PahiloPost

Jul 3, 2024 | २० असार २०८१

रसुवामा नयाँ शक्ति कांग्रेसमा प्रवेश गर्दाका रोचक दृश्य: गगनले भने 'ने क पा न काउली, न आलु', देउवाले मन पराए झाँक्री नाच

रसुवामा नयाँ शक्ति कांग्रेसमा प्रवेश गर्दाका रोचक दृश्य: गगनले भने 'ने क पा न काउली, न आलु', देउवाले मन पराए झाँक्री नाच

नेत्र तामाङ/पहिलोपोस्ट


कालिकास्थान: आज नयाँ शक्तिका रसुवाका संयोजक फुर्पुवाङ्दी तामाङ नेपाली कांग्रेसमा प्रवेश गरे। नेपाली कांग्रेस रसुवाले कालिकास्थानमा आयोजना गरेको एकता कार्यक्रममा उनी कांग्रेसमा प्रवेश गरेका हुन्। यही पार्टी प्रवेश कार्यक्रममा देखिएका केही रोचक दृश्य यस्ता छन्:

 

झन्डा बुझाएर पार्टी प्रवेश

 

रसुवा नयाँ शक्तिका संयोजक फुर्पुवाङ्दीले नयाँ शक्तिको झन्डा रसुवा कांग्रेसका सभापति पेम्बाछिरिङ तामाङलाई बुझाए र कांग्रेस प्रवेश गरेको घोषणा गरे।

कांग्रेसमा प्रवेशपछि समावेशिता कांग्रेसमा देखिएकोले नयाँ शक्ति छाडेको बताए।

 

उनले आफू कांग्रेसमा केही लिन भन्दा पनि अनुभव र बुद्धि दिन आएको स्पष्टीकरण दिए। फुर्पुवाङ्दीले भने, 'हामी कांग्रेसमा केही लिन भनेर आएको हैन। आफ्नो बल, बुद्धि र विवेक दिन आएका हौं। रसुवाको विकास कांग्रेसले गर्ने देखेर आएका हौ।' उनले आफुसहित ४ हजार कार्यकर्ता कांग्रेस आएको सुनाए।

 

कांग्रेस पस्दै गर्दा उनले पार्टी सुस्ताएको र यसलाई जगाउन आइपुगेको उल्लेख गरे। कांग्रेसका प्रदेश सभा सांसद प्रभात लामाले कांग्रेसलाई देशभर जगाउन आवश्यक भएको बताए। प्रदेश सांसद प्रेम तामाङ र आमा छोदिमो गाउँपालिकाका अध्यक्ष बुचुङ लामा पनि प्रवेश गर्ने भनिए पनि प्राविधिक कारण भन्दै कार्यक्रममा उपस्थित भएनन्।

 

ने क पा न काउली, न आलु: गगन थापा

 

कांग्रेसका युवा नेता गगन थापाले रसुवामा नयाँ शक्ति आएर कांग्रेसको तागत बढेको बताए। त्यसैगरी उनले नेकपालाई तल  काउलीको जरा र माथि आलुको पात भएको पार्टी हुने दाबी गरे।

 

भने, 'दुइटा पार्टी रातारात मिल्यो। सिद्धान्त भेटेन। अहिले बरालिएको छ।'

त्यसैगरी उनले नेकपाका एक अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले एमालेलाई काउली र माओवादीलाई मुलाको संज्ञा दिएको उल्लेख गर्दै भने, 'प्रचण्डले एमालेलाई काउली र माओवादीलाई आलु भनेको थियो। दुई एक भएपछि काउली र आलु एकै ठाउँमा फल्छ भनेको थियो। पहिलेको भन्दा राम्रो हुन्छ भनेको थियो। काउली र आलु मिलेर खाउला भनेको थियो। क्षमा गर्नुहोला। कार्यदल बनेको छ। हेर्दै जानुस, तल काउलीको जरा फलेको देख्नुहुन्छ। माथि आलुको पात फल्नेछ।'  

 

विश्वप्रकाशले भने, 'कांग्रेसको काखमा स्वागत छ'

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस निरन्तर वग्ने खोला भएको बताए। शर्माले देशलाई उज्यालो दिने पार्टी कांग्रेस नै भएको उल्लेख गर्दै नयाँ शक्तिका कार्याकर्तालाई कांग्रेसको काखमा स्वागत गरे। प्रचण्ड र बाबुरामको जंगलमा रुमल्लिएकाहरु कांग्रेसको काखमा आरामले बस्न सक्ने उनले बताएका थिए।

कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकारका प्रधानमन्त्रीसँग काम गर्ने सीप नभएको उल्लेख गर्दै गफमात्र गरेको बताए।

देउवालाई शशांकको टुच्च

यता महामन्त्री डा शशांक कोइरालाले कांग्रेस आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने तर यसका लागि सभापति देउवाले तेरोमेरो भन्न छाड्नुपर्ने बताए।

भने, 'रसुवाले तरंग ल्याइदिएको छ। यस्तै गरी अघि बढेमा आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्छ। तर, पार्टी सभापतिले तेरोमेरो भन्न छाड्नुपर्छ। गुटउपगुट अन्त्य गर्नुपर्छ। सभापतिलाई मेरो यही आग्रह छ।'

देउवाले मन पराए झाँक्री नाच

प्रमुख अतिथि रहेका कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो आक्रमणमा प्रेस परेको आरोप लगाए। 'सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको छ,' आज रसुवामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, 'प्रेस डराउन थालिसकेको छ।'

उनले वाक स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजे कांग्रेस चुप लागेर नबस्ने समेत दावी गरे। 'कुनै पनि बहानामा हामी सहँदैनौं,' देउवाले भने। कार्यक्रमको अन्त्यमा देउवाले आफूलाई झाँक्री नाच मनपरेको भन्दै प्रशंसा गरे।

 

रसुवा विकासको जिम्मा कांग्रेसको: आचार्य

पार्टी प्रवेशमा विशेष भूमिका निभाएका सांसद तथा कांग्रेस नेता मोहन आचार्यले लोकतान्त्रिक पार्टीलाई बलियो बनाउन यो अभियान चलाएको बताए।

कांग्रेसमा समावेशी र सुशासन देखेर नै पार्टी प्रवेश गरेको उल्लेख गर्दै आचार्यले भने, 'पार्टीमा काम गर्दै गर्दा त्यो पनि त्यागेर पार्टीमा आउनुभएको छ। उहाँलाई हृदयदेखि नै स्वागत गर्छु। अहिले कांग्रेस सरकारमा छैन। तपाईहरुको विश्वासलाई म तोड्न दिनेछैन।'

रसुवा सम्भावनै सम्भावना भएको जिल्ला भएको उल्लेख गर्दै उनले आफूले विकासको लागि सक्दो पहल गरेको बताए। भने, 'कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुँदा मैले भूकम्पपीडितलाई एक लाख थप्न अनुरोध गरे। सभापतिजीले त्यो निर्णय पनि गर्नुभयो। तर ने क पाको सरकारले त्यो काममा अवरोध ल्यायो।'

उनले रसुवामा एउटामात्र वडामा सडक पुग्न बाँकी रहेको दाबी गर्दै कांग्रेसले चाँडै नै लाङटाङ वडामा बाटो पुर्‍याउने प्रतिबद्धता जनाए। रसुवा विकासको जिम्मा कांग्रेसको काँधमा आएको उल्लेख गर्दै सांसद आचार्यले युवाको जोश र जाँगरलाई मर्न नदिने बताए।



ट्रेन्डिङ पोस्ट

Ncell