PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

विप्लवका कार्यकर्ताद्वारा राजधानी र प्रमको गृह जिल्लासहित आठ जिल्लामा मसाल जुलुससहित प्रदर्शन



पहिलोपोस्ट

विप्लवका कार्यकर्ताद्वारा राजधानी र प्रमको गृह जिल्लासहित आठ जिल्लामा मसाल जुलुससहित प्रदर्शन
विप्लवको फाइल फोटो

काठमाडौँ : सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिलाई आपराधिक ठहर गर्दै गतिविधिमाथि नियन्त्रण गर्ने निर्णय गरेको भोलिपल्ट राजधानीसहित आठ जिल्लामा कार्यकर्ताहरुले मसाल जुलुस प्रदर्शन गरेका छन्। 

मंगलबारको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय आधिकारिक रुपमा सार्वजनिक भइसकेको छैन। 

सरकारको निर्णयअघि नै विप्लव समूहले आफ्ना नेता तथा कार्यकर्ताहरुको रिहाइ माग गर्दै गरेको पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार आज विभिन्न जिल्लामा मसाल जुलुस निकालेका हुन्। 

विभिन्न आठ जिल्लामा मसाल जुलुस प्रदर्शन भएको रिपोर्ट गृह मन्त्रालयमा पुगेको छ। मसाल जुलुस प्रदर्शनमा बढीमा २० जना मात्रै सहभागी भएको रिपोर्ट पुगेको छ। 

राजधानीको गोंगबुमा जनसम्पर्क मञ्च केन्द्रीय समन्वय समितिको आयोजनामा १२/१५ जनाको समूहले मसाल जुलुस निकालेका थिए। 

त्यसैगरी प्रधानमन्त्रीको गृह जिल्ला झापाको कन्काइ नगरपालिका तथा दमक नगर कमिटीले करिब ८/१० जनाको छुट्टाछुट्टै समूहले,  झापाकै भद्रपुर नगरपालिका तथा सुरुङ्गामा करिब १०/१२ जनाको छुट्टाछुट्टै समुहले मसाल जुलुस निकाले। 

यस्तै   नवलपुरको गैडाकोटमा करिब १०/१५ जनाको समूहले, डोटी जिल्लाको इलाका न.५ मा करिब १०/१२ जनाको समूहले प्रदर्शन गरे। 

रूपन्देहीको बुटवलमा करिब १०/१२ जनाको समूहले मसाल जुलुस प्रदर्शन गरे भने रामेछापमा पनि करिब १०/१२ जनाको समूहले प्रदर्शन गरेको रिपोर्ट गृह मन्त्रालयमा पुगेको छ।

त्यसैगरी रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ३ मा करिब १५/२० जनाको समूहले र सिन्धुलीको हरिहरपुरगढि गाँउपालिका, कोशी गाउँपालिका र गोलन्जर गाउँपालिकामा करिब ६/७ जनाको समूहले मसाल जुलुस प्रदर्शन गरेको रिपोर्ट पनि गृहमा पुगेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell