'ले सरकारको 'सफलताको सूची'मा कालो पोत्ला जस्तो भो।

गीत सरकार समर्थकलाई टाउको दुखाई बन्दै गयो। हजुरका उग्र कार्यकर्ता सामाजिक सञ्जालमा कुर्लिए। अन्तत् जनताको मनको गीत गाएका पशुपति शर्मा माफी माग्दै युट्युबबाट गीत हटाउन बाध्य भए।

राणा र पञ्चायतकालीन झल्को दिने शासकीय प्रवृत्ति हामीले यसै हप्ता भोग्यौँ, बेहोर्‍यौँ, हामीले विश्वास गरेर दुई तिहाइ मत दिएको सरकारले एक वर्ष पूरा गरेको अवसरमा। भ्रष्टाचारमाथि व्यङ्ग्य गरिएको गीतमा आकाश नै खस्ने वा धर्ती नै भासिँने कुनै विषय थिएन। विवेकसम्मत रूपले सोच्ने हो भने गीत सरकारलाई पृष्ठपोषण थियो। जनताको दैनिक जीवनयापन सहज पार्नेगरि काम गर्न मार्गदर्शन थियो। सरकार र विशेष गरी हजुरका कार्यकर्ताले गीतको सतही अर्थ निकाले। गीतको गुदी बुझ्न सकेनन् र बोक्रामै अलमलिए। आठ अन्तरा रहेको गीतमार्फत् गायकले निम्न प्रश्न उठाएका थिए :-

१. आफ्नो सन्तानलाई निजी विद्यालयमा पढाउने सामुदायिक विद्यालयको स्थायी शिक्षकले विद्यालयमा कस्तो पढाउँछ?

२. सरकारी तलब भत्ता खाने सरकारी डाक्टर कार्यालय समयमा किन निजी क्लिनिक धाउँछ?

३. थोरै तलब खाने, सानो तहको सानो कर्मचारीले छोटै अवधिमा सहरमा कसरी महल बनाउँछ?

४. गरिब देशकी आलंकारिक राष्ट्रपतिलाई किन राजसी ठाँटबाँटको मोह जागेको हो?

५. वाइडबडी र सुनकाण्डजस्ता भ्रष्टाचार र तस्करीका विषयहरू किन ओझेल पर्दै छन्?

६. जनतालाई सहज हुने ट्राफिक बत्तीहरू सडकमा जोड्दा सरकारको ढुकुटी नै रित्तिने हो र?

७. सडक बनाउने जिम्मा लिएको ठेकेदारले बाटो झनै बिगारेर जनतालाई सास्ती दिँदा सरकार किन कानमा तेल हालेर बस्छ?

८. स्वर्गजस्तो देशमा यमराजको शासन किन भो? किन सबै जना लुट्नै पर्ने मानसिकता बोकेर हिँडेका छन्?

गीत समय सान्दर्भिक छ। साथै व्यंग्यात्मक पनि छ। व्यङ्ग्य भन्नु नकारात्मक वा सकारात्मक हुँदैन। व्यङ्ग्य भन्नु नै घोचपेच हो। कसैलाई कलामार्फत् घोचेर जगाउनु व्यङ्ग्य हो। व्यङ्ग्यमा बोल्नेले उल्टो समेत बोल्छ, तर बुझ्नेले सुल्टो बुझ्नुपर्छ। हजुरजस्तो व्यङ्ग्य चेत भएको व्यक्तिलाई यो ज्ञात नै छ। यहाँ देशको बागडोर सम्हालेको हजुरको शासनलाई व्यङ्ग्य गरिएको छ। यसबाट सरकार त ब्युँझिनुपर्ने हो। कार्यकर्ता समेत सचेत र जागरुप हुनुपर्ने हो। किनभने गीतमा उठाइएका विषय जनचासोका विषय हुन्। जनताको दैनिक जीवनयापन प्रभावित गर्ने विषय हुन्। जनताका प्रश्न हुन्। हाम्रा प्रश्न हुन्। हामीले यिनै प्रश्नको सम्बोधन गर्न दुई तिहाइ मत दिएर यो सरकार बनाएका हौँ। हाम्रो मत, हाम्रो विश्वास यी प्रश्नको सम्बोधन गर्न हो, यी प्रश्न प्रतिबन्धित गर्न होइन।

 

प्रिय प्रधानमन्त्रीज्यू,

गायक पशुपति शर्माको कन्ठबाट निस्केको आवाज नेपाली जनताको आवाज हो। भलै उनले माफी माग्दै सच्याएर अपलोड गर्ने बाचा गरेका किन नहुन्। अब यो गीतलाई नेपाली जनताले अर्को रूपमा स्विकार्दैनन् भन्ने कुरा युट्युबमा छिनछिनमा भइरहेको अपलोडले प्रमाणित गरिरहेकै छ। गीतको एक शब्दमात्र चलाउँदा पनि गीतको भाव मर्नेछ।

गीतमा राष्ट्रपतिलाई विवादमा तानिएको विषय पनि गलत हो। किनभने सार्वभौम जनता हुन्। जनताभन्दा माथि कुनै संस्था छैनन्। संस्था पनि व्यक्तिबाटै बन्ने हो। यो संसारमा भगवान् त आलोचना मुक्त छैनन् भने संस्था आलोचना मुक्त हुने कुरै हुँदैन। सम्मानित संस्थाले पनि “ठिकै छ, म गरिब देश कि राष्ट्रपति, मलाई ठूलो सुख सुविधा चाहिन्न” भन्न सक्ने उदारता देखाउन सकेको भए जनतामा उहाँप्रतिको आदर कति बढ्थ्यो होला हजुर?

अनि एक जना गायकलाई आफ्नो सृजनाको घाँटी न्याक्न बाध्य पार्ने हजुरका कार्यकर्तालाई के कारबाही हुन्छ हजुर? सामाजिक सञ्जालमा बाहुबल देखाउने, खुल्लम खुल्ला डर, धाक धम्कीको भाषा प्रयोग गर्ने छुट उनीहरूलाई कसले दियो? सडकबाट गाडी गुल्टेर सयौँले ज्यान गुमाउँदा खासै वास्ता नगर्ने हजुरको सरकार सामाजिक सञ्जालमा आउने प्रतिक्रियाले किन तरंगित हुन्छ? सरकार किन प्रतिकृयात्मक बनेको हो? प्रत्येक झिनामसिना क्रियामा प्रतिक्रिया जनाउनु जरुरी छ र हजुर? अनि आलोचना गर्नेहरु सबैलाई काङ्ग्रेसीको बिल्ला किन भिराइन्छ? यति हो सत्तासीन पार्टीको चेतनास्तर?

 

प्रिय प्रधानमन्त्रीज्यू,

सूचना र सञ्चार प्रविधिको आजको युगमा विचार र अभिव्यक्ति स्वतन्त्रताको महत्त्व कति छ भन्ने कुरा त्यही स्वतन्त्रताको लागि बर्षौ जेलनेल भोग्नुभएको हजुरलाई भनिरहन परेन। हजुरले त्यो स्वतन्त्रताको राम्रै उपयोग गरिरहनु भएकै छ। हजुरको बोल्ने स्वतन्त्रतामा कसैले हस्तक्षेप गरेको हजुरलाई स्वीकार्य छ? पक्कै छैन। तर हजुरको लोकतान्त्रिक सरकारले सामाजिक सञ्जाल नियमन गर्ने कानुनलाई किन प्राथमिकतामा राखेको छ? सामाजिक सञ्जाल विकास र समृद्धिको बाधक हो र हजुर? लोकतान्त्रिक दाबी गर्ने सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सेन्सर सीप गर्ने कुरा कसरी सोच्न सक्छ?

मानौँ, सामाजिक सञ्जालमा सेन्सरसिप लाग्यो। त्यो कार्यान्वयन हुन्छ चाहिँ कसरी? विश्वको कुना कुनाबाट प्रयोग हुने सञ्जाल नियमन गर्ने हैसियत छ हामीसँग? त्यस्तो मिहिन कार्य गर्न सक्ने ल्याकत, पुँजी, प्रविधि र जनशक्ति छ त हामीसँग? आज पशुपति शर्माले एउटा गीत हटाउँदा सोही गीत हजारौँले अपलोड गरिरहेका छन्। सरकारले यसबाट सिकोस्। र विकासको मूल मुद्दामा आफ्नो ध्यान केन्द्रित गरोस्।

हजुरको सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रम राम्रो छ। नेपालको पानी जनताको लगानी, प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका कार्यक्रम पनि राम्रा छन्। तर त्यी कार्यक्रमले हाम्रो जनजीवनलाई छोइसकेका छैनन् नि त हजुर। जुन दिन हाम्रो जीवनलाई छुनेछन्, त्यस दिन हामी प्रशंसा नै गरौँला। तर आज सरकारका सकारात्मक कार्यक्रमहरूको प्रशंसा भएन भनेर चित्त नदुखाईदिनुहोला।

 

प्रिय प्रधानमन्त्रीज्यू,

हजुरले देश विदेश घुम्नुभएको छ। संसार देख्नुभएको छ। हजुरलाई सुझाव दिने हैसियत त हामी राख्दैनौँ। तर सरकार बाटोको भेउ नपाएर अलमलिएको जस्तो देखिएकोले जनताको जीविकासँग सम्बन्ध राख्ने, “काम गर्न १०० दिन पनि नलाग्ने” ८ सरल  सुझाव/प्रश्नहरू गायक पशुपति शर्माले उठान गर्नुभएको ८ प्रश्नमा थप गर्ने धृष्टता यहाँ गरिएको छ। कुनै माध्यमबाट हजुरकहाँ पुग्नेछन् र मनन हुनेछन् भन्ने आशा छ।

 

१. सडकमा ट्राफिक नियम कडाइपूर्वक लागु गरियोस्। नियम मिच्नेलाई सके जेल नसके भारी जरिवानाको व्यवस्था होस्। जरिवाना तिर्न महिनौँ लाग्ने भएपछि कसले मिच्छ नियम? सडकको प्रभाव अरू क्षेत्रमा पनि पर्छ। सरकारको मुड सबैले थाहा पाउँछन्। यति काम गर्न विकासको आधार तयार पारिरहन पर्छ र हजुर?

२. सहरहरूमा फोहोर व्यवस्थापनको लागि जैविक/अजैविक छुट्टिने गरी कन्टेनरहरू राखियोस्। उपयुक्त व्यवस्था गरी पोलिथिन निषेध गरियोस्। सार्वजनिक स्थानमा धूम्रपानजस्ता कसुरहरू निषेध होउन्। यी सबै कसुरको लागि माथिको जस्तै कडा कारबाही होस्। कानुनहरू छँदै छन्, थोरै समयानुकूल परिमार्जन गरे पुग्छ। यति काम गर्न कति समय लाग्छ हजुर?

३. सिन्डिकेटले सारै दुःख पाइयो हजुर। एक वर्षअघि प्रक्रिया सुरु भएको -नियम कानुन त बनिसक्यो होला नि। अब त सिन्डिकेट हटाइदिनुस्! सार्वजनिक सवारीको सास्तीले साना दुई पाङ्ग्रे, चार पाङ्ग्रे साधन किन्ने बाध्यता छ। सडकहरू साँघुरा हुँदै छन्। अगाडि पछाडि दुवैतिर ढोका भएका ठूला -ठूला बसहरू चलाउने वातावरण बनाइदिनुस्। अनि बिस्तारै साना-साना सवारीको आयात घटाइदिनुस्। यति गर्न कति समय लाग्छ हजुर?

४. महंगीले बाँच्न गाह्रो भो हजुर। पेशागत सङ्गठनमार्फत मूल्यसुची तय गर्ने परिपाटी अन्त्य होस्। भर्खरै लेख्दा-लेख्दै जेन्ट्स कपाल काटेको मूल्य १३० रुपैयाँ पुग्यो। बजार त खुल्ला बजारको आधारमा चल्नुपर्ने होइन र हजुर? बजार अनुगमन गरी कार्टेल गर्ने, मिलेमतो गर्ने, कालोबजारी गर्नेलाई कडा कारबाही होस्। सरकारले किसानलाई हेरोस्। कृषिउपजको किसानले उचित मूल्य पाउँन्। बिचौलिया नियन्त्रण गरी उपभोक्तालाई राहत दिइयोस्। सीमामा कडाइ गरी व्यापारिक बस्तुको सहज आपूर्ति होस्। यति गरेपछि मूल्यवृद्धिको तथ्याङ्कमा बुद्धिजीवीसँग किन बहस गरिरहन पर्‍यो हजुर?

५. १० वर्षअघि पिच रहेका सडक अहिले वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे छन्। वर्षामा पानी परेकोले हो, हिउँदमा सबै पिच हुन्छन् भन्नुभएकोले दङ्ग परेर बसियो। अब फेरि अर्को वर्षा आउन लागिसक्यो। सडक पिच हुने हिउँद कहिले आउँछ हजुर?

६. राष्ट्रसेवक कर्मचारीदेखि साह्रै आजित छौँ हजुर। सरकारी कार्यालय जान पनि दह्रै मुटु चाहिन्छ। उहाँहरू शासक हो कि सेवक हो? उहाँहरूले मिठो बोल्दा पाप लाग्ने हो कि उहाँहरूले बोल्दा पैसा लाग्ने हो हजुर? उहाँहरूलाई मिठो बोल्न, समयमा कार्यालय आउन-जान, जनताको काम समयमै गर्न आदेश दिन मिल्दैन? सयौँ कानुन बनिरहेकै छन्, कर्मचारी 'फायर' गर्ने कानुन बनाउन कति समय लाग्छ हजुर?

७. सार्वजनिक पदाधिकारी र कर्मचारीलाई सम्पत्ति विवरण भराएर, बोरामा हालेर, पोको पारेर के प्रयोजनको लागि राखिएको हो? देशमा हजारौँ आइटी एक्स्पर्ट छन्। अख्तियारले एउटा सफ्टवेयर बनाएर अध्ययन गर्ने व्यवस्था गर्न मिल्दैन? अकुत अवैधानिक सम्पत्ति आर्जन गर्ने र भ्रष्टाचार गर्नेलाई जेल कोच्न अब देशले कति समय कुर्नुपर्ने हो हजुर?

८. अन्त्यमा, सरकार आफैँ सधैँ आसेपासे, कार्यकर्ताको स्तुतिगानमा रमाइरहनु पर्ने हो र हजुर? चुनावमा सहयोग गर्नेले मात्र तपाईँसँग पहुँच पाउनुपर्ने हो र? तपाईँलाई भोट हाल्ने मात्र तपाईँका जनता हुन् र? प्रतिपक्ष, बुद्धिजीवी वा   तपाईँलाई भोट नहाल्ने अरू- सबै तपाईँका जनता होइनन् र? तपाईँ हामी सबैको प्रधानमन्त्री होइन र? देशमा थिति बसाइदिनुस्, कसैलाई काखा कसैलाई पाखा गर्नै पर्दैन नि हजुर। जनताले गर्वसाथ मेरो प्रधानमन्त्री भन्ने दिन कहिले आउँछ हजुर?

बस्, तत्कालै हामीले चाहेको यत्ति हो। हामीसँग ठूला ठूला इच्छा आकांक्षाहरु छैनन्। बस दैनिक जीवनयापन सहज होस् भन्ने चाहेका छौँ। देशमा थिति बसोस्, गरी खाने वातावरण बनोस् भन्ने चाहेका छौँ। आफ्नो परिवारसँग बिछोडिन नपरोस् भन्ने चाहेका छौँ। देशमा थिति बसेपछि देशभरि पक्की सडक पनि बन्ला। राष्ट्रिय गौरवका आयोजनाहरू पनि कार्यान्वन होलान्। जलविद्युत आयोजनामार्फत विद्युत् निर्यात पनि गरौँला। रेल र पानीजहाजमा शयर पनि गरौँला।  सरकारले सुरु गरेका राम्रा कामको प्रशंसा पनि गरौँला।

आज पशुपति शर्माको गीत सुनेर मन भुलाउने चेष्टा गरेका हौँ। उनले गीतमा उठाएका प्रश्न - हाम्रा पनि प्रश्न हुन्।  हाम्रो प्रश्न गर्न पाउने हकलाई गणतन्त्रमाथिको प्रहार नसम्झिदिनुस्।  झन्डै पौने शताब्दी लगाएर बनाएको संविधानले दिएको हाम्रो बिचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई नखुम्च्याइदिनुहोस्। बिन्ती छ!

आम नेपाली जनताको तर्फबाट 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell