PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

एनसेलमा पड्काउने, अन्त तर्साउने :  विप्लव रणनीति



सविन ढकाल

एनसेलमा पड्काउने, अन्त तर्साउने :  विप्लव रणनीति

काठमाडौं : शुक्रवार राति ६ वटा प्रदेशका २० जिल्लाका विभिन्न स्थानमा एनसेल टावर र भवनमा करीब करीब एकै समयको फेरोमा आक्रमण भयो। ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयमा राति ८ बजे भएको विस्फोटको घटनाले धेरैलाई त्रसित बनायो। सुरक्षित भनिएको राजधानी उपत्यकामै एक जनाको ज्यान जानेगरी घटना हुनुले सुरक्षाको अवस्थामाथि पनि प्रश्न उठ्यो। घटनमा परी दुई जना घाइते भए। 

ज्यान जानेगरी भएको घटनाको चौतर्फी आलोचना भयो। ललितपुरमा भएको विस्फोटमा शक्तिशाली बम भएको पुष्टि हुनुले थप सुरक्षा चुनौती थपिएको छ। 

यति शक्तिशाली बम कसले राख्यो त? देशैभर एउटै समयमा एनसनेलको टावर र कार्यालयमा मात्र किन आक्रमण भयो?  अनि कसले गर्‍यो? विगतको नजिर र प्रकृति हेर्दा घटना यसअघि पनि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले निष्कर्ष सुरक्षा निकायको छ। गृहमन्त्री रामबहादुर थापाले आइतबार राज्य व्यवस्था समितिमा बोल्दै कुनै बेला उनकै राजनीतिका सहयात्री नेत्र विक्रम चन्द उर्फ् विप्लव समूहले विस्फोट गराएको ब्रिफ गरे।

तर, घटनाको दुई दिन बितिसक्दा पनि विप्लव नेतृत्व पार्टी मौन छ। एनसेल कार्यालयमा बम विस्फोट गराउँदा त्रास फैलाउन सहज थियो तर त्यसमा सर्वसाधारण पर्नुले विप्लव समूहलाई फेस सेभिङ गर्नुपर्ने वाध्यता पनि आइलागेको छ। मानवीय क्षतिकै कारण विप्लव समूहले मुख खोलेको छैन। तर, शुक्रवार धेरै ठाउँमा निजी दुरसंचार कम्पनी एनसेलको टावरमा आक्रमण भयो। काठमाडौँको कमल पोखरीको लोत्से चोक नजिकै रहेको मिष्ठान्न भन्डार "आँगन"मा भेटिएको शङ्कास्पद वस्तु राख्नुको उद्देश्य के थियो? घटनाको प्रकृति अलिक फरक थियो। के फेअर साइकोसिसको तयारी थियो वा मानवीय क्षति गर्ने उद्देश्य?

कमल पोखरीमा शङ्कास्पद बस्तु जुन बम थिएन

शुक्रवार नै राति एउटा स्कुटरमा दुई जना युवा आउँछन्। मार्क्स लगाएका दुवै युवा आँगन रेष्टुरेष्टभित्र छिर्छन्। पिज्जा किन्छन्। अनि, सँगै ल्याएको झोला 'एक छिन राख्दिनु' भन्दै निस्किन्छन्। त्यति बेलासम्म नख्खुमा विस्फोट भएको हल्ला फैलिसकेको थियो।

नख्खुको त्रासका कारण कमल पोखरी नजिकैको घटनाको खबर प्रहरीकहाँ पुग्छ। नेपाली सेनाको बम डिस्पोजल टोली डाकिन्छ। तर, झोलामा रहेको कुकुरभित्र कुनै विस्फोटक पदार्थ हुँदैन। भित्र बालुवा र तर्साउन तारहरूमात्रै जोडिएको हुन्छ। ‘मानिसलाई आतङ्कित बनाउन बालुवा र तार राखेको देखियो,' महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले भने।

प्रहरीको अनुसन्धानले भने ललितपुरको घटना गराउने समूह र काठमाडौँमा विस्फोटक पदार्थ राख्ने समूह एउटै भएको खुलेको छ। एक प्रहरी अधिकृतले भने, 'घटनालाई धेरै कोणबाट हेर्दा एउटै समूहले गराएको भन्ने देखिएको छ। यसमा थप अनुसन्धान गरिरहेका छौँ।' ती प्रहरी अधिकृतका अनुसार विप्लव समूहले एनसेलमा बार्गेनिङ गर्ने र थप त्रास फैलाउन नक्सालमा नक्कली वम राखेको अनुसन्धानमा देखिएको हो।

नख्खु प्रकरणमा विप्लवका तीन जना पक्राउ

ललितपुर महानगरपालिका ४ नख्खुस्थित एनसेलको कार्यालय अगाडि शुक्रवार राति विस्फोट गराएको अभियोगमा प्रहरीले देशभरबाट १६ जनालाई पक्राउ गरेको छ। ललितपुरको प्रकरणमा भने ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमध्ये तीन जना विप्लवका कार्यकर्ता समेत रहेका छन्। एक प्रहरी अधिकृतले भने, 'तीन जना विप्लव पार्टीका कार्यकर्ता हुन्। अनुसन्धानको धेरै पाटो खुलेको छ।'

यसरी प्रहरीको नियन्त्रणमा पर्नेमा एनसेल कार्यालयकै दुई जना सुरक्षा गार्डसमेत रहेका छन्। तर, उनीहरूको संलग्नताबारे अहिलेसम्म प्रस्ट खुलिसकेको छैन। प्रहरीको बयानमा उनीहरूले केही कुरा झुट बोलेकाले प्रहरीले उनीहरूमाथि पनि अनुसन्धान जारी राखेको छ। 

प्रहरीको अनुसन्धानको घेरामा अखिल (क्रान्तिकारी)का ललितपुर जिल्लाका अध्यक्ष विनोद लुइँटेलको संलग्नता हुनसक्ने भएकाले थप अनुसन्धान गरिरहेको छ। अध्यक्ष लुइँटेल नेत्रविक्रम चन्द्रका ज्वाइँ समेत पर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell