PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ज्ञानेन्द्रको अगाडि जानकी मन्दिरमा नाराबाजी, रामनाम जप हुने स्थानमा लाग्यो नारा 'देश टुक्राउन पाइँदैन'

ज्ञानेन्द्रको अगाडि जानकी मन्दिरमा नाराबाजी, रामनाम जप हुने स्थानमा लाग्यो नारा 'देश टुक्राउन पाइँदैन'

पहिलोपोस्ट /पहिलोपोस्ट


  • वीपी साह/प्रवीण रानाभाट

जनकपुरधाम : मधेश यात्रामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले शुक्रबार जनकपुरधामको जानकी मन्दिरमा पूजापाठ गरेका छन्।

अपराह्न करिब पाँच बजे जानकी मन्दिर पुगेका पूर्वराजा शाहलाई हेर्न राप्रपाका कार्यकर्तासहित स्थानीय बासिन्दा पनि उपस्थित थिए।

धनुषाको पूर्वी क्षेत्रबाट पाँचवटा बसमा राप्रपाका कार्यकर्ताहरु जनकपुरधाम पुगेका थिए। र, जानकी मन्दिरमा पूर्वराजा आउने प्रचारप्रसार भएपछि सर्वसाधारणहरु पनि पूर्वराजालाई हेर्न पुगेका थिए।

जानकी मन्दिरमा पूजा गरी मन्दिरको परिक्रमा गर्ने क्रममा राप्रपाका कार्यकर्ताहरुले मन्दिर परिसरभित्रै नाराबाजी गरेका थिए।

‘देश टुक्राउन पाइँदैन, राजा आऊ देश बचाऊ' जस्ता नारा मन्दिरभित्र कार्यकर्ताहरुले लगाएपछि राजाकै टोलीमा सहभागीहरुले नाराबाजी रोक्न लगाएका थिए। वर्षौदेखि निरन्तर रामनाम जप भइरहेको स्थानमा यस्तो नाराबाजी भएको थियो।

उक्त नाराबाजी रोकिएपछि पूर्वराजाले युवायुवतीसँग सेल्फी लिएका थिए।

मन्दिर परिसरमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिन पूर्वराजाले इन्कार गरे।

तर, जनताले जे चाहन्छ त्यही हुन्छ भन्ने कुरा दोहोर्‍याए। पत्रकारहरुले प्रश्न गर्ने बेलामा मधेश शब्दको प्रयोग गर्दा पूर्वराजा शाहले आफूले यसलाई तराई भन्ने गरेको प्रतिक्रिया दिए। मन्दिरभित्र राजनीतिक कुरा गर्न नहुने भन्दै उनी पन्छिए।

मधेश यात्राको आज दोस्रो दिन उनले जनकपुरधामको जानकी मन्दिरको दर्शन गरेका छन्। पहिलो दिन सर्लाहीको दुर्गा मन्दिर दर्शन गरेका उनी शनिबार उदयपुरमा विभिन्न मन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell