PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

उडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको थियो हेलिकप्टर, सगरमाथा शिखरमा अवतरण गर्न सफल कसरी भयो क्र्यास?



वसन्तराज उप्रेती

उडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको थियो हेलिकप्टर, सगरमाथा शिखरमा अवतरण गर्न सफल कसरी भयो क्र्यास?
9N-AMI यही कलसाइनको हेलिकप्टर दुर्घटना भएको हो। फाइल फोटो : एयरबस

काठमाडौं : मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर भूइँ छाडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको देखिएको छ। भिटू ट्र्याकरको रेकर्डका अनुसार एक मिनेट पनि पूरा नउडी हेलिकप्टर दुर्घटनामा परेको थियो। पाथीभरामा दुर्घटनामा परी पर्यटन मन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पासहित ७ जनाको मृत्यु भएको थियो। 

भिटू ट्र्याकरले हिजो एयर डाइनास्टीको 9N-AMI कलसाइनको यो हेलिकप्टरले डेढ घन्टाभन्दा केही बढीमात्र ले उडान गरेको देखाएको छ। ट्र्याकरले दुई स्थानमा अवतरण गरेको रेकर्ड पनि देखाएको छ। हेलिकप्टर चुहान डाँडा र पाथीभरामा अवतरण भएको हो। भिटू ट्र्याकरले हेलिकप्टरमा रहेको जिपिएस डिभाइसमार्फत् हेलिकप्टरका सबै गतिविधि इन्टरनेटबाट देखाउँछ।

बुधवार बिहान ८:३१ बजे त्रिभुवन विमानस्थलबाट हेलिकप्टर उडेको थियो। काठमाडौंदेखि १ सय ५० नटिकल माइलमा रहेको सुकेटार विमानस्थलमाथि र त्यहाँबाट १०.७ नटिकल माइलमा रहेको चुहान डाँडा पुगेको रेकर्ड भएको छ। बिहान ९:५४ बजे हेलिकप्टर अवतरण भएको देखिएको छ।

चुहान डाँडाबाट भने हेलिकप्टर ११:३० बजे उडेको देखिन्छ। त्यहाँबाट १८ नटिकल माइल उडान गरी पाथीभरा मन्दिर नजिकै अवतरण भएको देखिएको छ। बिहान ११:४९ बजे विमान अवतरण भएको देखिएको छ। ट्र्याकरले यो उडान १९ मिनेटको देखाएको छ। 

त्यसैगरी दिउँसो १२:३४ बजे हेलिकोप्टर ताप्लेजुङदेखि छ नटिकल माइल दुरीमा रहेको (पाथिभरा) क्षेत्रबाट उडेको ट्र्याकरले देखाएको छ। त्यसको एक मिनेट नबित्दै अर्थात १२:३५ मा नै दुर्घटनामा परेको भिटू ट्र्याकको रेकर्डमा देखिन्छ। 

काठमाडौंबाट उडेको हेलिकप्टर चुहान डाँडामा अवतरण हुँदा बिहान ९:५४ बजेको थियो। त्यतिखेर हल्का वर्ष भइरहेको स्थानीय दीपकराज उप्रेतीले जानकारी दिए। मन्त्री सहितको टोली त्यहाँको औपचारिक कार्यक्रममा सहभागी भएको थियो। त्यही खाना खाएपछि पाथीभरा देवीको दर्शनका लागि हेलिकप्टर उडेको थियो। 

नागरिक उड्ययन प्राधिकरण स्रोतका अनुसार त्यहाँबाट पाथीभरा उडान गर्ने क्रममा हेलिकप्टर चालक प्रभाकर केसी र ताप्लेजुङ विमानस्थलबीच सम्पर्क भएको देखिँदैन। ताप्लेजुङ विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) र पाइलट केसीबीच संवादको कुनै रेकर्ड छैन।

हेलिकप्टरको अवस्था कस्तो थियो त? दुर्घटनापछि धेरैको प्रश्न थियो। दुर्घटना हुनुमा प्राविधिक गडवडीकै कारण त होइन?

गत वर्षमात्र नेपाल भित्र्याइएको यो हेलिकप्टर सन् २०१७ मा बनेको देखिन्छ। पछिल्लो प्रविधिमा आधारित 'H125' हेलिकप्टर भएकाले प्राविधिक रुपमा यसलाई अहिलेसम्मकै उत्कृष्ट मानिन्छ। दुर्घटनामा परेको यो हेलिकप्टर AS 350B3E मोडलको हो। एयरबस कम्पनीले बनाएको यो हेलिकप्टर कम तौलको मानिन्छ। यही फेमिलीको अर्थात् हेलिकप्टरले सगरमाथा शिखरको उचाइमा अवतरण गरेर रेकर्ड कायम गरेको थियो भने, त्यही कारणले विवादमा पनि आएको थियो। सन् २००५ मे १४ मा यो उचाईमा हेलिकप्टर ल्यान्ड भएको थियो।

सगरमाथाको उचाईमा ल्यान्ड गरेको हेलिकप्टरको मोडल भने AS350B3 हो। हिजो दुर्घटनामा परेको हेलिकप्टर त्योभन्दा अपग्रेडेड (लेटेस्ट) भर्सनको मोडल हो। 

सगरमाथाको उचाइमा उडान गरेको हेलिकप्टरभन्दा उच्चस्तर मानिएको यो हेलिकप्टर हाइ अल्टिच्यूडकै कारण दुर्घटनामा परेको हुनसक्ने तर्क कमजोर देखिन्छ। किनकि जुन ठाउँबाट अन्तिम पटक हेलिकप्टर टेक अफ भएको छ त्यसको उचाई १२ हजार ४ सय ४७ फिट अर्थात् ३ हजार ८ सय मिटरमात्र छ। हेलिकप्टर जुन ठाउँमा दुर्घटना भयो त्यसको उचाई २ हजार २ सय मिटरभन्दा कम नै छ। 

मानिसहरुमा ओभर लोडका कारण दुर्घटना भएको हो कि भन्ने पनि शंका रह्यो। तर, यो हेलिकप्टरको क्षमता ६ यात्रु र एक पाइलट गरी ७ जना रहेको छ। एरिअल टुडी इन्जिन रहेको यो हेलिकप्टरले २ हजार २ सय ५० किलो तौलमा टेक अफ गर्न सक्ने क्षमता राख्छ। र, त्यो तौललाई ७ हजार १० मिटर उचाईसम्म लैजान सक्छ। अमेरिका वा अन्य मुलुकमा लागेको आगो निभाउन समेत यो हेलिकप्टरको प्रयोग हुँदै आएको देखिन्छ। यसले हेलिकप्टरको क्षमता कम थिएन भन्ने प्रस्ट पार्छ। 

हामीले हवाई क्षेत्रका स्थापित विज्ञ एवं पाइलटहरुसँग फरक फरक कुराकानी गर्दा उनीहरु अधिकांशले केही महत्वपूर्ण विषय उठान गरे। जसअनुसार -  

हेलिकप्टर उडान हुने ठाउँको वातावरणले र मौसमले सधैं प्रभाव पार्छ। हिजो अन्तिम पटक हेलिकप्टर अवतरण भएको ठाउँ पाथीभराको अल्टिट्युड १२ हजार चार सय ४७ फिट हो। यस्तो हाइ अल्टिट्युडमा अक्सिजनको मात्रा औसतभन्दा पातलो हुने गर्छ। अक्सिजनको कमीले 'हाइपेक्सिया' हुन्छ र त्यसले झुम्म बनाउने अथवा ओभर कन्फिडेन्ट्स बढ्ने जोखिम राख्छ। भिटू ट्र्याकर सिस्टमले देखाए अनुसार यही उचाइमा चालक र यात्रुहरु ४५ मिनेट बसेका छन्।

त्यस्तै जुन समय उनीहरु त्यहाँ रहे, त्यतिखेर सिमसिम पानी परेको थियो। हाइ अल्टिट्युडमा उडान गरेको हेलिकोप्टरको बडीमा 'फ्रिजिङ रेन' अर्थात् सिमसिम पानी वा फुसफुस हिउँ पर्दा आइसिङको समस्या देखापर्छ। आइसिङले उडिरहेको हेलिकप्टरको क्षमतामा ह्वात्तै कमी ल्याउने गर्छ। 

पुरानो प्रविधिमा आधारित हेलिकप्टरले पोखराबाट मुक्तिनाथ उडान गर्दासमेत ६ जना चढ्न सक्ने क्षमताको हेलिकप्टरमा पनि ५ जनामात्र राख्ने गरिएको थियो। त्यसको मूल कारण फ्रिजिङ रेन नै हुन्थ्यो। तर, अहिले नयाँ प्रविधिसँग हेलिकप्टरको क्षमता विस्तार भइसकेको छ।

नेपालको हवाइ उड्ययनमा सुरक्षाको विषय सधैं चर्चमा रहन्छ तर पालनामा भने हेलचेक्र्याइँ हुने सबैजसो दुर्घटनापछिका अनुसन्धान रिपोर्टहरुले औल्याउँदै आएको छ। सेफ्टी कल्चरलाई थ्योरिटिकल रुपमा लिने तर पालन नगर्ने परिपाटी सधैं हुने गरेको देखिन्छ। हरेक हवाई सेवा कम्पनीले आफ्नो फ्लिट अनुसारको सुरक्षा व्यवस्थापन गर्छन्। बारम्बार सुरक्षा व्यवस्थापन तालिम दिँदै पनि आएका हुन्छन्। रिस्क एसिसमेन्ट, हजार्ड आइडेन्टिफिकेसन, रिस्क रेक्टिफिकेसन जस्ता विषयमाथि तालिमहरु त्यसैका लागि हुने गरेको हो। यस्ता तालिमको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न सकिएन भने दुर्घटनाको बाटो खुला भइ नै रहन्छ। 

तर, हिजोको दुर्घटनामा मानवीय पक्ष कमजोर भएको हो भन्न सकिने ठाउँ अझै प्रस्ट देखिएको छैन। किनकि, हेलिकप्टरमा नागरिक उड्ययन हेर्ने विभागीय मन्त्री, हवाई क्षेत्रका विज्ञ कर्मचारीहरु र स्वयम् यति एयरलाइन्सका एमडी पनि थिए। हवाई सेवाको सुरक्षाको विषयमा हेलिकप्टरमा सवार भएका विज्ञहरु जति यो विषयको जानकार अरु होइनन्। त्यसैले उनीहरुले यो विषयलाई सजिलै 'इग्नोर' गरे भन्न सकिन्न।

सरकारले हाइ प्रोफाइल हेलिकप्टर दुर्घटनामाथि अनुसन्धान गर्न छानविन समिति गठन गरिसकेको छ। हवाई सुरक्षाका विज्ञ यज्ञ गौतमले त्यसको नेतृत्व लिएका छन्। दुर्घटना के कारणले भयो भन्ने पक्कै पनि छानविन समितिले बाहिर ल्याउने नै छ। दुर्घटना न्यूनिकरण गर्नका लागि समितिको प्रतिवेदन उपयोगी सावित हुन सक्यो भने पक्कै पनि मन्त्री अधिकारी, व्यवसायी शेर्पा र हवाई क्षेत्रका अरु विज्ञहरुमाथि सच्चा श्रद्धाञ्जली अर्पण भएको ठहरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell