एक नेपालीसहित १५७ जनाको मृत्यु हुने गरी इथियोपियन एयरलाइन्सको विमान यसै साता इथियोपियामा दुर्घटना भएपछि चीनले सुरु गरेको बोइङ ७३७ म्याक्सले अन्ततः अमेरिकालाई पनि छोएको छ।
विश्वका लगभग सबैजस्तो देशहरुले बोइङको यो मोडलको विमानलाई आफ्नो आकाशमा उड्न नदिने गरी प्रतिबन्ध लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बोइङ ७३७ म्याक्स ८ र ९ मोडलका विमान ग्राउन्डेड गर्ने आदेशमा हस्ताक्षर गरेको बताए।
— Donald J. Trump (@realDonaldTrump) March 13, 2019
योसँगै कुनै प्राविधिक खराबी नभएको दावी गर्दै आएको अमेरिकी उड्डयन नियामक निकाय एफएए पनि बाध्य भई ग्राउन्डेडको आदेश दिन बाध्य भयो।
एफएएले विज्ञप्तिमा भेटिएका नयाँ प्रमाणका आधारमा यस्तो निर्णय लिइएको बताएको छ।
#FAA statement on the temporary grounding of @Boeing 737 MAX aircraft operated by U.S. airlines or in a U.S. territory. pic.twitter.com/tCxSakbnbH
— The FAA (@FAANews) March 13, 2019
अमेरिकी विमान उत्पादक कम्पनी बोइङको यो मोडलको दुई वटा विमान पाँच महिनाभन्दा कम समयमा दुर्घटना भएपछि सबैभन्दा पहिला चीनले ग्राउन्डेड गर्ने आदेश दिएको थियो। योसँगै अरु देशहरुले पनि आफ्नो एयरस्पेसमा यो विमान उड्न नदिने घोषणा गर्दै गयो।
ट्रम्पले यो घोषणा गर्दैगर्दा अमेरिकी आकाशमा ३० वटा यो मोडलका विमान उडिरहेका थिए।
यसअघि डेमोक्रेटिक पार्टीबाट आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवार मानिएका एलिजावेथ वारेनले एफएएले अरु राष्ट्रले बोइङमा लगाएको प्रतिबन्धलाई आत्मसात गर्दै अमेरिकी आकाशबाट विवादित मोडेलको विमान हटाउनुपर्ने तर्क गरेकी थिइन्।
रिपब्लिकन सिनेटरहरुले समेत एफएएले यात्रुहरुको सुरक्षालाई ध्यान दिँदै दुर्घटनाको कारण पत्ता नलागेसम्म म्याक्स ७३७ विमान 'ग्राउन्डेड' गर्न एफएएसँग माग गरेका थिए।
भारतले पनि भारतीय समय अनुसार बुधबार दिउँसो ४ बजे सम्म सबै म्याक्स बोइङ विमान ग्राउन्डेड गराएको थियो। भारतको स्पाइस जेटसँग सो मोडेलका १२ विमान रहेको छ भने जेट एयरसँग ५ विमान रहेको छ।
नेपालको हवाई उडानको नियामक संस्था नेपाल उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने यो मोडलको जहाज कुनै पनि नेपाली वायु सेवा कम्पनीले सञ्चालनमा नल्याएको हुनाले यसबारे आफूहरुले केही नसोचेका बताएका थिए।
नेपालमा उडान गर्ने ३० विदेशी एयरलाइन्स मध्ये चाइना सदर्न एयरलाइन्स, मालिन्दो एयर, जेट एयरवेज, कतार एयरवेज, टर्किस एयरलाइन्स, सिल्क एयर र थाइ लायन एयरसित यो मोडलको विमान छ।
यी मध्ये सिल्क एयरले मात्रै यो मोडलको विमान नेपाली आकाशमा उडाउँथ्यो। सिल्कले मंगलबार यो मोडलका सबै विमान ग्राउन्डेड गरिसकेको छ।
नेपालका दुवै छिमेकी देश भारत र चीनले यो मोडलका विमान आफ्नो एयरस्पेसमा प्रतिबन्ध लगाएपछि नेपालको आकाश पनि यो विमान प्रवेश गर्न नसक्ने भइसकेको थियो।