PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विप्लव आपराधिक समूह भएको सरकारको निश्कर्ष, गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको परराष्ट्र मन्त्रीद्वारा पुष्टि



पहिलोपोस्ट

विप्लव आपराधिक समूह भएको सरकारको निश्कर्ष, गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको परराष्ट्र मन्त्रीद्वारा पुष्टि

काठमाडौँ : सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधि आपराधिक भएको निश्कर्ष निकाल्दै नियन्त्रण गर्ने निर्णय गरेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले पुष्टि गरेका छन्। 

सरकारी समाचार एजेन्सी राससले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई उद्‍धृत गर्दै लेखेको छ, “उहाँहरु (विप्लव नेतृत्वको पार्टी) ले राजनीतिक चरित्र गुमाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्नु राज्यको कर्तव्य हो। सोहीअनुसार सरकारले त्यस्ता गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको हो।”

सरकारले आह्वान गर्दा पनि सो समूह वार्तामा नआएको र विकासनिर्माणमा अवरोध पुर्‍याउनाका साथै विस्फोटन गराएकाले त्यसको गतिविधि नियन्त्रण गर्ने अवस्था आएको राससले जनाएको छ। 

'जहाँ भेटियो त्यहीँ समात्छौँ : प्रहरी

नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले पहिलोपोस्टसँग कुरा गर्दै सरकारको आधिकारिक पत्र आइसकेपछि पहिले जस्तो खुला रुपमा कार्यक्रम गर्न नदिने बताए।

उनले भने, 'प्रतिबन्ध लगाएको भन्ने सुनियो। यसो हो भने अब यो राजनीतिक पार्टी रहेन। यसका कार्यकर्ताहरुलाई जहाँ भेटियो त्यहीँ पक्राउ गर्छौँ।' 

मन्त्रिपरिषद्का निर्णयहरु सरकारका प्रवक्ताले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने गरिएका कारण निर्णय आधिकारिक रुपमा सार्वजनिक भएको छैन।

मन्त्रिपरिषद् बैठक बस्नुअघि चन्दा तथा आतंक बढाउँदै लगेको भन्दै सुरक्षाको माग गर्दै बालुवाटार पुगेका वैदेशिक रोजगार व्यावसायी संघको टोलीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘कतिपयले वार्ता गर्नुपर्‍यो भन्छन् तर के का लागि वार्ता गर्ने? उनीहरुले गरेका क्रियाकलाप राजनीतिक हुन्? बम पड्काउने, आतंकित पार्ने ,पैसा असुल्ने कुरा राजनीति हुनै सक्दैन। जहाँजहाँ धेरै पैसा छ भन्ने लाग्छ त्यही बम हान्नेहरुसँग के को वार्ता?’

फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट भएको थियो। यसको जिम्मा विप्लवको युवा समूहले लिएको थियो। त्यसैगरी गत फागुन १० गते शुक्रबार ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहिर भएको विस्फोटमा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। यसको जिम्मा पनि विप्लव समूहले लिइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell