PahiloPost

Mar 21, 2019 | ७ चैत्र २०७५

'थुक्क, म्यानरलेस पत्रकार!'


सागर बुढाथोकी

'थुक्क, म्यानरलेस पत्रकार!'

'थुक्क, म्यानरलेस पत्रकार!' 

अकस्मात कानमा ठोक्किएको आवाजले मन चसक्क पार्‍यो। आवाज आएतिर हेरेँ दुई जना भलाद्‍मी थिए। ५० वर्ष नाघिसकेका। पत्रकारको पारा देखेर उनीहरुको 'कम्पारो' तातिरहेको थियो। भुतभुताउँदै थिए, 'अहिले त कस्ता कस्ता पत्रकार, वाइह्यात।'

यो संवाद दुई दिनअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल फरेन्सिक डिपार्टमेन्ट परिसमा सुनिएको हो।

त्यहाँ ताप्लेजुङमा हेलिकप्टरमा दुर्घटनामा परेर मृत्यु भएका सातजनालाई 'पोस्टमार्टम' गर्न ल्याइएको थियो। मृतकका आफन्तहरु शव बुझ्नका लागि कुरिरहेका थिए। आफन्त गुमाएको पीडाले उनीहरुको आँखामा आँसु ओभाएको थिएन। टुक्राटुक्रा परेको शव प्लाष्टिकको झोलामा देखेपछि होश गुमेको थियो। आफन्तको अनुहार देखिन्छ कि भन्ने आशाले आएका उनीहरु सम्हालिन सकेका थिएनन्।

त्यहाँ पुगेदेखि पत्रकारको क्यामेराले उनीहरुलाई दिक्क पारिसकेको थियो। अति भएपछि भनेका थिए, 'नखिच बाबु हो नखिच! हामीलाई छुट्टै तनाव छ।'

यो आग्रह पनि भिडियो क्यामेरामा रेकर्ड भइरहेको थियो। 

त्यसको केही छिनमै डिपार्टमेन्ट अगाडि मृतकका आफन्तलाई सोधिएका प्रश्न सुनेर त्यहाँ पुगेका अधिकांशले भनिरहेका थिए, 'थुक्क पत्रकारको काम। कस्तो संवेदनाहीन।'

'हिजो हेलिकप्टर दुर्घटनामा परेर तपाईँको छोरा मर्नु'भो, कसरी थाहा पाउनु'भो?'

'हिँड्ने बेला के भनेर जानु भएको थियो?'

'बीचमा फोन आ'को थियो कि नाई?'

प्रश्नहरु यस्तैयस्तै थिए।

यता प्रश्न बर्सिरहेको थियो, उता आँखाबाट आँसु। त्यहाँ आएका मृतकका आफन्त अन्तर्वार्ता दिन बाध्य भइसकेका थिए। हृदय विदारक दृश्य/ आवाज क्यामेरामा रेकर्ड भइरहेको थियो। हेर्नेहरुलाई अति लागिसक्दा पनि प्रश्नहरु सकिएका थिएनन्। सायद, हिसाब हुँदै थियो होला यूट्युबबाट मनिटाइज हुने डलरको।

पत्रकारदेखि कत्रो डर? क्यामेरादेखि कत्रो त्रास? रुँदारुँदा होस गुमेको बेलामा पनि बोल्दिनुपर्ने। सम्हालिन नसकेको बेलामा पनि छोराले पाइलट कोर्ष कहाँबाट सकाएको थियो भन्दिनु पर्ने। अनुभवी थियो कि थिएन स्पष्टीकरण दिनुपर्ने।

शव बुझ्न आएका आफन्तलाई प्रश्नहरुले 'इन्काउन्टर' गरिरहेको थियो।

सेतै कपाल फुलेका पत्रकार युवराज घिमिरे पनि देखिएका थिए त्यहाँ। साँच्चै! नयाँ पुस्ताको पत्रकारको पत्रकारिता 'नोटिस' गरे कि गरेनन् उनले? 'म्यानरलेस पत्रकार' भनेको सुने कि सुनेनन् होला?

***
चार वर्षअघि, त्रिभुवन विमानस्थल

अफगानस्तानको काबुल बम विस्फोटमा परेर १२ जना नेपाली सेक्युरिटी गार्डको मृत्यु भएको थियो। नेपाल सरकारले विमान पठाएर १२ वटा शव र २४ नेपालीलाई ल्याउँदै थियो। बिहानदेखि त्रिभुवन विमानस्थलमा मृतकका आफन्त पुगिसकेका थिए। हामी पत्रकारहरु पनि पुगेका थियौं। म रेडियो पत्रकारिताबाट अनलाइन पत्रकारितामा भर्खरै छिरेको थिएँ।  अनि त्यति ठूलो दुर्घटनाको रिपोर्टिङ गर्न पहिलो पटक पुगेको थिएँ।

विमानस्थलमा मृतकका आफन्तको अवस्था भावविह्वल थियो। शव लिन बुढाबुढीदेखि साना नानी बोकेर त्यहाँ पुग्ने धेरै थिए। सबै रोइरहेका। छटपटी रहेका। के के बोल्दै बिलौना गरिरहेका। हृदयविदारक दृश्य थियो। तर, पत्रकार साथीहरु निर्धक्कसँग उनीहरुसँग भिडियो अन्तर्वार्ता गरिरहेका थिए। बोल्न सकिनसकी रुँदै उनीहरुले जवाफ दिइरहेका थिए।

मेरा लागि यी सबै दृश्य नयाँ थिए। म अन्य पत्रकार जता जान्थेँ, तिनीहरुकै पछि लागेर कुद्थेँ। रिपोर्टिङ गर्नु त त्यस्तै हो, अरुले गरेको कुराकानी अनौठो मानेर सुन्थेँ। 

मसँग फोटोपत्रकार साथी गगन थापा थिए। उनी टाढै बसेर पावरफूल फोटो खिच्थे। अनि मलाई सुनाउँथे, 'पत्रकारिता गर्ने आफ्नै तरिका हुन्छ। पत्रकारिता आर्ट हो। आँसु/ इमोसन देखाउने पनि कला हुन्छ। तिमी कैले यस्तो दौडधुप नगर्नु।'

म 'हस्' भनेर टाउको हल्लाउँथे। धेरै कुरा त बुझैकै थिइनँ।

त्यही बेला एउटा जिप आएर त्यहाँ रोकियो। जिपबाट सानो दूधे बालक लिएर अन्दाजी २५/२७ कि महिला  झरिन्। पत्रकारहरु क्यामेरा तेर्स्याउँदै त्यहाँ पुगे। पत्रकारहरुले घेर्नासाथ उनी त्यहीँ बेहोस भइन्। त्यो सानो बालक चिच्याउँदै रोइरह्यो। तै पनि, क्यामेरा त्यहाँबाट हटेन। पछि सुरक्षाकर्मीले पानी छम्किँदै ती महिलालाई साइड लगाए।

धन्न ती महिला बेहोस भइहालिन् र साथीहरुको यस्ता प्रश्न अधुरै रह्यो, 'तपाईँको श्रीमानले अन्तिम पटक कहिले फोन गर्नु भए'थ्यो? उहाँको अन्तिम बोली के थियो?'

त्यस दिन यस्ता दृश्य धेरै देखिए। तर, एउटा दृश्य अलि फरक थियो।

एयरपोर्टमा शव ल्याण्ड भएकै थिएन। एक जनाको शव बुझ्न दुई जना महिला आएको खबर आयो। पत्रकारहरु खोज्दै पुगे। नभन्दै हो रहेछ।

त्यहाँ दुई महिलाको भनाभन भइरहेको थियो। शव कस्ले बुझ्ने भन्ने विषयमा विवाद। 

एउटा महिला भन्दै थिइन्, 'मेरो श्रीमान हो तँ किन आइस्? तैले मेरो श्रीमानलाई छुन पनि पाउँदिनस्?'

अर्की महिला भन्ने, 'तलाईँ छोडिसकेको उसले। हेरौँ कसरी छुन दिन्न रै'छेस्।'

ती महिलाको साथमा पाँच सात वर्षको नानी पनि थियो। 

अनि सुरु भयो खोजी पत्रकारिता। दुईवटा बिहेको अन्तरकथादेखि अफगानिस्तान जानुको कहरसम्म भिडियो रेकर्ड गरे साथीहरुले। अनि अन्तिममा न्यायाधीश हुँदै भने, 'मरेको मान्छेलाई भन्नु त नहुने हो, तर ठूलो गल्ती गर्नुभएछ तपाईँहरुको श्रीमानले। एउटा हुँदाहुँदै कान्छी ल्याएछन्, फेरि बच्चा नि रै'छ दुवैतिर। मरेर जाँदा नि दुई परिवार बिजोग पारे।'

भन्न त नहुने भन्दै सबथोक भनेर हिँडे साथीहरु। शव कसले बुझ्यो साथीहरुले फलोअप पनि गरे होलान्। तर, अनलाइन पत्रकारितामा नयाँ आएको मलाई त्यो खाले पत्रकारिता देख्दा अचम्म लागिरहेको थियो। रोएको ठाउँमा गएर प्रश्न सोध्ने हिम्मत कसरी आउँछ होला जस्तो लाग्थ्यो। त्यो दिन देखेका दृश्यहरु महिनौँसम्म मथिंगलमा घुमिरह्यो।

***
१ वर्षअघि, काठमाडौँ मेडिकल कलेज सिनामंगल

युएस बंगला एयरको विमान दुर्घटनामा परेका केही घाइतेहरुलाई सिनामंगल ल्याइएको थियो। अन्यलाई ग्राण्डी, शिक्षण, नर्भिक लगायतका अस्पताल लगिएको थियो।

विमान चढेका सबै जनाको मृत्यु भइनसकेकाले आफन्तहरु थोरै आशा बोकेर अत्तालिँदै अस्पताल पुगेका थिए। अस्पतालमा भिडभाड धेरै भएकाले उनीहरुलाई आफन्त खोज्न गाह्रो भएको थियो। अस्पतालमा अवस्था भयावह थियो।

उनीहरु त्यहाँ भएका मानिसहरुलाई आफन्तको नाम भन्दै खोजिदिन आग्रह गर्थे।

एकजना महिलाले मलाई रुँदै भनिन्, 'टिचिङ  नर्भिक, ग्राण्डी सबै ठाउँ पुगेर आइसकेँ, मेरो छोरी कहीँ भेटिनँ। खोजिदिनुपर्‍यो।'

उनले छोरीको नाम भनिन्।

पत्रकार र सर्वसाधरणको एकदम भिड थियो। ती महिलालाई डोहोर्‍याउँदै भित्र लगेँ। एकजना पत्रकार साथी आएर मेरो बाटो छेके। तपाईँ उहाँको छोरा हो? दिदी, भेटियो त?'

मैले नभेटिएको संकेत गरेँ। उनले ती महिलालाई सोधे, 'तपाईको श्रीमान पनि छोरी खोज्दै आउनुभएको रहेछ। भेट भयो?'

ती महिला टक्क रोकिएर जंगिइन्, 'मेरो छोरी खोज्न म आ'को छु। अरु को आउँछ, को जान्छ मलाई के मतलब?'

'मैले जन्माएँ। हुर्काएँ। मैले पढाएँ। अहिले मरी कि बाँची भनेर खोज्न आउने मान्छेको कुरा गर्ने तपाईँ को?' ती महिला जंगिएपछि पत्रकार मित्र साइड लागे।

पछि बुझ्दा थाहा भयो, ती महिलाको सम्बन्ध बिच्छेद भएको १६ वर्ष नाघिसकेको रहेछ। अनि ती पत्रकार मित्रलाई उनले आफ्नो छोरीको नाम दिँदै खोजिदिन केही अघिमात्रै आग्रह गरेकी रहिछिन्।

***

युएस बंगलाको दुर्घटनामा परेर बाँच्न सफल एकजना घाइते ग्राण्डी अस्पतालमा उपचाररत थिए। उनी मेरा मिल्ने साथीको आफन्त पर्दा रहेछन्। साथी भेट्न जाँदै थियो, 'म पनि जान्छु' भनेर अनुरोध गरेँ। आफन्त बनेर जान्छु र स्टोरी पनि गर्छु भन्ने मनसाय थियो मेरो। म साथीसँग गएँ। किनकि, अस्पतालसँग भेट गराइदिन आग्रह गर्दा भेट गर्न दिइएको थिएन।

साथीले पत्रकार भनेर परिचय गरायो। उनले सिधै भने, 'माइण्ड नगर्नुस् मलाई पत्रकारदेखि 'नफरत' छ। मैले संसारमा पत्रकारलाई जति घृणा कसैलाई गर्दिनँ।'

मलाई के बोलुम के बोलुम भयो। सोधेँ, 'किन दाइ?'

'मान्छे मर्न लागिसक्यो। स्ट्रेचरमा हालेर अस्पताल छिराउँदा फोटो खिच्ने, प्रश्न गर्ने कि सहयोग गर्ने?,' उनी त्यतिमै रोकिएनन्, 'म दुर्घटनामा परेर मेरो श्रीमती र छोरा रुँदै सिनामंगलको अस्पताल सोध्दै खोज्दै पुगेछन्। सहयोग माग्दा पत्रकारले अन्तर्वार्ता लिन थालेछन्। मेरो छोराले झण्डै हेल्मेटले हानेनछन्।'

'तरिका हुन्छ नि यार!' यति भन्दै चुप भए उनी।

मदनकृष्ण श्रेष्ठकी पत्नीको शव आर्यघाटमा हुँदा क्यामराले घेर्नेहरु। फोटो : मेरो फिल्म

दुई महिनाअघि कलाकर मदनकृष्ण श्रेष्ठको अन्तर्वार्ता लिन उनको घरमा पुगेको थिएँ। धेरै पटक 'रिजेक्ट' गर्दागर्दै बल्ल समय दिएका थिए उनले। भेट्नासाथ निराश सुनिए उनी। भने, 'आजकाल अन्तर्वार्ता दिन मन लाग्दैन। अस्ति मेरी श्रीमती बित्दा आर्यघाटमा देख्नुभएन पत्रकारको चर्तिकला। पहिलेका पत्रकार कस्ता थिए, अहिलेका कस्ता भए। मानवता नै छैन। दिक्क लाग्छ।

उनको आशय थियो— मानिसका दु:ख सुख पीडाहरु निजी हुन्छन्।  दु:खद् घडीमा क्यामेरा तेर्स्याएर प्रश्न सोध्दा मन भारी हुन्छ। बोल्न आउँदैन, झन् चोट बढ्छ।

***
कहिलेकाँही साथीभाई आफन्तसँग जमघट हुन्छ। सुख दु:खका कुरा हुन्छन्। कामको कुरा हुन्छ। भविष्यका योजना/सपनाको कुरा हुन्छ। उनीहरु नहिच्किचाई भनिदिन्छन्, 'पत्रकार जस्तो सेन्सलेस को हुन्छ र यार? अरु केही जागिर नै नपाएको जस्तो के पत्रकार बनिरहेको होला।'

आफ्नैहरुले 'म्यानरलेस पत्रकार' भन्दा चित्त दुख्छ।  ङिच्च दाँत देखाएर हाँस्न बाहेक केही जवाफ हुन्न। किनकि, उनीहरुले त्यस्तै दुर्घटना र दुखद् घडीमा मिडियाहरु बढी हेर्छन्। अनि राम्रा काम बिर्सेर आँसुको व्यापार गर्ने 'सेन्सलेस' भन्छन्। 

रिपोर्टिङमा आउँदा यस्ता दृश्य देख्छु। ठीकै त भने साथीभाइले जस्तो लाग्छ। मानवताहीन र संवेदनाहीनको आरोप नाजायज लाग्दैन। म हाँस्दै स्वीकारी दिन्छु। 

यी आरोपसँगसँगै 'ल राम्रो काम गरिस्' पनि त भनिरहेकै हुन्छन्। तर, मान्छेको दिल र दिमागमा अक्सर नकरात्मक कुराकै याद रहिरहने रहेछ। जसरी साथीहरुले अन्य रिपोर्टिङ भुलेर आँसुको व्यापार गरेको याद गर्छन्, त्यसरी म पनि सेन्सलेस पत्रकार भनेको याद गर्ने गर्दोरहेछु।



'थुक्क, म्यानरलेस पत्रकार!' को लागी ८ प्रतिक्रिया(हरु)

Nepalbharatneews.com [ 2019-03-04 19:13:44 ]
सान्दर्भिक छ ! कहिले काहीँ त पत्रकार भन्न पनि लाज लागेर आउँछ ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


राजु [ 2019-03-04 07:03:31 ]
स्वघोषित पत्रकारलाई खासै मान्यता नदिने हो भने यस्तो प्रवृतिको अन्त्य हुन्छ । समाजले पनि शान्ति पाउछ, पाठकले पनि सत्य समाचार पढ्न पाउँछन् ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Dhungana Shiba [ 2019-03-04 01:09:54 ]
उनी अर्थात् युवराज घिमिरेकाे अनलाइनकै हाल उस्ताे देखियाे ! अरूका कुरा केे सुनेे हाेलान् र !

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Bishu basnet [ 2019-03-03 12:09:12 ]
थुक्क म्यानरलेस पत्रकार साेद्धधा अलि बिचार पुराऐर साेध ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Om sramik [ 2019-03-03 10:54:56 ]
अहिलेका छ्याप्च्याप्ती खुलेका अनलाइन मिडिया र यु टुबर हरुका कारण पनि एस्तो भएको हो !! पत्रकारिता अहिले समाजसेवा होइन व्यापार बनेको छ !! उनीहरुलाई के थाहा छ भने बिक्छ तेहि बेच्नु पर्छ !! र सबैभन्दा बढी बिक्ने भनेको मानबिय संबेदा, चीत्कार र आँसु नै हो !! र हामी पाठकहरु पनि तेस्तै समाचार र लेख पढ्न रुचाँउछौं !

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


amrit [ 2019-03-03 07:13:01 ]
'थुक्क, म्यानरलेस पत्रकार!'

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


ङिमा पाख्रिन [ 2019-03-03 01:53:50 ]
लेख राम्रो छ । पत्रकारहरुले ब्यवसायिक आचारसंहिता पालन गरेको भए यो लेखको जन्म हुने थिएन ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


RS [ 2019-03-02 18:52:05 ]
पहिलो पोस्टको सरहानीय काम । आफ्नै पेशाको गलत प्रवृतिको आत्मआलोचना गर्न हिम्मत गर्नु भएकोमा ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट